सेनामा किन हुँदै छ यस्तो ?

सेनामा किन हुँदै छ यस्तो ?


nepali Sena

नेपाली सेनाका रथीद्वय बलदेव महत र पूर्णचन्द्र थापाको पदावधि थप गर्न खोजिएको समाचार सार्वजनिक भएपछि सेनाभित्र हडकम्प मच्चिएको छ । नेपाली सेनामा अहिलेसम्म बरियताक्रमका आधारमा सेना प्रमुख नियुक्त हुने परम्परा रहिआएको छ र अहिलेसम्म पदावधि थप गरेर कसैलाई सेनापति बन्ने मार्ग प्रशस्त गरिएको छैन । रथीहरू बलदेव महत र पूर्णचन्द्र थापा पनि पदावधि थप नगरिएको अवस्थामा निकट भविष्यमै सेनानिवृत्त हुँदै छन् । म्याद थपिएको भए विनोज बस्न्यातले पनि सेनाप्रमुख बन्ने अवसर पाउने थिए र नेपालभूषण चन्द तथा पवनजंग पाण्डे प्रमुख बन्ने पनि निश्चित थियो । योग्य र क्षमतावान मानिने ती उच्चाधिकारीहरूको पदावधि थप नहुँदा कतिपयले दुःख माने पनि त्यसलाई नाजायज मानिएको थिएन ।

पूर्णचन्द्र थापालाई पवनजंग पाण्डेले विशेष कृपा गरी महत्वपूर्ण मानिने सम्भारको प्रमुखमा ल्याएका थिए । थापाप्रति वर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीको पनि विशेष सद्भाव रहेको बताइन्छ । थापा एक्लैलाई पदावधि थप गरिँदा अर्कै प्रकारको विवाद उत्पन्न हुने हुनाले बलदेव महतलाई पनि मौका दिन लागिएको सैन्य सूत्रको भनाइ छ । महत र थापाको पदावधि थप भएको अवस्थामा सेनापति बन्ने लाइनमा रहेका हालका मेजर जनरलहरूलाई ठूलो असर गर्नेछ र उनीहरू सोही पदबाट सेवानिवृत्त भई घर जान बाध्य हुनेछन् ।

सेनामा अत्यन्त क्षमतावान मानिने र भावी सेनापतिको उम्मेदवारको रूपमा रहेका रमिन्द्र क्षेत्री र हेमन्त कुँवरमध्ये क्षेत्रीलाई माओवादीले गोली प्रहार गरी शारीरिक रूपमा अशक्त बनाइदिएको छ र त्यही कारण क्षेत्री सेनापति बन्नबाट वञ्चित हुन पुगे । त्यसबेला अमेरिकामा पोस्टिङ भएका हेमन्त कुँवरलाई विदेशको राम्रो ठाउँमा जाने मौका पाएका कारण उनलाई बढुवा गरिएन र सोही कारण कुँवर अलिक पछाडि परेका हुन् । बलदेव महत र पूर्णचन्द्र थापाको पदावधि थप नगरिएको अवस्थामा कुँवर वा उनको व्याचका जनरलमध्येबाट सेनापति चयन हुने निश्चित मानिन्छ । अत्यन्त भद्र र सत्जन मानिएका सेनापति राजेन्द्र क्षत्रीले सेनाको ‘हाइ¥यार्की’मा गम्भीर धक्का पुग्ने प्रकारको निर्णय लिन किन लागेका हुन् सर्वत्र चासो र चिन्ताको विषय बन्न पुगेको छ ।