उच्च अदालतका न्यायाधीशमा को कसको मान्छे ?

उच्च अदालतका न्यायाधीशमा को कसको मान्छे ?


उच्च अदालतका

सत्तारुढ दलका नेता तथा न्यायपरिषद्का पदाधिकारी र सदस्यहरूमा आफ्नो मानिसलाई न्यायाधीश बनाउने प्रतिस्पर्धा चलेको पाइएको छ । नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदी नातामा न्यायपरिषद्का सदस्य पदम वैदिक पोखरेलका भाञ्जा पर्दछन् । यिनी एमालेका कार्यकर्ताका रूपमा समेत चिनिन्छन् । स्याङ्जा घर भई कानुनसचिवको हैसियतमा रहेका टेकप्रसाद ढुङ्गाना सुवास नेम्वाङ र अग्नि खरेलका अति निकटस्थ एमाले कार्यकर्ता हुन् । एमालेले भविष्यमा सपना मल्लपछिको प्रधानन्यायाधीश बनाउने दीर्घकालिक योजनाअनुसार ढुङ्गानालाई न्यायाधीश नियुक्त गरेको बुझिन्छ ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको मदिरा सेवन गर्ने पार्टनरका रूपमा ‘ख्याति’ कमाएका अच्युत विष्ट कल्याणको अवकाशपछि शोक मानेर २२ दिनसम्म मदिरा सेवन गरी तात्कालिक कार्यालय काठमाडौं जिल्ला अदालतमा हाजिरसम्म हुन नगएको बताइन्छ । त्यसरी लामो समयसम्म अदालतमा अनुपस्थित भएको थाहा पाएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले उनको बारेमा सोधी–खोजी गर्नुभयो भनेर जिल्ला न्यायाधीश पदबाट नै विष्टले राजीनामा दिएका थिए । तर, कल्याण श्रेष्ठको इच्छा विष्टको राजीनामा स्वीकृत नहोस् भन्ने भएकोले उनी पदमा यथावत् रहे र अहिले उच्च अदालतको न्यायाधीश बनाइएका छन् । तर, न्यायपरिषद्मा जगेडामा रहेका न्यायाधीश कोषकुमार नेम्वाङलाई भने मदिरा सेवन गर्ने गरेको अभियोग लागेका कारण उच्च अदालतमा मनोनयन गरिएन । दुई मदिरा सेवनकर्तामध्ये एउटाले एक्लै सेवन गर्ने गरेकोले उच्च अदालतमा मनोनीत हुने मौका नपाएको र अर्कोले कल्याण श्रेष्ठसँग सेवन गर्ने गरेकोले नियुक्तिका निम्ति योग्य मानिएको भन्ने न्यायवृत्तमा चर्चा छ ।

रामेछापका शेखरप्रसाद पौडेल एमाले नेता देवशङ्कर पौडेलका भाइ हुन् । त्यस्तै माओवादीनिकट ईश्वरराज आचार्य काभे्रपलाञ्चोक जिल्ला अदालतमा रहँदा दुर्गा सुवेदीका छोरा काठमाडौं विश्वविद्यालयमा पढ्ने क्रममा सुवेदीलाई बेलाबखत अदालतको आवासमा बसोबासको राम्रो व्यवस्था गराइदिने गरेकोले पनि उनलाई अहिले उच्च अदालतमा नियुक्त हुन सहज भएको बताइन्छ । रामप्रसाद ओली नातामा एमाले अध्यक्ष केपी शर्मा ओलीको भतिजका रूपमा चिनिन्छन् । दाङको तुल्सीपुरमा सहरजिस्ट्रारका रूपमा कार्यरत झापाका अग्निप्रसाद थपलिया कल्याण श्रेष्ठ र अग्नि खरेलको विशेष सिफारिसमा उच्च अदालत पुगेका हुन् । त्यस्तै, राजेश्वर तिवारी पनि कल्याण श्रेष्ठ र अग्नि खरेलको इच्छाअनुसार नै न्यायाधीश नियुक्त भएका हुन् । केपी ओली प्रधानमन्त्री रहँदा महान्यायाधिवक्ता बनेका हरि फुँयालका फर्म पार्टनर रहेका तिवारी वकिलभन्दा बढी एमाले कार्यकर्ताका रूपमा चिनिन्छन् । जुम्लाका कृष्णलाल भट्टराई नेपालगन्जमा स्टेसनरी पसल सञ्चालन गरी बस्ने गर्दथे । पहिले माओवादीको कोटामा परेर पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश भएका र म्याद नथपिएपछि पदमुक्त हुन पुगेका उनी अहिले माओवादीकै कोटाबाट उच्च अदालतको न्यायाधीश हुनेमा परेका छन् ।

