‘नेपालविरुद्ध अक्षम्य अपराध’

‘नेपालविरुद्ध अक्षम्य अपराध’


king

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता तथा पृथ्वीजयन्तीको अवसरमा वक्तव्य जारी गर्दै नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘चार वर्ण छत्तीस जातको साझा फूलबारीको रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवम् क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो–जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेका छन् ।’

सबै नेपालीलाई राष्ट्रिय झण्डामुनि गोलबद्ध हुन आह्वान गर्दै वक्तव्यमा भनिएको छ– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डामुनि गोलबद्ध हुन आह्वान गर्दछु ।

यसैगरी श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्घर्ष, नेतृत्व कौशल, दूरदर्शिता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरूप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव सङ्कटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको पनि वक्तव्यमा भनिएको छ ।

स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रहिआएको यस मुलुकमा तात्कालिक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौँ, तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेनौँ र गर्ने पनि छैनौँ भन्दै उहाँले वक्तव्यमा अगाडि भन्नुभएको छ– दशक नबित्दै नेपाल बन्ने होइन, बच्ने पनि हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौँ । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरू एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रहिआएको छ । नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि सङ्कट आइपर्दा कसरी एकताबद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नुपरेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदै छाँै । विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दै छौँ । यस्तो दुःखद् र विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनैपर्छ ।