लुम्बिनी अञ्चल अस्पतालको कायापलट

लुम्बिनी अञ्चल अस्पतालको कायापलट


lumbini

स्तरवृद्धिसँगै लुम्बिनी अञ्चल अस्पतालमा सुधारका नयाँ काम अघिबढेपछि अस्पतालको प्रशंसा हुन थालेको छ । पछिल्ला दिनमा अस्पतालमा आएको सुधारको बिरामी तथा तिनका परिजनले प्रस्टै महसुस गर्न पाएका छन् । पाल्पाबाट लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार गर्न आएकी कमला आचार्य आफूले पहिले लाइन बस्दा पाएको सास्ती सम्झिँदै हाल व्यवस्था गरिएको टोकन प्रणालीको खुलेर प्रशंसा गर्छिन् । यस्तै, उपचाररार्थ कपिलवस्तुबाट आएका अनुप पोखरेल पनि पहिलेको तुलनामा अस्पतालको उपचार सेवामा भारी अन्तर आएको बताउँछन् । उक्त अस्पतालमा अब सर्वसाधारणले पनि सहज उपचार पाउने अवस्था सिर्जना भएछ भन्दै उनले खुसी व्यक्त गरे ।

देवदह रुपन्देहीका ज्येष्ठ नागरिक कमल खनाल सरकारले निःशुल्क उपचार र औषधि दिन्छ भने पनि त्यो प्राप्त गर्न तथा उपचारमा समस्या परेको थियो, तर अहिले व्यवस्थित तरिकाले सामाजिक सेवा ईकाईबाट लिन पाएकोमा खुसी लागेको बताए । सुधारका लागि भएका प्रयासलाई सेवाग्राहीले मात्र नभएर अस्पतालका कर्मचारी स्वयम्ले पनि आत्मसात् गरेका छन् ।

दैनिक एक हजारसम्म बिरामी आउने लुम्बिनी अञ्चल अस्पतालमा भएको सुधारबारे बताउँदै अस्पतालका प्रमुख डा. विकास देवकोटाले अस्पतालमा आफ्नै कर्मचारीलाई कर्तव्य निर्वाहमा प्रेरित गर्ने र स्वयम्सेवकलाई सकभर काममा नलगाउने नीति अवलम्बन गरिएको जानकारी दिए । निःशुल्क सेवा दिने भन्दै भोलिन्टियरको सहयोग लिँदा उपचारमा खेलबाड भएको डा. देवकोटाको बुझाइ छ । कर्मचारी नपुग भए नयाँ भर्ना गरिने तर ‘निःशुल्कवाला’को सेवा नलिनेमा उनले जोड दिए ।
lumbini dr bik


टोकन प्रणाली

दैनिक आठ सयदेखि हजार बढीसम्म बिरामी आउने अस्पतालमा बिरामी व्यवस्थापन गर्न गाह्रो परिरहेको परिवेशमा टोकन प्रणाली लागू गरिएपछि बिरामी र अस्पताल दुवै पक्षलाई सुविधा भएको अस्पताल प्रमुख देवकोटाको कथन छ । टिकट लिन बिहान ८ बजेदेखि लाइन बस्नुपर्ने भएकाले धेरैलाई असहज भएको थियो, टोकन प्रणालीले त्यो असहजता दूर गरिदिएको छ ।

अब आफ्नै फार्मेसी
सरकारले लुम्बिनी अञ्चल अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले समिति गठन गरेर एक महिनाभित्र काम सुरु गर्ने भएको छ । यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने प्रक्रिया सुरु भइसकेको छ । फार्मेसी सञ्चालनका लागि सरकारले १५ लाख टोकन मनी दिएको देवकोटाले बताए ।

‘१०–५’ नियममा कडाइ
यस अस्पतालमा दशदेखि पाँच बजेसम्म सेवा दिने नियम कार्यान्वयनमा लापरबाही देखिँदै आएकोमा अब १०–५ को नियम कडाइसाथ लागू गरिने बताइएको छ । केही चिकित्सकको आनाकानीका कारण सेवामा ढिलाइ भएको अस्पतालप्रमुख डा. देवकोटा खुलासा गर्छन् । निजी क्लिनिकमा व्यस्त रहने चिकित्सकको अवरोधका कारण ढिलासुस्ती भएको खुलासा गर्दै देवकोटाले सरकारको निर्देशन पालना नगरे कारबाहीका लागि स्वास्थ्य विभागमा सिफारिस गर्ने बताए । कर्तव्य बिर्सेर बिरामीमाथि खेलवाड नगर्न र स्वास्थ्यसेवा सहज तरिकाले प्रदान गर्न स्वास्थ्यकर्मीलाई उनको आग्रह छ ।

ल्याब र इमर्जेन्सीमा सुधार
ल्याबमा आउने बिरामी निजीमा लाने, १२ नबज्दै ल्याब र इमर्जेन्सी बन्द गर्नेजस्ता समस्या रहेको गुनासो आएपछि अस्पतालले ल्याबलाई सफ्टवेयरमार्फत सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । ल्याबमा सफ्टवेयर राखेपछि अहिले आम्दानीसमेत वृद्धि भएको अस्पतालका फार्मेसी–प्रमुख जनस्वास्थ्य निरीक्षक नमनारायण बेलवासे बताउँछन् । अहिले इमर्जेन्सीमा दुईजना डाक्टरले सेवा दिएका छन् । अनमी, अहेव र चिकित्सकले सहज तथा सुलभ रूपमा सेवा दिएको देवकोटाको दाबी छ । दैनिक ५० देखि सयजना र एक बेडमा तीनजना राखेरसमेत उपचार गर्ने गरेको इमर्जेन्सी इन्चार्ज बबिता बजिमयले बताइन् ।

एनआईसीयू निःशुल्क
शिशु मृत्युदर घटाउन अस्पतालमा एनआईसीयू निःशुल्क गरिएको छ । वार्षिक १० हजारभन्दा बढी सुत्केरी हुने यस अस्पतालमा यो सेवा सुरु भएपछि शिशु मृत्युदर घट्ने अस्पतालको दाबी छ ।

दुई सय औषधि निःशुल्क
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सञ्चालनमा आएको सामाजिक सेवा इकाइ पनि प्रभावकारी भएको छ । ७० प्रकारका औषधि निःशुल्क दिने सरकारी घोषणा भए पनि लुम्बिनी अञ्चल अस्पतालले दुई सय प्रकारका औषधि निःशुल्क वितरण गरेको छ । गत वर्षदेखि सञ्चालनमा आएको यस सामाजिक सेवा इकाइबाट गरिब, असहाय, अपाङ्ग, ज्येष्ठ नागरिकले सेवा लिएका छन् । सामाजिक सेवा इकाइका प्रमुख अच्युत भट्टराईले एक सय तीस प्रकारका औषधि अस्पतालले आफैँ किनेर बिरामीलाई निःशुल्क प्रदान गर्ने गरेको दाबी गरे ।
– चन्द्रकान्त खनाल