हुम्लाका नरबहादुर शाही हाल पर्यटनमन्त्री भई आङछिरिङ शेर्पाको निर्देशनअनुरूप काम गर्ने जीवनबहादुर शाहीका भाइ हुन् । CELLERD नामक गैरसरकारी संस्थाको जागिरे तथा एमाले पार्टीको कानुन विभागको सदस्य रहेकी यमुना भट्टराई जिल्ला अदालतको न्यायाधीश नियुक्त हुनेबित्तिकै औपचारिक शपथग्रहणपश्चात् एमाले कार्यालय बल्खु पुगेर तात्कालिक पार्टी अध्यक्ष झलनाथ खनालको मार्ग निर्देशन लिने टोलीको ‘नेता’ हुन् । यसपटक अग्नि खरेल र कल्याण श्रेष्ठको इच्छाअनुसार उनलाई उच्च अदालतको न्यायाधीश बनाइएको छ । केही साताअघि सर्वोच्च अदालतको न्यायाधीश बनाइएका पुरुषोत्तम भण्डारीका सहोदर भाइ अच्युतप्रसाद भण्डारी कसको सिफारिसमा उच्च अदालतको न्यायाधीश बनाइएका हुन् बुझ्न सकिएको छैन । न्यायाधीशहरूलाई भनेर मुद्दा मिलाइदिन्छु भनी मुद्दाका एउटा पक्षसँग गरेको टेलिफोन संवाद सार्वजनिक भएपछि विवादमा आएका नातिबाबु लामिछाने एमालेको यति चर्का कार्यकर्ता मानिन्छन् कि उनको परिचय न्यायकर्मीभन्दा राजनीतिकर्मीकै रूपमा बढी छ । लामिछाने तिनै व्यक्ति हुन् जसले २०५२ भदौ १२ गते विश्वनाथ उपाध्यायद्वारा भएको फैसलाविरुद्ध अदालत परिसरमै कालो झण्डा लिएर विरोधमा उत्रिएका थिए ।

सुवास पौडेल सर्वोच्च अदालतका सोझा मानिने न्यायाधीश जगदीश पौडेलका छोरा हुन् । एमाले धौवलागिरी अञ्चल कमिटीको पूर्वसंयोजकसमेत रहेका पौडेल एउटा कलेजको सेयरहोल्डर हुँदा जालसाजी गरेर कलेज आफ्नो नाममा पारेको भनी पौडेलविरुद्ध बार काउन्सिलमा परेको उजुरी विचाराधीन रहेकै अवस्थामा उनी उच्च अदालतका न्यायाधीश बनाइएका छन् । स्मरणीय छ, कतिपय विवादास्पद मुद्दा टुङ्ग्याउने बेन्चमा कल्याण श्रेष्ठ जगदीश शर्मा पौडेललाई राख्ने गर्दथे र श्रेष्ठले छोरालाई न्यायाधीश बनाइदिन्छु भनी पौडेलसँग ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको चर्चा न्यायिक वृत्तमा चल्ने गर्दथ्यो । झापाका जनक पाण्डे कृष्णप्रसाद सिटौलाका निकटस्थ मानिन्छन् र उनी सिटौला उम्मेदवार भएको निर्वाचनमा प्रतिनिधि तथा वारेससमेत रहेका थिए । उच्च अदालत नेपालगञ्जका न्यायाधीश वीरबहादुर डाँगीका भाइ गोकर्ण डाँगी हुन् । उनी कांग्रेसनिकट मानिन्छन् । वीरबहादुर डाँगी पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीका ज्वाइँ हुन् । वासुदेव आचार्यको आफ्नै ल फर्म नभएको र उनी विगत आठ वर्षदेखि कानुन व्यवसायीको रूपमा कार्यरत पनि नरहेको बताइन्छ । आचार्य कांग्रेस नेता गोपालमान श्रेष्ठको जोडबलमा न्यायाधीश बनाइएका छन् ।

