अवैध मुद्रा ओसारपसारमा चिनियाँ पक्राउ परेपछि…

अवैध मुद्रा ओसारपसारमा चिनियाँ पक्राउ परेपछि…


5 chinese

अवैध विदेशी मुद्रासहित केही चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा परेका छन् । बा.१य १२३२ नम्बरको स्कार्पियो गाडीका चालक पेम्बा तामाङका साथ चिनियाँ नागरिकहरू चाङ तोङ फाङ, चौ स्लिडयन र चाउ लियाङ फङलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरूले ठूलो परिमाणमा अमेरिकी डलर, युरोलगायत विभिन्न देशका मुद्रा राजस्व छलेर अवैध रूपमा ओसारपसार तथा कारोबार गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले सम्भावित स्थान तथा पात्रमाथि निगरानी बढाएको थियो । महाशाखाबाट खटिएको प्रहरी टोलीले गत शनिबार चन्द्रागिरि नगरपालिका–३ नागढुङ्गामा शङ्कास्पद सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा उक्त गाडीमाथि शङ्का लागी जाँच गर्दा चिनियाँहरूको साथमा रहेको हेण्डब्याग तथा सुटकेसमा लुकाई ल्याएको यूएस डलर २,७४,१५१, युरो १,२८,८५०, अस्ट्रेलियन डलर ४,६५०, क्यानेडियन डलर २,५००, जापानी येन २२,०८,०००, चाइनिज युयान ३,१७२, स्वीस फ्रयाङ्क २,००० र हङकङ डलर ३० बरामद भएको प्रहरीले जनाएको छ । बरामद विदेशी मुद्राको नेपाली रुपैयाँ चार करोड एकहत्तर लाख तेह्र हजार सात सय नब्बे हुन आउँछ ।

वर्षौंदेखि यसरी अवैध धन्दा हुँदै आएको र यसमा चिनियाँहरूको संलग्नता बढ्दो अवस्थामा रहेको पनि स्रोत बताउँछ । आफ्ना नागरिकबाट यस्ता गतिविधि बढाइँदा पनि नेपालस्थित चिनियाँ दूतावासले आवश्यक चासो र कारबाही प्रक्रिया अवलम्बन गर्ने नगरेको आरोप कतिपयले लगाउन थालेका छन् । यस्ता गतिविधिले नेपालको अर्थ–व्यवस्थामा गम्भीर हिसाबले नकारात्मक असर पार्ने र नेपाल–चीन सम्बन्धमै आँच पुग्ने भन्दै लुम्बिनी फाउन्डेसनका अध्यक्ष सिद्धार्थ गौतमले कतै यस्ता अवैधानिक क्रियाकलापमा चिनियाँ दूतावासकै संलग्नता या आडभरोसा रहने गरेको त छैन भन्ने प्रश्न उठाएका छन् ।