पशुपति शिक्षा मन्दिरलाई तीन करोड सहयोग

पशुपति शिक्षा मन्दिरलाई तीन करोड सहयोग


नेपालको शिक्षा, स्वास्थ्य, विकास पूर्वाधारलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छिमेकी मित्रराष्ट्र भारतले सहयोगक्रमलाई निरन्तरता दिँदै कञ्चनपुरको पशुपति शिक्षा मन्दिरको नयाँ भवन निर्माणार्थ सहयोग उपलब्ध गराउने भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१२, रत्नपुरस्थित उक्त विद्यालयका आधुनिक भवन निर्माणका लागि भारत सरकारले तीन करोड रुपैयाँ सहयोग गर्न लागेको हो । सोसम्बन्धी सम्झौतापत्रमा नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, कञ्चनपुरका स्थानीय विकास अधिकारी राजेश पौडेल र पशुपति शिक्षा मन्दिरका प्रधानाध्यापक सुरेन्द्र ओझाबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत साना विकास परियोजना शीर्षकमा भारत सरकारबाट उपलब्ध हुने उक्त सहयोगबाट दयनीय हालतमा रहेको उक्त विद्यालयका लागि समयानुकूल अत्याधुनिक भवन निर्माण हुने सम्बद्ध पक्षले जनाएको छ । नौ वर्षअघि पूर्वप्राथमिक स्कुलको रूपमा स्थापित पशुपति शिक्षा मन्दिर सन् २०१२ मा प्राथमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । हाल दुई सय पचास छात्रछात्रा अध्ययन गरिरहेका विद्यालयको भौतिक संरचना अत्यन्त नाजुक रहेकाले अध्ययन–अध्यापनमा समस्या परिरहेको छ । कम्प्युटर कक्षलगायत उपयुक्त शैक्षिक माहोलसहित निर्माण गरिने नयाँ स्कुल भवनले सम्बन्धित विद्यालय एवम् जिल्लाकै शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा स्थानीय सरोकारवालाले गरेका छन् ।

सम्झौताअनुसार अबको पन्ध्र महिनाभित्रै निर्माण सम्पन्न हुने उक्त विद्यालय भवनका अलावा भारतीय सहयोगका अन्य चार परियोजना कञ्चनपुरमा निर्माणाधीन छन् भने विभिन्न ६ वटा परियोजना सम्पन्न भइसकेका छन्, जसको लागत एक्काइस करोडभन्दा बढी रहेको बताइन्छ । कञ्चनपुर जिल्लाको स्वास्थ्यसेवामा प्रभावकारिताका लागि भारत सरकारले नौवटा एम्बुलेन्स प्रदान गरेको छ ।

यसै क्रममा नेपालका लागि भारतका राजदूत रणजित रायले समाजको आधारशिलाका रूपमा महिलाको विशेष भूमिका रहने र महिला सशक्तीकरणबिना नेपालको विकास हुन कठिन पर्ने अभिव्यक्ति दिएका छन् । सिन्धुपाल्चोकको मेलम्चीस्थित बरुवाछाप महिला बहुउद्देश्यीय प्रशिक्षण सहकारी संस्थाको प्रथम साधारणसभाको अवसरमा सो सहकारी भवनको गत शनिबार एक कार्यक्रमका बीच शिलान्यास गर्दै राजदूत रायले गत वर्षको भूकम्पपछि राहत वितरणमा भारत सरकारले विभिन्न सहयोग गर्दै आएको स्मरण गरे । भवन शिलान्यास कार्यक्रममा राजदूत रायले बरुवा गाविसबाट विस्थापित भएर काठमाडौंमा अस्थायी शिविरमा बसोबास गर्न पुगेका भूकम्पपीडितसँगको भेटघाटपछि आफू उक्त सहकारी भवन निर्माणका लागि सहयोग गर्न पुगेको खुलासासमेत गरेका थिए । बरुवा गाविसका लागि स्वास्थ्य, शिक्षा, सडक, खानेपानीजस्ता विकासका पूर्वाधार निर्माण भारत सरकारको प्रमुख प्राथमिकतामा रहेकाले छिट्टै नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउने राजदूत रायको कथन थियो ।

उक्त भवन निर्माणका लागि अस्ट्रेलियाली महिलाले १० हजार डलर सहयोग गरेको र भारतले एउटा बोलेरो जिप सहयोग गरेको बरुवाछाप महिला बहुउद्देश्यीय प्रशिक्षण सहकारीका सदस्य शोभा योञ्जनले जानकारी दिइन् । कार्यक्रममा साउथ एसियन फाउन्डेसनका महासचिव राहुल बरुवाले भवन निर्माणका लागि सहयोग गर्ने बताउँदै निर्माणको अन्तिम चरणसम्म आर्थिक समस्या हुन नदिने प्रतिबद्धता जनाए ।

27-pr-pic