तराई झर्दै एमाले

तराई झर्दै एमाले


cpn-uml-party-office

मध्यपूर्वी तराईका कतिपय जिल्लामा आयोजित भेलामा स्थानीय बासिन्दाको उपस्थिति र तिनले लिएको अभिरुचिबाट नेकपा एमालेका नेताहरू उत्साहित भएका छन् । संविधान संशोधन प्रस्तावका विरुद्ध उभिँदा काठमाडौं उपत्यका र सम्पूर्ण पहाडी तथा हिमाली जिल्लाको मन जितेको ठान्ने एमाले अब विशेष अभियानका साथ तराई पस्ने योजना बनाउँदै छ ।

गत साता सिरहाको लाहान र त्यसअघि उदयपुरको कटारीमा सम्पन्न कार्यकर्ता भेलामा भएको सहभागितालाई एमालेले उच्च मूल्याङ्कन गरेको छ । तराई अभियान सुरु गर्नका लागि एमालेले आफूबाट मधेसको उत्थान र विकासका लागि भएका कामहरूको विवरण सङ्ग्रह गरी प्रचार सामग्री तयार गरेको छ । अविश्वासको प्रस्ताव आइसकेपछि संसद्मा केपी शर्मा ओलीले दिनुभएको मन्तव्यको पूर्ण पाठसमेत समावेश गरी तयार पारिएको प्रचार सामग्रीमा मधेस–तराईका हरेक सदरमुकामहरूका लागि रु. पचास करोडका दरले बजेट विनियोजन गरेको, विपन्नहरूलाई बीस हजार घर बनाइदिने योजना ल्याएको, पथलैयादेखि इटहरीसम्मको सडकलाई चार लेनको बनाउन बजेट छुट्याएको, विभिन्न जिल्लामा उत्तर–दक्षिण सडक निर्माण र कमला डाइभर्सन परियोजनाका साथ रेल वे निर्माण निम्ति अग्रसरता लिएर एमालेले मधेसको विकासमा विशेष योगदान पु¥याएकोजस्ता कुराहरू सविस्तार उल्लेख गरेको बुझिएको छ ।

त्यस्तै, निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलका लागि एक अर्ब पचास करोड बजेट विनियोजन गर्नु र प्रधानमन्त्री कृषि कोषअन्तर्गत पाँच अर्ब ७५ करोड रुपैयाँ छुट्याइनुलाई पनि एमालेले तराईको विकासप्रतिको आफ्नो प्रतिबद्धताका रूपमा उल्लेख गरेको छ । निकट भविष्यमा सुरु गरिने यस अभियानले तराईमा एमालेको पक्षमा लहर उत्पन्न हुने विश्वास उक्त पार्टीका नेताहरूले गरेका छन् । आगामी केही साताभित्रै एमालेले प्रचार सामग्रीसहित तराई अभियान सुरु गर्ने बुझिएको छ ।