राप्रपाको नेतृत्वमा को ?

राप्रपाको नेतृत्वमा को ?


RPP

आगामी फागुन ६ देखि ९ गतेसम्म हुन लागेको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा सुरु भएको छ । यही माघ ११ देखि राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाउन लागेका डा. प्रकाशचन्द्र लोहनी, नेता पशुपतिशमशेर जबरा र अध्यक्ष कमल थापाबीच प्रतिस्पर्धा हुने गरी आन्तरिक तयारी सुरु भएको राप्रपा सूत्रले जनाएको छ ।

हालसम्म पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मौन देखिए पनि पार्टीका प्रभावशाली नेताहरू, सुनीलबहादुर थापा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानलगायत डा. लोहनीको पक्षमा खुलेर लाग्ने लगभग निश्चित मानिएको छ । तीन शीर्ष नेतामध्ये एकले उम्मेदवारी फिर्ता लिने अवस्था बनेमा फिर्ता हुने उम्मेदवारले जसको समर्थन गर्छ, त्यसरी समर्थन पाउनेले बाजी मार्ने लगभग पक्का छ । अहिलेसम्मको आँकलनमा देशव्यापी रूपमा पशुपतिशमशेरभन्दा डा. लोहनी अगाडि रहेका राप्रपा कार्यकर्ताहरू बताउँछन् । राप्रपा केन्द्रीय सदस्य भरतजंग उप्रेतीका अनुसार पशुपतिशमशेर राणा हिन्दू गणतन्त्रको पक्षमा देखिएका छन् भने कमल थापा हिन्दू संवैधानिक राजतन्त्रका पक्षमा छन् । तर, डा. लोहनीले मुख खोलेका छैनन् । पार्टीका अधिकांश जिल्लाका हालसम्म गठित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको मानसिकता सरसर्ती बुझ्दा राजसंस्था पक्षधर कार्यसमितिको बाहुल्य रहेको र गणतन्त्रवादीको उपस्थिति न्यून देखिएको आधारमा नेता लोहनीमाथि कार्यकर्ताको भावनाअनुरूप आफूलाई खुलस्त गर्नुपर्ने दबाब बढेको बताइन्छ ।

विगतमा हिन्दू र राजतन्त्रको नारालाई सडकमै छोडेर कमल थापा सरकारमा गई गणतन्त्रको वकालत गरेका कारण मौकापरस्त छविका थापालाई पत्याउन नसकिने र पशुपतिशमशेर राणाले विगत १४ वर्षसम्म पार्टी सञ्चालन गर्दा पार्टीको उँभोभन्दा अधोगति भएको कारण यसपालिको नेतृत्व डा. लोहनीले लिने सम्भावना रहेको अर्का राप्रपा नेता रणबहादुर बलायर दाबी गर्छन् । आफ्नो राष्ट्रवादी छवि र विद्वताका कारण सधैँ नेपाली राजनीतिको केन्द्रमा रहन सफल र मूल नेतृत्वकर्ताका रूपमा ‘टेस्ट’ हुन बाँकी डा. लोहनीलाई यसपल्ट अध्यक्ष बनाउनुपर्ने धारणा व्यक्त गर्छन् युवा नेता ध्रुव रायामाझी पनि । यस आधारमा भन्नुपर्दा राप्रपाको आगामी महाधिवेशन सनसनीपूर्ण र मुलुककै राजनीतिमा अहम् फेरबदल ल्याउन सक्ने गरी टुङ्गिने सम्भावना बढेको छ ।