राष्ट्रपतिको कुर्सीमा सदस्यसचिव !

राष्ट्रपतिको कुर्सीमा सदस्यसचिव !


jiban-ram

ठूलो जिम्मेवारीमा रहेका मान्छेले बालकको जस्तो गैरजिम्मेवार क्रियाकलाप गरे भने देख्नेहरूले कस्तो महसुस गर्लान् ? खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले साताँै राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा दर्शाएको व्यवहारले त्यहाँ उपस्थित सबैलाई स्तब्ध र लज्जित तुल्याएको छ । राष्ट्रपतिका लागि सजाएर सम्मानजनक ढङ्गले राखिएको सोफा कब्जा गरी केशव विष्ट राष्ट्रपतिकै हाउभावमा प्रस्तुत भएपछि त्यहाँ उपस्थित मानिसले लज्जाको अनुभूति गरेका हुन् ।

गत ८ गते विराटनगरको सहिद मैदानमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन एक भव्य समारोहबीच राष्ट्रपति विद्या भण्डारीबाट भएको थियो । समारोहमा उद्घाटनका साथै मन्तव्य प्रकट गर्नुहुने राष्ट्रपति भण्डारी समारोहस्थलबाट बाहिरिन पाउँदा–नपाउँदै सदस्यसचिव विष्ट अचानक राष्ट्रपति बस्नुभएको सोफामा बस्न पुगेका थिए । सोफामा दुईतिर हात राखेर जुन पोजमा उनी बसे त्यसले राष्ट्रपतिको अपमान मात्र गरिरहेको थिएन, विष्टको अभद्र एवम् केटाकेटी व्यवहार पनि सार्वजनिक हुन पुगेको थियो । उनले राष्ट्राध्यक्षको पोजमा आफूलाई राखेपछि केही युवतीलाई आफ्नोवरिपरि झुम्मिन लगाए र तस्बिर खिचाए । उनले खिचाएकामध्ये अलिक मर्यादित तस्बिर यहाँ प्रकाशित गरिएको छ ।

सदस्यसचिव विष्टले त्यसरी राष्ट्रप्रमुखले प्रयोग गरेको सोफामा बसेर फोटो खिचाउन थालेपछि त्यहाँ उपस्थितहरूले ०६५ जेठ २९ को एक घटना स्मरण गरेका थिए । ०६५ को जेठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा भइसकेपछि तात्कालिक राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबार छोडेर बाहिरिँदै थिए र छोड्नुअघि दरबारको एउटा हलमा उनले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलन सकिनेबित्तिकै रिपोर्टिङका लागि त्यहाँ पुगेका केही उछृङ्खल व्यक्ति तात्कालिक राजाले प्रयोग गरेको कुर्सीमा बसेर फोटो खिचाउन थाले । ‘पूर्व’ भएका राष्ट्राध्यक्षले प्रयोग गरेको कुर्सी त्यसरी केही व्यक्तिले कब्जा गरी फोटो खिचाएको दृश्य टेलिभिजनमा देखिँदा त्यसलाई कसैले पनि उचित मानेका थिएनन् र त्यसको व्यापक आलोचना भएको थियो । तर, केशव विष्टले त ‘पूर्व’ होइन वर्तमान राष्ट्राध्यक्षकै कुर्सी कब्जा गरेर फोटो खिचाए । यस घटनाले सदस्यसचिव विष्टको केटाकेटीपन, अपरिपक्वता र अराजक व्यवहारको खुलासा गरेको ठानिएको छ ।