
– इन्द्रबहादुर बराल
देश अहिले इतिहासकै कहालीलाग्दो मोडमा उभिएको महसुस गरिँदै छ । परिवर्तनका जतिसुकै ढ्वाङ फुके पनि मुलुकमाथि सङ्कटका काला बादल मडारिइराखेको अवस्थालाई नकार्न सकिने अवस्था छैन । रक्तपातदेखि शान्तिपूर्ण आन्दोलनसम्मका ठुल्ठूला क्रान्ति भए, तर ती क्रान्तिले स्थापना गरेका राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई स्थायित्व दिने कार्य अलपत्र भएको तथ्य जगजाहेर नै छ । सङ्घीय गणतन्त्र नेपालको संविधान ९० प्रतिशत जनताको समर्थनमा जारी भएको भनिए पनि कार्यान्वयन हुन नपाउँदै संशोधनको सवाल झिकेर औँला ठड्याउने अवसर प्रतिगामी–अग्रगामी सबैले पाएकै छन् । यतिसम्म गम्भीर प्रश्न उठाइएको छ कि मानौँ नेपालको राष्ट्रियता नै सङ्कटमा छ ।
मौकामा चौका हान्न सिपालु पार्टीका रूपमा चिनिएको नेकपा (एमाले) राष्ट्रियताको मुद्दालाई उच्च प्राथमिकताका साथ उठान गरेर आफ्नो सङ्गठन सुदृढीकरणमा लागेको छ । साथै नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ताले अर्को रडाको मच्चिराखेको अवस्थालाई पनि प्रतिपक्षले कार्यकर्तालाई स्ट्याण्डबाई राख्ने अवसरको रूपमा भरपूर उपयोग गरेको स्थिति नकार्न सकिन्न । केही महिना पहिले छिमेकी मुलुकले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीबाट प्रमुख प्रतिपक्षी राजनीतिक लाभ लिन चुकेको छैन । हामी नेपालीले दक्षिणतर्फका क्रियाकलापलाई जति गम्भीरता र सचेततासाथ हेरेका छौँ त्यति नै उत्तरतर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । नाकाबन्दीको अर्थ आवातजावत गर्ने मुख्य दुईदेशीय प्रवेशद्वार बन्द गरिनुलाई नै भनिन्छ क्यारे † यस अर्थमा देशकै तेस्रो ठूलो राजस्व सङ्कलन हुने तातोपानी नाका बन्द भएको कति भयो, तर त्यसलाई कसैले अघोषित नाकाबन्दी भन्ने आँट गरेको पाइएन । किन यत्तिका समयसम्म तातोपानी नाकाबारे ठोस बहस वा छलफल गर्ने आँट गरिन्न ? बारम्बार नेपालमा सिक्किमीकरणको उदाहरणलाई पार्टीहरू आफ्नो अस्तित्वरक्षाको कवच बनाउँछन्, तर केही बोल्ने तिब्बतबारे कसैको हिम्मत छैन । किनकि, उत्तर छिमेकी विश्वकै उदयीमान महाशक्ति राष्ट्र हो, उसले तातोपानी नाका नखोले पनि मौन समर्थन छ र तिब्बत बलपूर्वक लिए पनि एक चीन नीतिमा नेपाल अडिग छ । सरकार र राजनीतिक दलहरूको यो कस्तो सन्तुलित विदेश नीति हो, बुझिनसक्नु छ ।
यही सन्दर्भमा नेपाली काङ्गे्रसले गम्भीरतापूर्वक लिनुपर्ने विषय हो– ट्याङ्का, सुराही र छाताको आदर्श । भारतको विरोध गर्नु र आक्रामक एवम् अन्ध रूपमा राष्ट्रवादको खोल ओढ्नु एमालेको आदर्श देखियो भने माओवादी केन्द्र त झन् कुनै आदर्श भन्ने केही कुरै रहेन जस्तो देखिन्छ । दशवर्षे जनयुद्धको जगमा एउटा परिवारवादको लामो विरासत हटाउन सफल भए पनि अन्य त्यस युद्धका कुनै अनुपम उदाहरण देखिँदैन । त्यसकारण नेपाली काङ्गे्रसले आत्मसात् गर्दै आएका तीन आदर्श, तीन नेता र किसुनजीका तीन व्यवहारलाई एकै ठाउँमा राखी गम्भीर रूपमा बहस र छलफल चलाउनुपर्छ । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई राष्ट्रिय लोकतन्त्र र समाजवादको प्रतीक त्रिमूर्ति हुन् जसलाई काङ्गे्रसले आफ्नो आदर्शको रूपमा वीरगन्जमा सम्पन्न पाँचौँ महाधिवेशनले अङ्गीकार गरेको थियो । त्यही आदर्शले नेपाल लोकतन्त्रमय बन्न सफल पनि भयो । तर, आज काङ्गे्रसमा नेतृत्वको अभाव खड्किएको हो कि जस्तो भ्रम पर्न गएको छ । दोस्रो पुस्ताका होनहार नेता पूर्वप्रम शेरबहादुर देउवा स्वयम् समाजवादी चिन्तनअनुसार अघि बढ्ने व्यक्ति पार्टी सभापति हुनुहुन्छ । उहाँले सरकारको नेतृत्व गर्दा चालिएका कतिपय कदम सच्चा समाजवादी चिन्तनबाट प्रभावित हुँदाहुँदै पनि त्यसको कुनै मूल्याङ्कन गरिएन । बरु जसले देश र पार्टीलाई लत्याएर व्यक्तिगत महत्वाकाङ्क्षालाई उच्च महत्व दियो उसैको गुनगान र प्रशंसा गरियो । जसले गर्दा आज मुलुकको सङ्कट गहिरिएको महसुस गरिँदै छ ।
तर, जसले (शेरबहादुर देउवा) देशभरका जोताहा किसानलाई जग्गाधनीसरह समान हक दिलायो, उसैलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरियो । त्यस्तै, कमैयाहरूको ऋण मोचन गराएर लाखौँलाख मुक्त कमैयाहरूको मुक्ति गराउनु नेपालकै इतिहासमा लागेको कालो दाग मेटाउने काम पनि देउवाबाटै भएको थियो । दलित, महिला, आदिवासी, जनजातिलगायतका आयोग र प्रतिष्ठान बनाएर तिनै आयोग र प्रतिष्ठानका माध्यमबाट सामाजिक न्याय प्रदान गराउने कार्य प्रारम्भ भएका छन् । मानवअधिकार र सुशासनका लागि निर्माण गरिएका स्थायी आधार अहिले आयोगको रूपमा स्वतन्त्र संवैधानिक अङ्ग बनेका छन् । माथि उल्लेख गरिएका उपलब्धिमूलक कार्यबारे नेपाली जनताले मूल्याङ्कन गर्नै नपर्ने ? के नेपालले भारतको विरोध गर्दैमा महान् राष्ट्रवादी भइन्छ ? हो, एउटा कुरा सत्य के हो भने नेपालीले कहिल्यै पनि कुनै अर्को राष्ट्रको दासत्व स्वीकार गरेन र आजको पुस्ता पनि तिनै पुर्खाका सन्तती भएकोले निःसन्देह कुनै पनि शक्तिराष्ट्र किन नहुन्, कसैको हस्तक्षेप स्वीकार गर्दैनन् । तथापि, बोलेर बाठो हुने जुन उछृङ्खलता देखिएको छ त्यो केवल भ्रम मात्रै हो । यहाँ साना–ठूला राजनीतिक दलदेखि सर्वसाधारण जनतासमेत राष्ट्रियताप्रति सचेत र सजग छन् । म मात्रै राष्ट्रवादी हुँ भन्ने वा बन्ने खेलले राष्ट्रियता या राष्ट्रवाद अझै कमजोर बन्ला, बलियो हुँदैन । पुनः प्रश्न सीमाङ्कन हेरफेरकै सन्दर्भ पनि २ नं. प्रदेशलाई पहाडसँग छुट्याउँदा किन ठीक र ५ नम्बरलाई छुट्याउँदा कि बेठिक वा राष्ट्र विखण्डन कसरी हुन्छ ? एउटा सन्दर्भ ठाउँअनुसार फरक–फरक हुँदैमा कसरी राष्ट्रघात हुन्छ ?
