गृहमन्त्री र शपथ विवाद

गृहमन्त्री र शपथ विवाद


sn-karki-5

जतिसुकै भए पनि मान्छे मान्छे नै हो, उसबाट गल्ती हुन्छ नै, सबै ठाउँ आफ्नै कुरा मनाउन कसैलाई पनि सम्भव हँुदैन । बीपी पनि यसको अपवाद थिएनन् । बीपीबाट भएका नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन, राष्ट्रिय र प्रजातान्त्रिक काङ्ग्रेसको एकीकरणजस्ता काम नै उनका पुँजी हुन् । भारतीय स्वतन्त्रता आन्दोलनको एक सेनानीबाट नेपालको परिवर्तनकारी नेतामा बीपीको रूपान्तरणमा यी घटना उल्लेख्य छन् । आकर्षक व्यक्तित्व, अडिग सैद्धान्तिक निष्ठाको छवि, राणाशासनले पिरोलेको पारिवारिक पृष्ठभूमि अनि भेटेकालाई प्रभावित गर्न सक्ने उनको क्षमताजस्ता गुुणले उनलाई कुशल सङ्गठक बनाएको थियो । अझ त्यसमाथि स्वतन्त्र भारतका असरदार नेताहरूसँगको घनिष्ट सम्बन्ध आसन्न नेपाली क्रान्तिको निमित्त अर्को कोसेढुङ्गा थियो । बीपीको विशेषताहरूबारे जति भनिने गर्दछ तीमध्ये धेरैलाई यो आत्मवृत्तान्त किताबले अस्वीकार गरेको छ । धेरैपटक बीपी आफ्नो अडानबाट पछि हटेका पनि छन्, अनि धेरैपटक उनले आफ्नो अडान कायम राखेका पनि छन् । त्यसैले एक सफल अडानको घटनाको आधारमा जसरी उनको अडान बलियो हुन्थ्यो भन्न मिल्दैन, त्यसै गरेर एक अडान छोडेको घटनाले उनलाई अडान नभएको भन्न पनि मिल्दैन । जसरी अन्यको जीवनमा परिस्थितिको निर्णायक भूमिका हुन्छ उनको जीवनमा पनि थियो ।

यही कुराको प्रमाणको निमित्त बीपीको गृहमन्त्री शपथको बेलाको खिचलोलाई लिन सकिन्छ । त्रिपक्षीय सम्झौताअनुसार श्री ३ महाराजबाट मोहनशमशेर प्रधानमन्त्रीमा घटुवा भएका थिए । हाम्रो गादीमा बस्न त पुर्पुरोमा लेखिएको हुनुपर्छ भनेर मोहनशमशेरले भनेका बन्दी बीपी मन्त्रिमण्डलमा अर्को पक्षको नेतृत्व गर्दै गृहमन्त्री भएका थिए । कुरो नउठाइएको भए बबरशमशेरको मान्यताक्रमको कुरो उल्लेख्य हुने नै थिएन । त्यसै पनि यो मन्त्रिमण्डल राणाहरूको बहिर्गमनको उद्देश्यले बनेको थियो । परराष्ट्र, रक्षाजस्ता मन्त्रालयलाई शक्तिशाली मानिनुको कुनै अर्थ रहन्न थियो किनभने मुलुकको आन्तरिक प्रशासन, अर्थतन्त्रजस्ता मुुलुकलाई नया“ दिशा दिन सक्ने कुराहरू परिवर्तनकारी शक्ति नेपाली काङ्ग्रेसको हातमा थियो । दिल्लीको छलफलमा नै नेहरूले बीपीलाई राणाहरू राखेका मन्त्रालय कसरी महत्वहीन बनाउन सकिन्छ भनेर बीपीलाई सिकाइसकेका थिए । त्यसैले पनि शपथमा मान्यताक्रमको कुरा गौण थियो । स्वयम् बीपीले पनि परिच्छेद ३३ मा यो कुरा स्वीकार गरेका छन् । ‘मर्यादाक्रम भनेको एउटा सानो दर्जाको कुरा थियो, तर मैले त्यसमा मानिनँ’ भन्ने उनको भनाइले पछि आफूले त्यो कुरा नउठाउनुपर्ने थियो भन्ने बोध भएको आभास दिन्छ ।

बीपीको दाबी थियो, यो दुई समूहको संयुक्त मन्त्रिमण्डल भएकाले एउटै समूहबाट पहिला र दोस्रा दर्जाको हुनुहँुदैन । रक्षामन्त्रीको रूपमा बबरशमशेरको दाबी के थियो भने म पहिला नै मन्त्री भइसकेको मान्छे भएकाले मेरो दर्जा घटुवा हुनुहुन्न । यो कुरा त्यसबेला उठ्यो जुनबेला औपचारिक शपथग्रहण समारोहमा भाग लिन देशी–विदेशी पाहुनाहरू उपस्थित भइसकेका थिए । उपलब्ध विदेशी राजदूतहरू, कूटनीतिक प्रतिनिधिहरूलगायत सबै पाहुनाको सामुन्ने यो मर्यादाक्रमको काण्ड भयो । कुरो जसको सही वा गलत भए पनि मुलुकको निमित्त भने यो गलत नै भएको थियो । शपथग्रहणको औपचारिक कार्यक्रमभन्दा पहिला नै यस्ता विवादको विषयमा छलफल भएर निष्कर्षमा पुगिसक्नुपर्ने थियो, तर त्यसो भएन । बीपीले यो अड्डी लिएर बसेपछि निश्चय नै त्यहाँको वातावरण ठीक भएन होला ।

राजा त्रिभुवनको शाहीघोषणा पनि दिल्लीमा तयार भएर बीपीको सहायताले अनुवाद गरेको वक्तव्य पढ्नेमा सीमित थियो । यहाँसम्म कि डेमोक्रेसीको नेपाली अनुवादमा बीपीले बिर्सेर लोकतन्त्रको स्थानमा गणतन्त्र भएको पनि सच्याइएको थिएन । यस्तोमा शपथग्रहणको रूप, त्यसमा उठ्न सक्ने कुरा आदिको बारेमा राजाले बीपीको कुरा सुन्ने थिएनन् भन्ने सोचाइ ठीक हँुदैन । बीपी वा उनको तर्पmबाट समारोह आयोजनमा चासो राखेको पाइन्न, तर राणाहरूको तर्पmबाट भने समारोहको आयोजनमा निश्चित नै चासो राखियो होला । यसरी बीपीले सुरुमै मैदान खाली राखे, त्यसको लाभ त राणाहरूलाई पुग्नु नै थियो पुग्यो पनि । यस किसिमको कलहले त्यसभित्र खेल्ने अर्को बलियो आधार भेटेको भारतीय राजदूतलाई महसुस भएको थिएन भने त्यो उनको अयोग्यता हुन्थ्यो । पछिका घटनाक्रमले पनि यस कुराको पुष्टि गर्दछन् कि भारतले कसरी सानोभन्दा सानो आन्तरिक कुरामा पनि चासो राखेको छ । असह्य भएर परिच्छेद ३३ को अन्तमा बीपी भन्छन्, ‘हिन्दुस्थानको राजदूत त यहाँको राजाभन्दा पनि आपूmलाई ठूलो ठान्थ्यो ।’

जे होस्, बीपी समारोहस्थल छोडेर अर्को कोठामा गए । बीपीलाई सम्झाउन स्वयम् राजा त्रिभुवन पनि त्यहाँ आए । मोहनशमशेर पनि आए, मोहनशमशेरको साथमा स्टेनगन लिएका उनका बडीगार्ड पनि आए । स्टेनगनधारी बडीगार्डको उपस्थितिलाई बीपीले धम्की देखाएको सम्झे, ‘मलाई धम्की देखाउँछ प्रधानमन्त्री । अँ हँ, म त मान्दिनँ’ भनेर अड्डी कसे । मातृका सम्झाउन आए, भारतीय राजदूत भने नआएको उल्लेख बीपीले गरेका छन् । अन्त्यमा बबरशमशेर आपैmँ आए । आफू एकपटक मात्र क्याबिनेटमा उपस्थित भएर गइहाल्ने भएकाले यति मानिदिनुस् भनेर अनुरोध गरे ।

बबरशमशेरको अनुरोध भने बीपीले सजिलै माने र अड्डी छोडिदिए । यो आधा घन्टा एक घन्टा चलेको गलफत्ती साम्य भयो, निर्धारित मुहूर्तमा नै शपथग्रहण सम्पन्न भयो । बीपीको नजरमा त्यसपछि त्यो कुरा त्यही सकियो । तर, के यो कुराले मुलुकलाई कुनै खराब असर पारेन त ? पछिका कतिपय घटनाक्रममा यसको असर रहेन त ? यस्ता प्रश्नहरूको उत्तर खोजिनुपर्छ, निष्पक्ष भएर खोजिएको उत्तरले वर्तमानसम्म मुलुकले भोग्नुपरेको नेताहरूको केटाकेटीजस्तो व्यवहार रोक्न सहायता गर्दछ । अहिलेसम्म यो घटनालाई अनुकरणीय भनेर त्यसैको पुनरावृत्ति हुँदै छ, के यसलाई सही मान्न सकिन्छ ?