वक्तव्य आउँदा गणतन्त्रलाई खतरा !

वक्तव्य आउँदा गणतन्त्रलाई खतरा !


gyan

मुलुकको राष्ट्रियता र राष्ट्रिय एकताप्रति संवेदनशील हुँदै पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले एउटा विज्ञप्ति जारी गर्नुभएपछि उच्च राजनीतिक तहमा अनपेक्षित कम्पन पैदा भएको छ । गत साता निर्मलनिवासबाट विज्ञप्ति जारी हुनेवित्तिकै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र र सङ्घीयता सङ्कटमा परेको भन्दै कोकोहोलो मच्चाउन थाल्नुभएको छ भने मन्त्रिमण्डलको बैठकमा राजदरबार हत्याकाण्डको छानबिन गर्ने कुरा उठाएर निर्मलनिवासलाई तर्साउने प्रयास भएको छ । पूर्व श्री ५ को वक्तव्यमा त्यस्तो के छ, जसले गणतन्त्र सङ्कटमा पार्न सक्छ भन्ने कुरा आमजनताको जिज्ञासाको विषय बनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड््ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनिरहेको छ ।’

‘निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरू किमार्थ बलिया हुन सक्दैनन् । इतिहास कलङ्कित गर्दै निश्चित, निहित स्वार्थ पूरा गर्न गरिएको कार्यहरू कदापि प्रशंसित हुन सक्दैनन् । माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन,’ वक्तव्यमा भनिएको छ ।

‘नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी नै हुन् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास एवम् त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मूल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्तित्व र प्रगतिसँग जोडिएका यावत् विषय नै लौकिक सत्ता हो । दुर्भाग्यवश आजको सन्दर्भमा वाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरू हाबी गराएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ,’ भन्दै विज्ञप्तिमा उहाँले अगाडि भन्नुभएको छ, ‘अझै पनि जनताका आस्था ढलेका छैनन् । नेपाली मन–मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखर रूपले जाग्नैपरेको छ र लाग्नैपरेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनुपरेको छ भने हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने सङ्कल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौँ । समय भड्किसकेपछि पश्चात्तापले कुनै अर्थ राख्दैन ।’

केवल राष्ट्र, राष्ट्रिय एकता र देशको भविष्यप्रति चिन्ता प्रकट गरिएको यस्तो विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्रनिधिलगायतले कोकोहोलो मच्चाउनुपर्ने कारण के थियो भन्नेचाहिँ बुझ्न सकिएको छैन । यो विज्ञप्ति प्रकरणमा सत्तापक्षको व्यवहार र प्रतिक्रियाले पूर्व श्री ५ प्रति सहानुभूति बढाएको महसुस भने गरिएको छ ।