टेनिसकी एनीलाई करातेमा स्वर्ण

टेनिसकी एनीलाई करातेमा स्वर्ण


Sport 1

लनटेनिस खेलाडी एनी माथेमाले नवौँ कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्णपदक जितेकी छिन् । नेपाल सोतोकान कराते सङ्घ (एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको महिला ५५–६० केजीको फाइनलमा नेपालकी एनीले नेपालकै मनीषा खड्कालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । एनीकी जुम्ल्याहा बहिनी क्याथ्रिन पनि प्रतियोगितामा एक रजत र एक कांस्य पदक हात पार्न सफल भइन् । क्याथ्रिन पनि लनटेनिस खेलाडी हुन् ।

जुनियर महिला एकल कातामा नेपालकी स्निग्धा जोशी, जुनियर पुरुष एकल कातामा नेपालका सुसन, महिला ५०–५५ केजीमा नेपालकी जस्मिन खड्का, सिनियर पुरुष कातामा चेकोस्लाभियाका कृष, पुरुष ६०–६५ केजीमा नेपालका सुनील थारू, पुरुष २५–३० केजीमा नेपालका समीर तामाङ, पुरुष ३५–४० केजीमा नेपालका सुसन देवान, महिला ३५–४० केजीमा नेपालकी स्नेहा कार्की, पुरुष २०–२५ केजीमा नेपालका गौरव तामाङ तथा पुरुष ३०–३५ केजीमा नेपालका रजिन लामाले स्वर्ण जितेका थिए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको सिनियर महिला कातामा भारतकी खुश्बु बर्गाडे, महिला ४५–५० केजीमा नेपालकी महिमा सिंह, महिला ४०–४५ केजीमा नेपालकी सुनिता गुरुङ, पुरुष ४०–४५ केजीमा नेपालका अङ्कित श्रेष्ठ तथा पुरुष ४५–५० केजीमा नेपालका प्रकाश मगरले पहिलो स्थान हात पारेका थिए ।

विजेतालाई नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङ, आयोजक सङ्घका अध्यक्ष नरेशप्रसाद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा अन्तर्राष्ट्रिय ग्रेडिङबाट विभिन्न तहमा उत्तीर्ण हुन सफल निवासगोपाल वैद्य (छैटौँ डान), दिलेन्द्रगोविन्द वैद्य (पाँचौँ डान), ओमनारायण श्रेष्ठ (पा“चौँ डान), दिनेश बज्राचार्य (चौथो डान) तथा शत्रुघन महर्जन (चौथो डान) लाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।