गोर्खाको विस्तार कि नेपालको एकीकरण ?

गोर्खाको विस्तार कि नेपालको एकीकरण ?


ganesh-niroula

– गणेशकुमार निरौला

नेपालको एकीकरण र बडामहाराजा पृथ्वीनारायणको भूमिकालाई लिएर हालैका वर्षहरूमा धेरै टीका–टिप्पणी भएका छन्– उनले नेपालको एकीकरण गरेकै होइन, गोर्खाको विस्तार गरेको हो । ठूलो राज्यको राजा बन्ने महत्वाकाङ्क्षाले सैनिक अभियान चलाउँदा स्वतः नेपाल बनेको हो । एकीकरण भनेको त पहिला सिङ्गो नेपाल हुनुप¥यो, बीचमा टुक्रिनुप¥यो अनि त्यसलाई जोड्ने काम पो एकीकरण हो त । ‘नेपाल’ भन्नाले त त्यतिबेला काठमाडौं उपत्यका मात्र बुझिन्थ्यो जहाँ तीनवटा मल्ल राज्य थिए । पृथ्वीनारायणले सैनिक अभियान चलाउँदा नेपाल भन्नाले पूर्वका मकवानपुर, चौदण्डी, विजयपुर तथा किराँत प्रदेश बुझिँदैन थियो न त पश्चिमका बाइसी र चौबीसी राज्य नै बुझिन्थ्यो । अनि कसरी यी टुक्रे राज्य जोडेर सिङ्गो नेपाल राज्य बनाउँदा एकीकरण भयो त ? यस तर्कलाई पुष्टि गर्ने ऐतिहासिक प्रमाण काठमाडौं उपत्यकाका मल्ल राजाहरूले आफूलाई नेपालेश्वर, नेपाल मण्डलेश्वर वा नेपालाधिपति भनी सम्बोधन गरेका अभिलेखहरू देखाउने गरिन्छ अनि उपत्यकाबाहिरका कुनै राजाले आफूलाई नेपालको राजा नभनेको तथ्य पनि प्रस्तुत गरिन्छ । अब धेरैलाई अन्योल हुनसक्छ, त्यस्तो अवस्थामा पृथ्वीनारायण शाहको कामलाई कसरी एकीकरण मान्न सकिन्छ ? यसका लागि नेपालको प्राचीनकालदेखिको इतिहास मसिनु गरी केलाउनुपर्छ । तर, बिडम्वना ! नेपालको प्राचीन र आदिकालको इतिहास प्रस्ट्याउने मौलिक र विश्वसनीय स्रोत अहिलेसम्म फेलापरेको छैन । तथापि गोपाल वंशावली, राज वंशावली, भाषा वंशावली, केही शिलालेख, तिब्बती वंशावली, चिनियाँ यात्रुसहित विदेशीका वर्णन तथा केही दस्तावेजहरूको अध्ययनले हामीलाई तथ्यको नजिक पु¥याउँछ ।

अनुसन्धाता तथा अन्वेषकहरूले प्रस्तुत गरेका प्रमाण र दसीहरूका आधारमा निम्न कुराहरू नेपालको प्राचीन इतिहासबारे देखापर्छन् ः प्राचीनकालमा नै हिमालय शृङ्खलाको दक्षिणी फेदीको यस भूखण्डमा एक विशाल र सङ्गठित राज्य थियो । त्यो राज्यको उसबेलाको नाम नै ‘नेपाल’ थियो । समयक्रममा त्यो कहिले शक्तिशाली बन्थ्यो र विशाल आकार ग्रहण गर्न पुग्थ्यो, कहिले कमजोर हुन्थ्यो । तर, नेपाल थियो र त्यो सबल थियो ।

