असह्य भएपछि बैंककतर्फ राजा ज्ञानेन्द्र

असह्य भएपछि बैंककतर्फ राजा ज्ञानेन्द्र


gyanendra-shah

गणतन्त्र घोषणा हुनुअघि पोखराको रत्न मन्दिर र चितवनको दियालोबंगलामा हिउँदको समय बिताउने राजपरिवार त्यसपछि भने जाडो छल्नका लागि कहिले तराई त कहिले बैंकक पुग्न बाध्य छ । विगतका वर्षहरूमा सिमरा, झापालगायतका जिल्लामा हिउँद बिताए पनि राजपरिवारका सबै सदस्य यतिबेला बैंककमा हुनुहुन्छ । प्राप्त जानकारीअनुसार पूर्वबडामहारानी कोमल, युवराज्ञी हिमानी, नातिनी कृतिका र पूर्वनवयुवराज हृदयेन्द्र दुई हप्ताअघि नै बैंकक पुग्नुभएको हो भनें पूर्वमहाराजाधिराज ज्ञानेन्द्र र नातिनी पूर्णिका गत बुधबार त्यसतर्फ जानुभएको हो । महारानी कोमलको छाती खराब भएका कारण चिसोले अत्यन्त सताउने हुँदा जाडो महिनामा उहाँलाई काठ्माडौंबाहिर जानुपर्ने बाध्यता छ । दरबार हत्याकाण्डमा लागेको गोलीले उहाँको छातीमा गम्भीर क्षति पु¥याएको थियो । अहिलेसम्म गोलीको छर्रा पूर्ण रूपमा बाहिर निकाल्न नसकिएका कारण उहाँलाई चिसो महिनामा पीडा हुने गरेको बताइन्छ । यसपल्ट पनि चिसो बढ्दै गएपछि उहाँलाई असह्य पीडा भएको र त्यसपछि बैंकक जाने योजना बनेको बुझिएको छ ।

छोरा पारसबाहेकका सबै सदस्य एक हप्ताअघि र राजा तथा नातिनी पूर्णिकाचाहिँ पछि जानुको कारणमा पूर्णिकाको विद्यालयको पढाइ रहेको छ । उहाँको छुट्टी नभएका कारण एक हप्ता पर्खिएर हजुरबुवा र नातिनी बैंककतर्फ जानुभएको हो । पूर्वयुवराज पारस र हिमानीकी जेठीपुत्री पूर्णिका यो वर्ष एसएलसी दिँदै हुनुहुन्छ । लिंकन स्कुलमा पढ्दै गरेका हृदयेन्द्र र कृतिकाको भने क्रिसमसअघि नै छुट्टी भएको थियो । बैंककमा उहाँहरू होटेलमा नभएर फ्ल्याटमा बस्नुभएको पनि बताइएको छ । पूर्व श्री ५ ज्ञानेन्द्रको यो भ्रमणलाई लिएर राजनीतिक वृत्तमा अनेक अर्थ लगाइए पनि उहाँको यो भ्रमण नितान्त निजी र पारिवारिक भ्रमण भएको स्रोतले बताएको छ ।

राजपरिवारका सबै सदस्य बैंककतर्फ गए पनि पूर्वयुवराज पारस भने सोनाकोठीस्थित निवासमै रहनुभएको छ । बहिनी (धीरेन्द्रपुत्री) को निवासमा बस्दै आउनुभएका उहाँले विगतको जस्तो गलत खानपान पूरै छोड्नुभएको उहाँका निकटवर्तीले बताएका छन् । मद्यपान र धुम्रपान दुवै छोडेपछि उहाँको स्वास्थ्य राम्रो हुँदै गएको बताइएको छ । बैंकक पुगेको राजपरिवार आगामी हप्ता स्वदेश फर्कने कार्यक्रम रहेको छ ।