सीमास्तम्भको सर्वेक्षण र मर्मत जारी रहने

सीमास्तम्भको सर्वेक्षण र मर्मत जारी रहने


20-nepal-india-meeting

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको गत सोमबार भैरहवामा बसेको फिल्ड सर्भे टिमको बैठकले आर्थिक वर्ष ०७१÷७२ बाट सुरु गरिएको नेपाल–भारतको सीमा स्तम्भहरूको मर्मतसम्भारलाई यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको छ । नापी विभागका प्रमुख एवम् नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर ३ का प्रमुख निर्मलकुमार अचार्यका अनुसार बैठकमा नेपाल र भारतका तीन जिल्लाको सीमामा रहेका स्तम्भहरू मर्मत सम्भार गर्ने सहमति भएको छ ।

नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर ३ अन्तर्गत नेपालको नवलपरासी, रूपन्देही, कपिलवस्तु र दाङ गरी चार जिल्ला पर्दछ । टोलीले यी चार जिल्लामा पर्ने सीमास्तम्भको सर्वेक्षण गरी आवश्यकताअनुसार मर्मतसम्भार कार्य गर्दै आएको छ । चार जिल्लाअन्तर्गत नेपाल र भारतको सीमामा एक हजार ३२ वटा स्तम्भहरू रहेका छन्, जसमध्ये गत दुई वर्षमा तीन सय ५४ वटा सीमास्तम्भहरू मर्मतसम्भार गरिएको छ भने बाँकी स्तम्भको मर्मतसम्भार कार्य यस वर्ष जारी राखिनेछ ।

गत वर्ष नवलपरासी जिल्लामा पर्ने १६ वटा सीमास्तम्भको सर्वेक्षण गरी मर्मतसम्भार कार्य सकिएको थियो । यस वर्ष रूपन्देहीमा नदीमा पर्ने स्तम्भ, कपिलवस्तु र भारतको बलरामपुर जिल्लामा पर्ने पिलर नम्बर ५७६ र यसबाट पश्चिमतर्फ रहेको पिलर नम्बर ६१५ सम्म पिलरको सर्वेक्षण, मर्मतसम्भार र निर्माणलगायतका कार्य गर्ने बैठकमा सहमति भएको बताइएको छ । प्राप्त जानकारीअनुसार दुवै देशका स्थानीय अधिकारीहरूबाट फिल्ड टिमलाई आवश्यक सहयोग गर्ने र फिल्ड सर्भे टिमको दोस्रो बैठक भारतमा गर्ने निर्णय भएको छ ।

बैठकमा नेपालको तर्फबाट रूपन्देही, कपिलवस्तु र दाङका प्रमुख जिल्ला अधिकारीहरू र भारतको महाराजगञ्ज, सिद्धार्थनगर र बलरामपुर गरी तीन जिल्लाका डिस्ट्रिक्ट मेजिस्ट्रेटहरूका साथै सुरक्षा निकायका प्रमुखहरू, वन कार्यालय, नापी कार्यालयका प्रमुखलगायत सहभागी थिए ।