सोलुखुम्बुमा भारतीय राजदूत

सोलुखुम्बुमा भारतीय राजदूत


ranjeet-ray-1

मित्रराष्ट्र भारतको सहयोगमा सोलुखुम्बुको नाम्चे गाविसस्थित थामेखोला जलविद्युत् परियोजनाको क्षमता अभिवृद्धि गरिएको छ । ६ सय ३० किलोवाटको उक्त विद्युत् आयोजनाको तीन सय किलोवाट क्षमता बढाई नौ सय ३० किलोवाट तुल्याइएको हो । छिमेकी भारतको चार करोड ४० लाख सहयोगमा सम्पन्न आयोजनाको गत आइतबार नेपालका लागि भारतीय राजदूत रञ्जित रायले उद्घाटन गरेका छन् ।

थामेखोला साना जलविद्युत् आयोजनामार्फत सगरमाथा क्षेत्रस्थित सगरमाथा नेसनल पार्क रहेको माथिल्लो खुम्बु इलाकावासीलाई बिजुली आपूर्ति गरिन्छ, जसअन्तर्गत खुम्जुङ र नाम्चे गाविसका अठार गाउँ पर्दछन् । सन् २०१३ को मे महिनादेखि सुरु गरिएको क्षमतावृद्धि कार्य सेप्टेम्बर २०१५ मा सम्पन्न भएको थियो । उक्त आयोजनाको क्षमता वृद्धिपछि सो इलाकामा बसोबास गर्ने पाँच हजार बासिन्दाले विद्युत् सेवा हासिल गरी आफ्नो व्यवसाय तथा आर्थिक अवस्थामा सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

ठूला, मध्यम तथा साना जलविद्युत् परियोजनामा आपसी सहयोगको आधारमा काम गर्ने नेपाल र भारतबीचको सहमतिअनुसार भारतले यस्ता कार्यमा नेपाललाई सहयोग उपलब्ध गराउँदै आएको छ । सोलुखुम्बुका खुम्जुङ र कुन्दे गाउँमा चार करोड भारतीय सहयोगमा खानेपानी आयोजनासमेत निर्माण चरणमा छ भने जिल्लावासीको स्वास्थ्योपचारमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा एम्बुलेन्स पनि भारत सरकारले सेलुखुम्बुलाई उपलब्ध गराएको छ ।

ranjeet-ray-2