यसलाई पुष्टि गर्ने प्रमाणहरू यस प्रकार छन् :
१) सर्वप्रथम यस भेगमा राज्यको अर्थ ग्रहण गर्न समर्थ ‘नेपाल’ शब्दको प्रयोग ‘अथर्व परिशिष्ट’मा पाइन्छ । त्यहाँ कामरूप (आसाम), विदेह (मिथिला), अवन्ती (उज्जेन) आदि देशहरूसँगै नेपाल देशको उल्लेख पाइन्छ । साथै प्राचीन बौद्ध र जैन साहित्यमा पनि ‘नेपाल’ पद देशका अर्थमा प्रयोग गरेको पाइन्छ । विशेष गरी ‘सर्वास्तिवाद विनयवस्तु’मा बौद्ध भिक्षुहरू श्रावस्तीका व्यापारीसँग नेपाल आएको कुरा उल्लेख छ र यसमा दिइएको प्रसङ्गअनुसार यो गौतम बुद्धकै जीवनकालको घटना हो ।

२) प्राचीन मौर्यवंशी सम्राट् चन्द्रगुप्तका मन्त्री कौटिल्यको अर्थशास्त्रमा नेपालले घुमराडी, आठपाटे राडी पाटलीपुत्रका बजारमा बिक्री गरेको प्रसङ्ग आउँछ । इ.पू. तेस्रो शताब्दीतिरको यस पुस्तकको प्रसङ्गले नेपाल एक छुट्टै राज्य मात्र होइन, विदेशमा सामान निर्यात गर्न सक्ने उद्योग भएकोसमेत देखिन्छ ।

३) प्राचीन भारतीय सम्राट् समुद्र गुप्तको इ.सं. ३५० को प्रयाग (इलाहावाद)को अभिलेखमा नेपाललाई कामरूप (आसाम) देखि कर्तृपुर (कुमाउ) बीचको राज्य भनी उल्लेख गरिएको छ । आसामदेखि कुमाउसम्म फैलिएको देखिने नेपालको आकारलाई इ.सं. ६३१ तिर भारतको यात्रा गर्ने चिनियाँ यात्री ह्वेन साङले नेपालको क्षेत्रफल ४ हजार ली बताएबाट प्रमाणित हुन्छ ।

४) यसरी नै विक्रमको नवौँ शताब्दीमा कल्हणकृत कस्मिरको इतिहास झल्काउने ‘राज तरङ्गिणी’मा कस्मिरी राजा जयापिडले नेपालका राजा अरमुडीसँग युद्ध गरेको, उनी कैद भएको अनि भागेको कुरा उल्लेख छ । अरमुडीलाई नेपालपालक लेखिएको छ । यी राजाबारे इतिहासकारहरूबीचमा मतभिन्नता भए पनि नेपाल राज्यबारे मतैक्य छ ।

५) हालसम्म नेपालको पहिलो ऐतिहासिक राजा मानदेव प्रथम मानिन्छन् । उनले वि.सं. ५२१ मै स्थापना गरेको चाँगुनारायण मन्दिरको गरुडस्तम्भ र त्यसमा रहेको अभिलेखले लिच्छविकालमा नेपालको सीमा पूर्वमा किराँत प्रदेशसम्म, पश्चिममा गण्डकीपारिसम्म फैलिएको देखाउँछ । बालक देखेर पूर्वका किराँत सामन्त र पश्चिममा गण्डकीपारि मल्लपुरीका सामन्तले स्वतन्त्र हुन गरेको विद्रोह मामाको सहयोगले मानदेवले सैनिक बलद्वारा दबाएको कुरा उल्लेख छ । यसले प्रस्ट देखाउँछ– प्राचीन नेपालको सीमा काठमाडौं उपत्यकाबाहिर कहिले अहिलेभन्दा ठूलो र कहिले सानो रूप हुँदै आएको हो । जटिल भूबनोट भएको कारणले ठूलो राज्य त्यस समयमा लामो समयसम्म केन्द्रबाट शासित भइरहन सक्दैनथ्यो । केन्द्रमा कुनै कारणले गडबडी भयो या शासक कमजोर भयो भने स्थानीय सामन्तहरू जुर्मुराउँथे र कहिले यिनैमध्येको कुनै साहसी र बुद्धिमान सामन्तले अरू सामन्तलाई दबाई काठमाडौं खाल्डोबाहिर सबल राज्य निर्माण गथ्र्यो । सम्भवतः यसै प्रक्रियाले मध्यकालमा (एघारौँ÷बाह्रौँ शताब्दीमा) पश्चिममा सिञ्जालाई केन्द्र बनाएर खस मल्लराज्यको स्थापना भयो नागराजाद्वारा र पूर्व–दक्षिणमा सिम्रौनगढलाई केन्द्र बनाएर कर्णाटवंशी नान्यदेवले तिरहुत राज्य स्थापना गरे । अब नेपालको भूगोलभित्र तीनवटा शक्तिकेन्द्र देखापरे, पश्चिममा खसमल्ल राज्य थियो । त्यहाँका राजा पृथ्वी मल्ललाई सम्राट् उपाधि दिइएको छ । यिनका पालामा सो राज्य पूर्वमा बागमती, पश्चिममा कुमाउँ गढवाल, उत्तरमा भोटको पश्चिमी भूभाग र दक्षिणमा तराईसम्म फैलिएको थियो ।

पृथ्वीनारायणले कुनै पनि मल्ल राजाको सालिक भत्काएनन्, त्यहाँका शासकले निर्माण गरेका कुनै पनि संरचना उनले नष्ट गरेनन् जसरी नेपाली क्रान्तिकारीहरूले नेपालमा साठीको दशकमा गरे । उनलाई थाहा थियो– पुरातात्विक महत्वको वस्तु नष्ट गरेर फेरि कहिल्यै पाउन सकिँदैन । ती बहुमूल्य मात्र होइन अमूल्य हुन्छन् । सांस्कृतिक क्रान्तिताका चीनमा साम्यवादी क्रान्तिकारीहरूले गरेको विनाश अफगानिस्तानको बामियानमा तालिवानीहरूले गरेको विनाशभन्दा ठूलो थियो । फरक यति छ, चीनमा पश्चात्ताप गरियो, आत्मआलोचना भयो । अफगानिस्तानमा पश्चात्ताप हुने सङ्केत कमसेकम अहिलेसम्म छैन । तर, खुसीको कुरा नेपालमा भने त्यो लक्षण देखापरेको छ । हिन्दुस्थानीहरूले ‘देर आए दुरुस्त आए’ यस्तैलाई देखेर भनेको हुनुपर्छ ।

अर्को शक्तिकेन्द्र काठमाडौं उपत्यकामा लिच्छविपछाडि मल्लशासन उदय नहुन्जेलको इतिहास केही अस्पष्ट छ । तथापि जयस्थिति मल्लका नाति यक्ष मल्लले उत्तरमा शिकारजोङ, दक्षिणमा गङ्गानदी, पूर्वमा कोचबिहारको सीमा र पश्चिममा गोर्खा–पाल्पासम्म नेपालको सीमा विस्तार गरेका थिए । अनि तेस्रो शक्तिकेन्द्र पूर्व–दक्षिणका कर्णाटवंशी राजाहरूले मिथिला क्षेत्रमा एउटा सबल हिन्दू राज्य स्थापना गरेका थिए ।

कालान्तरमा पश्चिममा खस मल्लराज्यको केन्द्रीय सत्ता कमजोर हुँदै गयो र त्यहाँ कर्णाली क्षेत्रमा बाइस अनि गण्डकी क्षेत्रमा चौबीसवटा ठकुराईहरूको उदय भयो । यिनलाई नै बाइसी र चौबीसी राज्य भनिएको हो । काठमाडौं उपत्यकामा त यक्ष मल्लको मृत्युपछि नै खण्डीकरण भयो । पहिले ४–५ वटासम्म राज्य बनेको यस क्षेत्रमा पछि कान्तिपुर, पाटन र भादगाउँ गरी तीनवटा राज्य स्थापित भए । अनि पूर्वमा चाहिँ पाल्पाली राजा मुकुन्द सेनले राज्य विस्तार गरी छोराहरूमा बाँडिदिए । कान्छा छोरा लोहाङ सेनको भागमा परेको मोरङ राज्य पनि मकवानपुर, चौदन्डी र विजयपुर गरी तीनवटा राज्यहरूमा खण्डित भयो ।

यसरी इसाको अठारौँ शताब्दीको सुरुमा नेपाली भूगोलभित्र ५२ भन्दा बढी ठकुराईहरू (राज्य) देखिन्छन् । तिनको आपसमा मिलाप छँदै थिएन । भिडन्त भइरहन्थ्यो । जनता साह्रै मर्कामा थिए । एक राज्यका नागरिक अर्कोमा बेरोकटोक आउजाउ गर्न पाउँदैनथे । उता दक्षिण भारतबाट प्रवेश गरेको साम्राज्यवादी अङ्ग्रेजी शक्ति भारत कब्जा गर्दै कोलकातालाई केन्द्र बनाई नेपाली सीमासम्मै आइसकेको थियो । यसले नेपाली परम्परा, संस्कृति, धर्म तथा अस्तित्व नै खतरामा थियो । ‘We are born to rule’ (हामी शासन गर्नकै लागि जन्मिएका हौँ) भन्ने अहङ्कार पालेका अङ्गे्रजहरूको बाइबल–तराजु–तरबार (धर्म, व्यापार र राजनीति) नीति पृथ्वीनारायणले राम्ररी बुझेका थिए । त्यो शक्ति नेपाल आइपुग्नुअगावै विखण्डित नेपाललाई एकीकृत तुल्याइसक्नुपर्छ भन्ने चेत थियो उनलाई । त्यसै हुनाले उनी राजा हुनासाथ योजना बनाएर, तयारी गरेर एकीकरणको महानतम् अभियान सुरु गरेका थिए ।

यसबाट प्राचीनकालको सिङ्गो नेपाल मध्यकालमा खण्डित भएकाले पृथ्वीनारायणको कार्यलाई एकीकरण मान्न सकिन्छ भन्ने प्रस्ट हुन्छ । अब यो गोर्खाको विस्तार हो भन्ने भनाइमाथि विश्लेषण गरौँ ।

पृथ्वीनारायणको सैनिक अभियान गोर्खाको विस्तार नभएर नेपालको एकीकरण हो भन्ने तथ्य निम्न बुँदाहरूले पुष्टि गर्न सकिन्छ :
क) एकीकृत (विस्तारित ?) राज्यको नाम उनले गोर्खा नराखेर ‘नेपाल’ राखे । यसलाई नेपाल नामको पुनस्र्थापना भन्नुपर्छ ।

ख) पृथ्वीनारायण भुरेटाकुरे राजा थिए भने कम्तीमा पनि गोर्खालाई राजधानी बनाउँथे । तर, कान्तिपुरलाई राजधानी बनाउने राजनीतिक र प्रशासनिक बुद्धिमत्तापूर्ण निर्णय लिएर उनले आफूलाई राष्ट्रनायकका रूपमा स्थापित र प्रतिष्ठित गराए ।

ग) उनले पराजित राज्यका जनता वा सेनालाई दास बनाएनन् । प्राचीनकालमा यसप्रकारको प्रचलन थियो । बरु विजित प्रदेशका जनताको रीतिथिति, जमिन, घर, गुठी आदिको सुरक्षाको प्रत्याभूति दिएका थिए ।

घ) पराजित राज्यको धर्म र संस्कृतिको सम्मान गर्नु पृथ्वीनारायण शाहको एकीकरण अभियानमा सैनिक श्रेष्ठतापछिको दोस्रो महत्वपूर्ण पक्ष थियो । काठमाडौंमा कुमारीको पूजा गरी आशीर्वाद लिएर गद्दीमा बस्नु, कुनै पनि मठमन्दिर, गुठी वा सांस्कृतिक–धार्मिक धरोहर नष्ट नगर्नुजस्ता कुराले उनीसँग खुँडाखुकुरी र बन्दुक मात्र होइन एकीकरण गर्ने हतियारका रूपमा सांस्कृतिक सम्मानभाव, धार्मिक सहिष्णुता र पूर्वाग्रहरहित व्यवहार पनि थियो ।

ङ) नेपाल राज्यको एकीकरणको आधार तयार पृथ्वीनारायणले गरे । त्यसपछि गोर्खाको हैसियत त्यही भयो जुन मकवानपुरको थियो अथवा भक्तपुरको थियो । अर्थात् गोर्खा स्वयम् विशाल नेपालमा विलय भयो । योभन्दा ठूलो प्रमाण के हुन सक्छ पृथ्वीनारायण शाहको विजय अभियान गोर्खाको विस्तार होइन नेपालको एकीकरण हो भन्ने ?

नुवाकोट र लामीडाँडाका काठ, भक्तपुरको माटो, कीर्तिपुरका डकर्मी, ललितपुरका सिकर्मीले कान्तिपुरमा बनाएको वसन्तपुर दरबारमा पृथ्वीनारायण बसे । अझ त्यसमाथि भक्तपुर दरबारमा जयस्थिति मल्लका पालादेखि (झन्डै चार सय वर्ष अघिदेखि) चलिआएको सूर्यचन्द्रअङ्कित झण्डा राष्ट्रिय झण्डाका रूपमा प्रतिष्ठित गराए । यी सबै तथ्य र उनका दिव्योपदेशको विश्लेषण गर्दा स्पष्ट हुन्छ– वास्तवमा पृथ्वीनारायण शाहमा राजामा हुने विशेषता मात्र होइन, नेतामा हुन सक्ने गुण मात्र होइन वा सेनापति र लडाकुसँग हुने शौर्य र रणनीतिक चातुर्य मात्र होइन, राजनेतामा हुने गुण र विशिष्टता (Statesmanship) पनि थियो ।

र, उनी अपूर्व व्यक्ति मात्र होइन अहिलेसम्मका अद्वितीय नेपाली व्यक्तित्वका रूपमा देखिन्छन् । उनले कुनै पनि मल्ल राजाको सालिक भत्काएनन्, त्यहाँका शासकले निर्माण गरेका कुनै पनि संरचना उनले नष्ट गरेनन् जसरी नेपाली क्रान्तिकारीहरूले नेपालमा साठीको दशकमा गरे । उनलाई थाहा थियो– पुरातात्विक महत्वको वस्तु नष्ट गरेर फेरि कहिल्यै पाउन सकिँदैन । ती बहुमूल्य मात्र होइन अमूल्य हुन्छन् । सांस्कृतिक क्रान्तिताका चीनमा साम्यवादी क्रान्तिकारीहरूले गरेको विनाश अफगानिस्तानको बामियानमा तालिवानीहरूले गरेको विनाशभन्दा ठूलो थियो । फरक यति छ, चीनमा पश्चात्ताप गरियो, आत्मआलोचना भयो । अफगानिस्तानमा पश्चात्ताप हुने सङ्केत कमसेकम अहिलेसम्म छैन । तर, खुसीको कुरा नेपालमा भने त्यो लक्षण देखापरेको छ । हिन्दुस्थानीहरूले ‘देर आए दुरुस्त आए’ यस्तैलाई देखेर भनेको हुनुपर्छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायणका सम्बन्धमा उनका कटु आलोचनाको पनि बोली फेरिँदै छ । यो राष्ट्रिय एकताका लागि शुभलक्षण हो । सबैलाई चेतना भया ।
[email protected]