नजिकिँदै देउवा र ओली : प्रचण्ड सशङ्कित

नजिकिँदै देउवा र ओली : प्रचण्ड सशङ्कित


deuwa-oli-prachanda

नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवा तथा काङ्गे्रस नेतृ एवम् सांसद डा. आरजु राणा देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज दिएर परामर्श गर्नुभएको छ । गत सोमबार ओलीको बालकोटस्थित निवासमा दिइएको भोजसहितको संवाद राजनीतिक दृष्टिले अर्थपूर्ण रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई हरतरहले असफल प्रमाणित गर्न सक्रिय ओली र प्रचण्डपछि प्रधानमन्त्री बन्ने प्रतीक्षामा रहनुभएका काङ्गे्रस सभापति देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण मान्नुपर्ने विभिन्न कारण रहेको विशेषकहरूको भनाइ छ ।

रात्रिभोजका अवसरमा ‘संविधान संशोधनका विषयमा छलफल हुन दिनु उचित हुने’ विचार सभापति देउवाले प्रकट गर्नुहुँदा अध्यक्ष ओलीले संशोधन प्रस्ताव वास्तवमै राष्ट्रघाती र असंवैधानिक भएकोले फिर्ता लिनुको विकल्प नरहेको धारणा दोहो¥याउनुभएको थियो । जुन विषयमा छलफल गर्नुको कुनै अर्थ छैन त्यस विषयमा बहस गर्नु व्यर्थ हुन्छ भन्ने जवाफ ओलीले दिनुभएपछि देउवाले ‘मधेसी मोर्चालाई कसरी मनाउने त’ भनी जिज्ञाशा प्रकट गर्नुभएको थियो । चुनावको मिति घोषणा गरौँ, त्यसपछि सबै ठीक हुँदै जान्छ भन्ने जवाफ ओलीले दिनुभएको र त्यसमा देउवाले सहमति जनाउनुभएको बताइन्छ ।

सम्बद्ध सूत्रले जनाएअनुसार सो रात्रिभोजमा प्रचण्ड नेतृत्वलाई विस्थापित गर्नुपर्ने धारणा ओलीले प्रकट गर्नुभएको थियो । ‘प्रचण्डले सत्ता नछोड्ने र तपार्इंलाई आगामी चैतपछि सत्ता हस्तान्तरण गर्ने कुरामा मलाई विश्वास छैन भन्दै ओलीले काङ्गे्रस–एमाले मिलेर सरकार बनाउन देउवासमक्ष प्रस्ताव राख्नुभएको समाचार सूत्रको दाबी छ । ओलीले ‘आफू प्रचण्डलाई प्रधानमन्त्री बन्न दिने पक्षमा नरहेको र पाँच महिनाअघि नै देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखिएको स्मरण गराउँदै अहिले पनि प्रचण्डलाई हटाएर तपाईं (देउवा) लाई प्रधानमन्त्रीमा समर्थन गर्न तयार रहेको बताउनुभएको थियो । उहाँहरूबीच प्रचण्डलाई हटाउने र नयाँ सरकार गठनबारे छलफल भए पनि त्यस विषयमा ठोस निर्णय नभएको बताइन्छ । तर, यस विषयमा छलफल जारी राख्ने सहमति भने उहाँहरूबीच भएको समाचार सूत्रको भनाइ छ । रात्रिभोजमा लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा पनि चर्चा भएको र दुवै नेताहरू अदालतको फैसलापछि मात्र यस विषयमा संसदीय कारबाही अघि बढाउनु उचित हुनेमा एकमत हुनुभएको छ ।

अदालतले कार्कीविरुद्ध फैसला गर्छ भन्ने विश्वास पनि नेताहरूले त्यस अवसरमा प्रकट गर्नुभएको समाचार स्रोतको दाबी छ । देउवा र ओलीले सङ्घीयताका कारण उत्पन्न भएको समस्यालाई लिएर पनि छलफल गर्नुभएको थियो । संशोधन प्रस्ताव फिर्ता लिएर स्थानीय निकायको निर्वाचनमा जाँदा ‘सङ्घीयताको समस्या’ समाधान हुँदै जाने विचार ओलीले प्रकट गर्नुहुँदा देउवाले संशोधन प्रस्तावलाई छलफलमा जान दिएर निर्वाचनमा जाँदा उचित हुने धारणा प्रकट गर्नुभएको बताइन्छ । जे होस्, सोमबार (पुस ११ गते) साँझ ओलीनिवासमा भएको रात्रिभोजसहितको भेटवार्तापछि देउवा र ओलीबीच विश्वास र समझदारीको वातावरण बनेको उहाँहरूका निकटस्थहरूले जनाएका छन् । प्रचण्डले धोखा दिएमा वा धोखा दिने सङ्केत देखिएकामा देउवा र ओली नयाँ राजनीतिक परिस्थिति निर्माण गर्न एकाकार हुनसक्ने सम्भावना ‘रात्रिभोज बैठक’ले बढाएको छ । यस घटनाले प्रधानमन्त्री प्रचण्ड भने सशङ्कित हुनुभएको बुझिएको छ ।

oli-with-deuwa