मुटु अस्पतालमा डायलासिस सेवा

मुटु अस्पतालमा डायलासिस सेवा


mutu-aspatal

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित मुटु तथा मिर्गाैला उपचार केन्द्रले १७ वटा मेसिनबाट एक दिनमा कम्तीमा ५१ जनाको डायलासिस गर्न सकिने गरी सेवा सुरु गरेको छ । ६ वटा डायलासिस मेसिनबाट सेवा दिँदै आएको अस्पतालले तत्काल एघार मेसिन थप गरी सेवा प्रदान गर्ने भएको हो ।

संस्थाका अध्यक्ष एजाज आलमले पश्चिम नेपालका बिरामीलाई मुटु र मिर्गाैलाको उपचारका लागि राजधानी जान नपर्ने गरी सेवा विस्तार गरिने बताए । यति धेरै डायलासिस उपकरण भएको यो राजधानीबाहिरको पहिलो अस्पताल हुने उनको दाबी छ ।

तीन वर्षअघि बुटवलका रामनगरमा सञ्चालनमा आएको अस्पतालमा मुटु, मिर्गाैला र छाती रोगको उपचारका लागि आठ विशेषज्ञ डाक्टर रहेका छन् । मिर्गौलाको डायलासिस तथा क्याथ ल्याब सञ्चालनका लागि समेत विशेषज्ञ टोली बनाइएको छ । मिर्गौलाको डायलासिसका लागि साताको सबै दिन सेवा दिइने अस्पतालले जनाएको छ । १७ वटा मेसिनबाट दिनमा कम्तीमा ५१ जनाको डायलासिस गर्न सकिने अस्पतालमा कार्यरत मिर्गाैलारोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी दिए ।

अस्पतालले एक सय २८ स्लाइसको सिटिस्क्यान मेसिनसमेत ल्याउने तयारी गरेको छ । काठमाडौंको टिचिङ अस्पतालमा बाहेक अन्य अस्पतालमा यति ठूलो सिटिस्क्यान मेसिन नरहेको अस्पतालले जनाएको छ । सो मेसिन भएपछि मिर्गाैला, मुटु, छातीको सिटिस्क्यानका लागि बाहिर जानु नपर्ने संस्थाका अध्यक्ष आलमले बताए ।

उपचार उपकरण ल्याउन चारवटा रोटरी क्लबसँग सहकार्य गरेको अस्पतालले उपचारमा लिँदै आएको शुल्कसमेत घटाएको छ । एक सय रहेको ओपीडी शुल्क अब ५० रुपैयाँ बनाइएको अध्यक्ष आलमले बताए । त्यस्तै इको, ईसीजी, जनरल हेल्थ प्याकेज, फुलबडी चेकअप, थाइराइड परीक्षणको शुल्क घटाएको छ भने साताको सबै दिन १० रुपैयाँमा सुगर र ब्लड प्रेसर परीक्षण गरिने अस्पतालले जनाएको छ । अस्पतालले आफ्नो फार्मेसीबाट बिक्री हुने औषधिमा १० प्रतिशत छुटसमेत दिँदै आएको छ ।

पत्थरीका बिरामीलाई लुम्बिनी अस्पतालको सेवा
mutu-2

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ‘ल्यापरोसी सर्भिस’ सुरु भएको छ । अस्पतालको स्तरवृद्धिसँगै विभिन्न सेवा थप हुँदै आएको छ । उक्त अस्पतालले मेसिन खरिदपछि नयाँ व्यवस्थापनका साथ सर्जनको टोलीद्वारा सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देवकोटाले बताए । अस्पतालका सर्जनको टोलीले सेवा सुरु गरेको मेडिकल सुपरिटेन्डेन्टको भनाइ छ । बिरामीको मागअनुसार यो सेवा दिइने उनको भनाइ छ । स्तरवृद्धि भएपछि उक्त अस्पतालमा एनआईसीयू मानसिक विभाग र मुटुरोग विभाग थप गरी सेवा दिइएको बताए । यस क्षेत्रकै पुरानो अस्पतालमा सेवा थप भएसँग बिरामीको चापसमेत बढ्दै गएको छ भने दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिने गरेको अस्पतालको रेर्कडमा उल्लेख गरिएको छ ।
– चन्द्रकान्त खनाल