एकताका माओवादीका रूपमा चिनिएका आचार्य कहिलेदेखि कांग्रेस बनेका हुन् त्यसको जानकारी हुन सकेको छैन । नेपाल बार एसोसिएसनमा प्रशासकीय अधिकृतको रूपमा केही समय जागिर खाएका खुसीप्रसाद थारू अनमिन र राष्ट्रिय मानवअधिकार आयोगमा पनि कर्मचारीको रूपमा जोडिएका थिए र तराई आन्दोलनको छानबिन आयोगको सदस्यसमेत रहेका थारूले ‘ल प्राक्टिस’बाहेक धेरै प्रकारको काम गरेका छन् । थारूलाई विमलेन्द्र निधिको विशेष सिफारिसमा उच्च अदालतको न्यायाधीश बनाएको बुझिन्छ । न्यायाधीश बनाइएका मदन पोखरेल न्यायपरिषद् सदस्य पदम वैदिकका नातेदार मात्र नभई उनको ल फर्मका साझेदार पनि हुन् । श्रीमतीको नाममा सम्पत्ति सारेर सम्बन्धविच्छेदको कागज बनाउने पोखरेलले ठूलो सम्पत्तिकी मालिक्नी बनाइएकी एक लाहुरेकी पत्नीलाई आफ्नो बनाएको र लाहुरे पत्नीको नाममा भएको सम्पत्ति आफ्नो नाममा ल्याएपछि उनलाई पनि छोडेको विषय दाङकै जिल्ला प्रशासन कार्यालयमा उजुरी बनेर बसेको छ । उक्त उजुरीमाथि छानबिन भएर मुद्दाको टुङ्गो नलाग्दै मदनलाई वैदिकले माओवादी कोटाबाट उच्च अदालतको न्यायाधीश बनाइदिएका छन् । त्यस्तै, पूर्ववाईसीएल कमाण्डर टंकप्रसाद गुरुङले पनि माओवादीकै निकटताका कारण उच्च अदालतको न्यायाधीश बन्ने मौका पाएका छन् । पहिले एमाले कार्यकर्ताका रूपमा चिनिएकी तर दुई वर्षयता पति विमल ढकाल र डा. आरजु राणाका भाइ भूषण राणाबीचको घनिष्टता तथा व्यापारिक साझेदारी बनेका कारण ‘कांग्रेस बनेकी’ बबिता उपे्रतीलाई डा. आरजु राणाकै सिफारिसमा उच्च अदालतको न्यायाधीश बनाएको बुझिएको छ ।

पति माओवादीको होलटाइमर कार्यकर्ता भएकोले कास्कीकी शकुन्तला घिमिरेलाई माओवादीले न्यायाधीश बनाइदिएको बताइन्छ । नसरुल्लाह अन्सारी एकताका बारमा तालाबन्दी गरेर चर्चामा आएका थिए । उनी कांग्रेस नेता देवेन्द्रराज कँडेलका निकट मानिन्छन् । केही वर्षअघि शंखमूलमा मारिएका न्यायाधीश रणबहादुर बमका छोरा दीपेन्द्रबहादुर बमलाई राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको आग्रह र कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा उच्च अदालतको न्यायाधीश बनाइएको हो । बमको नियुक्तिमा सुदूरपश्चिम ऐक्यबद्धताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बुझिन्छ । माओवादी कोटामा परेर न्यायाधीश बनाइएकी राज्यलक्ष्मी बज्राचार्य माओवादी नेता चण्डेश्वर श्रेष्ठको ल फर्ममा काम गर्दथिन र यिनी माओवादी कोटामा परेर न्यायाधीश बनेकी भए पनि उनको नियुक्तिमा कल्याण श्रेष्ठको विशेष हात रहेको बताइन्छ । श्रेष्ठको नातेदारसमेत भएकीले राज्यलक्ष्मीलाई न्यायाधीश बन्न सजिलो भएको समाचार सूत्रले जनाएको छ ।

न्यायाधीश बनाइएका सुदर्शनदेव भट्ट कांग्रेस नेता रमेश लेखककी फुपूका छोरा हुन् । माओवादी नेता मुक्ति प्रधानका भाइ श्यामजी प्रधान माओवादीकै कोटामा न्यायाधीश बनेका छन् । त्यस्तै, मुनिन्द्रप्रसाद अवस्थी कुनै बेला शेरबहादुर देउवाको स्वकीय सचिव रहिसकेका व्यक्ति हुन् भने हरि पौडेलचाहिँ नातामा कांग्रेस नेता रामचन्द्र पौडेलका भजित हुन् । राकेशकुमार निधिले काका विमलेन्द्र निधिको जोडबलमा न्यायाधीश बन्न पाएका छन् भने न्यायपरिषद्का सचिव कृष्ण गिरीको सालो धु्रवराज नन्दले भिनाजुुको आशीर्वाद पाएको बताइन्छ ।