प्रशंगवश नेपाली काङ्गे्रस तथा ट्याङ्का, सुराही र छाताको जोडौँ । अन्य अर्थ नलागेमा बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराई अनि राष्ट्रियता, लोकतन्त्र र समाजवाद एक–अर्काका परिपूरक या पर्याय हुन् । यी आदर्शलाई काङ्गे्रसले अलग गरेर हेर्न हुँदैन । बरु यी आदर्शबारे कार्यकर्ता र आमजनताबीच जति सक्यो छिटो सन्देश पु¥याउनुपर्छ । यस कार्यमा काङ्गे्रसले अब ढिला गर्नुहुँदैन । किनकि, काङ्गे्रसको जन्म नै सामन्ती व्यवस्थाको अन्त्य र प्रजातान्त्रिक समाजवादी व्यवस्थाको स्थापनाका लागि भएको थियो । अहिले पनि सामन्तहरूको बिगबिगीबाट राष्ट्रलाई जोगाउँदै प्रजातान्त्रिक समाजवादउन्मुख समाज निर्माण नै एक मात्र अभीष्ट हो । यस महान् कार्यको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाको काँधमा छ । आफ्ना आदर्शपुरुष (सन्त नेता) बाट दीक्षित सभापति देउवा अवश्य पनि आफ्नो दायित्वबाट चुक्नुहुने छैन भन्ने विश्वास डग्मगाइसकेको छैन ।
दुई साताअघि मात्र विभिन्न कार्यक्रम आयोजना गरी सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९२औँ जन्मजयन्ती मनाइयो । जसले आफ्नो जीवन पद्धतिलाई सरल बनाउँदै राजनीति आयआर्जनको पेसा नभई सेवा मात्रै ठान्यो, त्यही सेवाभावको उच्च मूल्याङ्कन गर्दै ट्याङ्का, सुराही र छाताका धनी सन्तनेता भट्टराईलाई राष्ट्रले ललितपुरको बाँडेगाउँमा आश्रम उपलब्ध गरायो । सम्पूर्ण नेपालीले विचार गर्नुपर्ने वा मननयोग्य आदर्श पुरुष सन्तनेता किसुनजीलाई बुझ्न सके नेपाल र नेपालीको सुखद भविष्य धेरै टाढा छैन । आजको नयाँ पुस्तालाई त ट्याङ्का र सुराही भनेकै पनि थाहा नहुन सक्छ । ट्याङ्का भनेको टिनबाट बनेको सानो बाकस र सुराहीचाहिँ खानेपानी सञ्चित गरी राखिने लामो घाँटी भएको माटोको सानो भुँड्को आकारको भाँडो हो । सम्पत्तिको नाममा छाता, सुराही र ट्याङ्का बोकेर बाँडेगाउँ सरेका किसुनजीबाट आजका हाम्रा सबै नेताले पाठ सिकून् र त्यस्तै आदर्शवान् बन्न सकून् भन्ने आमनेपालीको चाहना छ । तर, ठीक विपरीत आज जसरी नेताहरूप्रति घृणा र विद्वेष भाइरल भइरहेको छ, यसले निराशा जगाइरहेको छ । यो निराशाको अन्त्य जसरी छ ।
यस्तोमा अझ पनि नेपाली काङ्गे्रसले त झनै आफ्नो मार्ग निर्देशन बनाउन चुक्नुहुँदैन । यी सबै कार्यका लागि काङ्गे्रसले छिटोभन्दा छिटो विभागहरूलाई पूर्णता दिँदै जनजागरण अभियान सञ्चालन गर्नु अपरिहार्य छ । आगामी ०७४ साल माघ ७ गतेसम्म सबै तहका निर्वाचन सम्पन्न गर्ने संवैधानिक बाध्यतालाई मध्यनजर गर्दै पार्टीपङ्क्तिले कार्यकर्तालाई चलायमान बनाउनु एक मात्र विकल्प छ । यसर्थ ट्याङ्का, छाता र सुराही मात्र श्रीसम्पत्ति भएका महान् सन्तनेता किसुनजीलाई सम्झेर उनकै आदर्शअनुसार चल्ने प्रयत्न गरे नेपाली काङ्गे्रस देशकै अजय शक्तिको रूपमा युग–युग रहने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया