नयाँ शक्तिका नेतालाई स्वरोजगारसम्बन्धी अभिमुखीकरण

नयाँ शक्तिका नेतालाई स्वरोजगारसम्बन्धी अभिमुखीकरण


nayashakti production plan (1)

नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगार एवं स्वरोजगारसम्बन्धी जानकारीमूलक अभिमुखीकरण तालिम दिएको छ । पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेण्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेको बेला पार्टीले नेताहरुलाई सोसम्बन्धी ज्ञान दिएको सो पार्टीले जनाएको छ ।

देशको आर्थिक विकासमा टेवा पुग्ने गरी नयाँ शक्तिले देशका विभिन्न क्षेत्रहरुमा उत्पादन एवं निर्माणसम्बन्धी कार्यहरु गर्ने योजनासमेत बनाएको छ । पार्टीको उत्पादन तथा रोजगार÷स्वरोजगार अभियान समन्वय समितिले सोमबार काठमाडौंमा गरेको एक अभिमुखीकरण कार्यक्रममा उत्पादन तथा रोजगारसम्बन्धी अवधारणा ल्याएको हो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले मूलतः विकास र समृद्धिलाई नै लक्ष्य बनाएकोले त्यो लक्ष्य हासिल गर्नका लागि आर्थिक विकास र समृद्धिको कार्ययोजनामा नमूनायोग्य काम गर्नुपर्ने बताए । उनले पार्टीले लिएको उत्पादन, निर्माण र रोजगारसम्बन्धी नीतिको मनसाय प्रट्याउँदै त्यसले पार्टीमा क्रियाशील नेता तथा कार्यकर्तालाई व्यवसायिक कामप्रति अभ्यस्त बनाउने र त्यसबाट आम जनतामा उत्पादनसम्बन्धी पार्टीको कार्यशैली प्रति थप विश्वास आर्जन गराउने रहेको बताए । यस्तै, देशको आर्थिक विकासका लागि कृषिको आधुनिकीकरण एवं वैज्ञानिकीकरण, उद्योग कलकारखाना, पर्यटन, उर्जा क्षेत्रको विकास मुख्य आधार भएको उनले उल्लेख गरे । विकासका पूर्वाधारजन्य क्षेत्रहरुमा राज्यले लगानी अभिवृद्धि गर्ने र कृषि, पर्यटन, उद्योग, व्यापार आदि क्षेत्रहरुमा निजी क्षेत्र संलग्न भएर अर्थतन्त्रलाई गति प्रदान गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

पार्टीका केन्द्रीयस्तरका नेताहरु सम्मिलित उक्त अभिमुखीकरण कार्यक्रममा केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा संचालन गरिने विभिन्न परियोजनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा उत्पादन तथा रोजगार समितिका संयोजक बामदेव क्षेत्रीले पार्टीको उत्पादनसम्बन्धी अवधारणा प्रस्तुत गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणका लागि निजी र सरकारी स्रोतसाधनको प्रयोग गर्दै उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न किसिमका उत्पादनमुखी योजनाहरुले विदेशमा रहेका युवाहरुलाई अभिप्रेरणा जगाउने, पार्टीका अभियन्ता तथा जनतालाई क्रमशः आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यले उत्पादन र रोजगारसम्बन्धी कार्ययोजना लागू गर्न लागिएको बताए ।

अभिमुखीकरण कार्यक्रममा डा. जनक शाहले उत्पादनको कार्ययोजना र वित्तीय व्यवस्थापनको बारेमा व्याख्या गरेका थिए भने पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन, उद्यमशीलतासम्बन्धी विषय, मदन राईले एकीकृत अर्गानिक कृषि व्यवसाय, डा. प्रदिपमान तुलाचनले पर्यटन, श्रम तथा रोजगारसम्बन्धी विषय, नाथु चौधरीले एकीकृत कृषि व्यवसायसम्बन्धी विषय र डा. लक्ष्मी देवकोटाले जलविद्युत तथा नवीकरणीय ऊर्जासम्बन्धी विषयमा बोलेका थिए ।
nayashakti production plan (2)