गौहत्यामाथि सरकारको मौनता रहस्यपूर्ण

गौहत्यामाथि सरकारको मौनता रहस्यपूर्ण


गौहत्याको घटनाप्रति सर्वत्र विरोध भइरहेको परिवेशमा चितवनमा पनि नागरिक तहबाट कडा विरोध जनाइएको छ । कैलालीको गोदावरी जङ्गलमा षड्यन्त्रपूर्ण तरिकाबाट सयौँ गाई–गोरुको हत्या भएको विषयलाई लिएर चितवनका नागरिकले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । धार्मिक एवम् सामाजिक सङ्घसंस्था र तिनका अगुवाको अग्रसरतामा चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।
शब्द चिन्तन संरक्षण मण्डलका प्रधान संरक्षक स्वामी दुर्गादासजी महाराज, योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीका अध्यक्ष टंकनाथ पौडेल, हिन्दू ओमकार भोलिन्टियर्स चितवनका प्रतिनिधि कृष्णप्रसाद धिताल, लक्ष्मीनारायण मन्दिरका प्रमुख पद्मनाभाचार्य, निम्बार्क सम्प्रदायका गुरु हरिशरण उपाध्यायलगायतका धार्मिक व्यक्तित्वहरूको अगुवाइमा भरतपुरको चौबिसकोठीबाट निस्केको विरोध जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा परिणत भएको थियो ।

सहभागीले गौहत्याको विरोधमा नारा लगाएका थिए । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा गाई सनातन धर्मावलम्बीहरूको पुज्य भएको, संविधानले पनि गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्बोधन गरेको, कानुनतः गौहत्या गर्नु दण्डनीय अपराध भएको हुनाले गाई वंशको सुरक्षामा राज्य कटिबद्ध हुनुपर्ने व्यहोरा छ । यदि सो नभई अबका दिनमा कुनै पनि स्थानमा गाईको हत्या हुन्छ भने आफूहरू चुप लागेर नबस्ने, त्यसको सशक्त रूपमा कडाभन्दा कडा विरोध गरिने र विरोधको धक्काको सामना गर्न सम्बन्धितहरूका लागि गाह्रो पर्न सक्ने भन्ने छ ।

ज्ञापनपत्र बुझाएपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै शब्द चिन्तनका स्वामी दुर्गादासले ठूलो सङ्ख्यामा गोवंशको हत्या हुनु र त्यसको विरोधमा बन्दलगायतका कार्यक्रम हुँदा पनि सरकार मौन रहनुले थप शङ्का बढाएको प्रतिक्रिया दिनुभयो । ‘यो कार्य जघन्य अपराध हो, हामी जो–कोहीलाई आफू बाँच्ने अधिकार छ भने अरू कुनै पनि प्राणीलाई बाँच्न दिनु पनि हाम्रो कर्तव्य हो । त्यसमाथि सनातन धर्मावलम्बीहरूको आराध्य माता गाई, राष्ट्रिय जनावर यसरी मारिँदा सरकार मौन बस्नु हुन्नथ्यो । पश्चिममा भएको विरोधलाई सम्बोधन हुनुपर्नेमा त्यो नहुनु, विरोधका स्वरहरूलाई नसुन्नु ठूलो विडम्बना भयो,’ स्वामीजीको असन्तोष थियो ।

वागीश्वरी गौशालाका अध्यक्ष टंकनाथ पौडेलले गाई हत्या कुनै पनि हालतमा आफूहरूका लागि सह्य नहुने अभिव्यक्ति दिनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ज्ञापनपत्र बुझिसकेपछि यस मामलामा आफू अत्यन्तै गम्भीर रहेको र ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइदिने वचनबद्धता दिनुभएको थियो ।