तराई तताउन एमालेको अभियान : सुखानीदेखि महेन्द्रनगरसम्म

तराई तताउन एमालेको अभियान : सुखानीदेखि महेन्द्रनगरसम्म


cpn-uml-party-office

प्रतिपक्षी नेकपा एमालेले तराई–मधेसको वातावरण आफ्नोअनुकूल बनाउन तराई–मधेस अभियान सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । एमालेले आगामी फागुनको २१ गते झापाको सुखानीमा एक सभा गरी अध्यक्ष केपी ओलीबाट तराई–मधेस अभियान सुरु भएको घोषणा गर्ने कार्यक्रम तर्जुमा गरेको छ । सुखानीबाट एमालेका एक हजारभन्दा बढी नेता तथा कार्यकर्ता पश्चिमतर्फ लाग्ने र प्रत्येक पाँचदेखि सात किलोमिटरको दूरीमा जनसभा गर्दै जाने योजना उक्त पार्टीले बनाएको छ । अभियानमा एमालेका पाँच प्रमुख नेता केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलको निरन्तर सहभागिता रहने जनाइएको छ । ठाउँ–ठाउँमा गरिने सभामा कम्तीमा पाँच हजार मानिसको सहभागिता गराउन एमालेले मातहतका निकायमा निर्देशन जारी गरेको छ । तराई अभियानको समापन चैत ७ गते महेन्द्रनगरमा पुगेर गरिने भएको छ । यस अभियानबाट मधेस–तराईमा एमाले पार्टीबारे रहेको भ्रम हटी आफ्नो पक्षमा वातावरण बन्ने र यसले सम्भावित चुनावमा पार्टीलाई लाभ पुग्ने विश्वास एमाले नेतृत्वले गरेको छ ।