कैलालीका दुई विद्यालय भवनका लागि साढे सात करोड

कैलालीका दुई विद्यालय भवनका लागि साढे सात करोड


20-pr-pic-222

कैलाली जिल्लामा निर्माण हुन लागेको दुई विद्यालय भवनका लागि मित्रराष्ट्र भारतले करोडौँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । टीकापुर (कैलाली)को सरस्वती माध्यमिक विद्यालय र धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले सात करोड ५४ लाख आर्थिक अनुदान उपलब्ध गराउन लागेको हो । यससम्बन्धी सम्झौतामा भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद बिमली र सरस्वती माविका प्रिन्सिपल खगेन्द्रबहादुर घर्तीमगर तथा अर्को त्रिपक्षीय सम्झौता दूतावासका द्वितीय सचिव सिंह, एलडीओ बिमली र क्षेत्रीय प्रहरी विद्यालयका प्रिन्सिपल डिल्लीराज जोशीबीच हस्ताक्षर भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत साना विकास परियोजनाका लागि भारत सरकारले धनगढीका उल्लेखित विद्यालयलाई सहयोग उपलब्ध गराउन लागेको हो ।

सन् १९८५ मा धनगढीमा स्थापित क्षेत्रीय प्रहरी विद्यालयमा सात सय छात्रछात्रा अध्ययन गरिरहेका छन् । छात्रावास भवनसमेत उपलब्ध हुनेगरी निर्माण हुने नयाँ विद्यालय भवनले विद्यार्थीलाई निकै सहजता उपलब्ध हुनेछ भने शिक्षक क्वार्टरसमेत बन्ने हुनाले शिक्षकले पनि विशेष सुविधा हासिल गर्ने बताइएको छ । यस्तै, सन् १९७८ मा टीकापुरमा निर्माण भएको सरस्वती माध्यमिक विद्यालयमा १३ सयभन्दा बढी छात्रछात्रा अध्ययन गरिरहेका छन् । विशेष सुविधायुक्त संरचनामा बन्ने नयाँ विद्यालय भवनले विद्यार्थी एवम् शिक्षक वर्गलाई अध्ययन–अध्यापनमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ ।
सम्झौतापत्रमा आगामी पन्ध्र महिनाभित्र दुवै विद्यालय भवन निर्माण भइसक्ने उल्लेख गरिएको छ भने विद्यालय व्यवस्थापन समिति, जिल्ला विकास समिति र कैलालीका जिल्ला शिक्षा अधिकारीले निर्माण कार्यको अनुगमन गर्नेछन् । दूतावासले पनि परियोजनाको प्रगतिबारे निगरानी राख्ने बताइएको छ ।
कैलालीमा यसअघि १८ करोड ८० लाख भारतीय सहयोगमा पाँचवटा परियोजना सम्पन्न भइसकेका र थप दुई आयोजना निर्माणाधीन छन् । जिल्लाका लागि ६ वटा एम्बुलेन्स र पाँच स्कुलबस पनि मित्रराष्ट्र भारतले प्रदान गरिसकेको छ ।