‘दानवीर’ले बनाए निजी लगानीमा आँखा अस्पताल

‘दानवीर’ले बनाए निजी लगानीमा आँखा अस्पताल


4

गुल्मीमा एउटै व्यक्तिले करोडौँ रुपैयाँ खर्चेर जनतालाई आँखा अस्पताल बनाइदिएका छन् । गुल्मी, वामी–३ निवासी कृष्णहरि सापकोटाले एक रोपनी क्षेत्रफल जमिनका साथै एक करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुईतले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाइदिएका हुन् । ‘कृष्णहरि सापकोटा आँखा उपचार केन्द्र, वामी गुल्मी’को ब्यानरका साथ नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले भव्य समारोहबीच अस्पतालको उद्घाटन गरेका छन् । सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले उनको निवासमै पुगेर बाजागाजासहित फूलमाला र अबिरले स्वागत गर्दै उद्घाटन स्थलसम्म ल्याएका थिए ।

दाता सापकोटाका अनुसार सुरुमा नेत्रज्योति सङ्घ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव ग¥यो । त्यसबेला उपयुक्त जग्गा कतै नपाएपछि त्यो प्रस्ताव असफल हुने देखेर सापकोटाले ६ वटा सडकले छोएको आफ्नै एक रोपनी क्षेत्रफल जमिन दिने निर्णय गरे । त्यसपछि सरकारी रकम र दाताको पनि अभाव देखेपछि ‘भैगो, जग्गा त दिएँ भने भवन पनि आफैँ बनाइदिन्छु’ भन्दै उनले काम सुरु गरे । दुई छोरा र एक छोरीमध्ये एक छोरा र छोरी क्यानडा बस्ने र एकले राजधानीमै आर्थिक प्रगति गरिरहेका भए पनि कृष्णहरिले सन्तानबाट सहयोग नलिई आफ्नो पुख्र्यौली सम्पत्ति र स्वबर्कतबाट उक्त अस्पताल बनाएका अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

उद्घाटन कार्यक्रममा नेत्रज्योति सङ्घका केन्द्रीय सचिव भरतबहादुर चन्द, पश्चिमाञ्चल क्षेत्रीय संयोजक सागरप्रताप राणा, केन्द्रीय प्रवक्ता हरिप्रसाद शर्मा, कोरमान शाक्य, गोपालबहादुर सिंहलगायतको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै नेपाली काङ्ग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिनेश पन्थी, महिला जिल्ला समन्वयकी उपाध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नवराज भुसाललगायतले दानवीर कृष्णहरिको प्रशंसा गरेका थिए ।

उद्घाटनलगत्तै सापकोटाले नेपाल नेत्रज्योति सङ्घका जिल्ला शाखा अध्यक्ष शेरबहादुर थापालाई अस्पताल भवनको चाबी हस्तान्तरण गरे भने थापाले पनि तत्काल केन्द्रीय अध्यक्ष मिश्रमार्फत स्थानीय आँखा उपचार सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यलाई चाबी हस्तान्तरण गरेका थिए । जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाट सापकोटा र उनको परिवारप्रति कृतज्ञता जाहेर गरे भने परिवारको तर्फबाट सापकोटाकी नातिनी डाक्टर सुप्रियाले परिवारभित्रै डाक्टर बनाउने हजुरबुबाको सपना आफूले पूरा गरेको खुलासा गर्दै भनिन्, ‘…तर, मभन्दा पहिला खास डाक्टर त मेरा हजुरबुबा नै बन्नुभयो ।’
– चन्द्रकान्त खनाल