राप्रपाको राष्ट्रिय अध्यक्ष बन्दै डा. लोहनी

राप्रपाको राष्ट्रिय अध्यक्ष बन्दै डा. लोहनी


Prakash chandra Lohani

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागू गरिएको चक्रीय प्रणालीअनुसार पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि सकिएको छ । लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व छ–छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि गत साउन ११ देखि अध्यक्ष भएका राणाको समेत माघ ११ मा अवधि पूरा भएको हो ।

तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता डा. लोहनीले गर्ने भनी गरिएको सहमति पार्टी एकीकरण हुँदा पनि प्राथमिकतामा राखिएको थियो । नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा. लोहनीले राष्ट्रिय पदको जिम्मेवारी ११ गते मंगलबारबाटै लिनुपर्ने भएपनि विशेष कारणवश १२ माघमा मात्र राणाले लोहनीलाई पद हस्तान्तरण गर्ने भएका छन् । गत मङ्सिर ६ गते दुवै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बस्ने बैठकले डा. लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

आगामी फागुन ६ देखि ९ गतेसम्म राप्रपाको महाधिवेशन काठमाडौं भृकुटीमण्डपमा हुने भएको छ । सोका लागि आवश्यक तयारीका कार्य जारी रहेको जनाइएको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष डा. लोहनीले करिब एक महिना मात्र पार्टीलाई नेतृत्व दिनेछन् भने आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको बताइन्छ ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ । सोही प्रयोजनका लागि प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अतिथि स्वागत तथा व्यवस्थापनलगायत १२ उपसमिति गठन भएका छन् ।