एकतीस वर्षपछि ‘कैदी’लाई ओढाइयो खादा

एकतीस वर्षपछि ‘कैदी’लाई ओढाइयो खादा


20-satyagraha-3

०४२ सालमा नेपाली काङ्ग्रेसद्वारा गरिएको बहुचर्चित सत्याग्रह आन्दोलनका योद्धाहरूलाई सम्मानपत्र र दोसल्लाका साथ सम्मानित गरिएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ८ (क्षेत्रीय समिति)ले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर बयालीस सालको सत्याग्रहमा सहभागी भएबापत जेल सजाय व्यहोरेका एक सय चौरासीजना प्रजातान्त्रिक योद्धालाई प्रकाशमान सिंह प्रमुख अतिथि तथा उद्योगमन्त्री नवीन्द्रराज जोशी विशेष अतिथिका रूपमा उपस्थित कार्यक्रमबीच सम्मान गरेको हो । सम्मान कार्यक्रमका संयोजक एवम् क्षेत्र नम्बर ८ का काङ्ग्रेस अध्यक्ष राजुराज जोशीका अनुसार सत्याग्रह आन्दोलनमा मुलुकभरका आठ हजार कार्यकर्ताले गिरफ्तारी दिएका भए पनि काठमाडौं उपत्यका तथा वरपर क्षेत्रबाट जम्मा दुई सय ४७ रहेका थिए, जसमध्ये ६३ जनाको निधन भइसकेको र बाँकी एक सय ८४ जनालाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेमा योगप्रसाद उपाध्याय, लेखनाथ न्यौपाने, श्यामलाल श्रेष्ठ, श्रीराम उपाध्याय, तुलसीनारायण श्रेष्ठ, प्रकाशमान सिंहलगायत रहेका थिए भने सम्मानित हुनेमध्ये काठमाडौं हात्तीगौंडा क्षेत्रका बाइस र सतुङ्गलका मात्रै तेइस काङ्ग्रेसजन रहेका छन् । यसरी पुराना प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रम चल्दै गर्दा अर्कातिर दर्शकदीर्घामा विभिन्न टीकाटिप्पणी चलिरहेका सुनिन्थे । एकथरीले ‘गणेशपुत्रको मन पग्लिएपछि सम्मान कार्यक्रम आयोजना हुन सकेको’ भनी प्रकाशमान सिंहमाथि व्यङ्ग्य कसेका थिए भने अर्कोतिर ‘जाबो एउटा प्रमाणपत्र र खादा भिर्न पनि ज्यान जोखिममा राखेर आन्दोलनमा उत्रिने योद्धाहरूले एकतीस वर्ष कुर्नुपरेको’ भन्दै गुनासो गरेका थिए ।