निछट्टा खेलकुदमन्त्री र डरपोक काङ्ग्रेसी

निछट्टा खेलकुदमन्त्री र डरपोक काङ्ग्रेसी


Shree Bikram Bhandari

■ श्रीविक्रम भण्डारी

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा अवैधानिक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नाम अतिथिका रूपमा सम्बोधन गरिएपछि एकाएक हंगामा मच्चियो । सातौँ मूल आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली स्वयम् नै चकित परेका थिए । यो घटनापश्चात् काङ्ग्रेसीहरू विरोधमा उत्रिँदै मञ्च छाड्न बाध्य भएका थिए । तर, एमालेहरूमा भने कुनै युद्ध फतेह गरेको (युद्ध जितेको) जोस पैदा भयो । यसर्थमा कि उनीहरूको षड्यन्त्र सफल भएको थियो । उनीहरू श्रेष्ठलाई मञ्चमा आसीन मात्र नगराई अतिथिको पगरी गुथाउनसमेत सफल भएका थिए । जुन देशको कानुनविपरीत थियो, सर्वोच्चको आदेशको अपहेलना थियो, सम्माननीय राष्ट्रपतिको मर्यादालाई चुनौती थियो । र पनि, सातौँको उद्घाटन समारोहमा कानुनलाई धोती लगाउने कार्य गरियो । त्यसपछि सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र उद्घाटन समारोहमा उफ्रिने काङ्ग्रेसीहरू किन मौनब्रतमा बसे, घटनाको सत्यतथ्यबाहिर ल्याउने किन प्रयास गरेनन् ? त्यसको पर्दाफास गर्नु जरुरी भएको छ ।

गतसाता घटना र विचारले ‘खलनायकको खोजी कसले गर्ने ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचारले सनसनी फैलायो, तर खलनायकको पहिचान हुन भने सकेन । सबैले अड्कल र अनुमानकै भरमा नम्बर एक खलनायकको उपाधि पाएका समारोहका सचिव कुलबहादुर थापालाई नै यो घटनाको वास्तविक खलनायक भएकोमा लालमोहर लगाए । तर, खाएको विष पो लाग्छ त, नखाएको लाग्दैन भनेझैँ जब कुलबहादुरले यो घटनाको सत्यताको राज खोले, त्यसपछि वास्तविक ‘खलनायक’ को थियो ? त्यसको पर्दाफास भएको छ । त्यसपछि खेलकुदमन्त्री श्रीपाली किन नकचरोको भूमिकामा देखिए ? काङ्गे्रसका पदाधिकारीले यो घटनामाथि किन पर्दा हाल्ने दुस्साहस गरे ? किन लडाइँ नै नलडी मैदानबाट भागे र छेरुवाको भूमिकामा देखिए ? खेलप्रेमी पाठकलाई जानकारी गराउन आवश्यक छ ।

घटना घट्नेबित्तिकै मन्त्री श्रीपालीले कुलबहादुर थापालाई बोलाएर जानकारी मागेका थिए । थापाले पनि सा“चो कुरो बताउ“दै षड्यन्त्र र रहस्यको गा“ठो मन्त्रीसामु फुकाएका थिए । उनले यो घटनाको जिम्मेवार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा भएको र उनैले यो कार्य गर्न लगाएको मन्त्री श्रीपालीलाई बताएका थिए । सत्यतथ्यको जानकारी पाइसकेका श्रीपालीले त्यसपछि के गरे, त्यो घामजस्तै छर्लङ्ग छ । अहिले श्रीपालीले लामालाई कारबाही गर्नुको साटो राजनीतिक चलखेलको संज्ञा दिँदै नकचरोको भूमिका देखिएका छन् । उनको यो हर्कतले कतै यो घटनामा उनको पनि सा“ठगा“ठ त थिएन, शङ्का गर्नु स्वाभाविकै भएको छ । अन्यथा कार्यक्रममै नभएको कुरा कसरी भयो त ? कुन उद्देश्यबाट प्रेरित भएर श्रेष्ठको नाम उच्चारण गरियो ? त्यसको छानबिन अध्यक्ष र मन्त्री भएको नाताले श्रीपालीले गर्नुपर्छ कि पर्दैन ? पर्छ भने उनले आफ्नै सामुन्ने घटेको घटनाप्रति किन आ“खा चिम्लिरहेका छन् त ? के लामासँग डराएर यो घटनालाई अनदेखी र अनसुनी गरेका हुन् ? सा“च्चै यो खोजीको विषय बनेको छ । अन्यथा राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा यस्तो घटना घट्दासमेत श्रीपालीले जाबो छानबिन समितिसमेत गठन नगर्नुको पछाडिको रहस्य के हो त ? अहिले उनको मौनताप्रति षड्यन्त्रको गन्ध आएको छ । श्रीपालीले किन अहिलेसम्म नकचरो भूमिका निभाए ? त्यसको पर्दाफास हुनु पनि जरुरी भइसकेको छ । अन्यथा खेलकुदमा अनुशासनलाई पोलेर खाइसकेकाहरूले भविष्यमा योभन्दा अर्को सङ्गीन उपद्रो नगर्लान् भन्न सकिँदैन । मन्त्री श्रीपालीलाई यो घटनाको खलनायकबारे पहिल्यै जानकारी भएर पनि किन उनले अनदेखी र अनसुनी गरे त्यो आफ्नो ठाउ“मा छँदै छ, त्यसको आज नभए पनि भोलि अवश्य जवाफ दिनपर्नेछ श्रीपालीले । तर, अब यो घटनाबाट पर्दा झरिसकेको छ, अब उनले के गर्छन् त्यो हेर्नलायक बनेको छ ।

दलजित श्रीपाली

पूर्वाञ्चलको मसिहा, काङ्ग्रेसको युवा नेता किशोर राई, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल र लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन उद्घाटन समारोहमा त यो घटनाविरुद्ध बुरुक्क–बुरुक्क उफ्रिए । आकाश–पाताल एक भएको जस्तै गरे । मन्त्री श्रीपालीलाई घेरेर तपार्इंले जवाफ दिनुपर्छ भने । मन्त्रीको पसिनासमेत निकाले । तर, विडम्बना ! उनीहरूको चालामाला रात गए, बात गए जस्तै भयो । हिजोको उनीहरूको हुङ्कार र गर्जन रातभरमै छेपारोको रङजस्तै बदलियो । हिजोसम्म आकाशको तारा खसाल्ने उनीहरूको प्रतिबद्धता भोलिपल्ट भिजेको मुसामा परिणत भयो । कारण केही थिएन, कारण ठूलो पनि थियो । त्यो के भने जसले यो घटना घटाएका थिए त्यसको नायक खलनायक जे भने पनि लामा टेन्डी शेर्पा थिए । उनको नाम सुन्नेबित्तिकै काङ्ग्रेसी पनि लुतेकुकरको रूपमा प्रस्तुत भए । सा“चो अर्थमा भन्नुपर्दा लामाको नाम सुनेर काङ्गे्रसीहरूले डरले छेरेका थिए । परिणाम, उनीहरूले यो मुद्दा उठाएर विवाद गर्नुभन्दा यो मुद्दाको बहानामा कसरी व्यक्तिगत फाइदा लिन सकिन्छ भनेर लागेका थिए । त्यसपछिको कुरो छर्लङ्ग छ, गाडीमा सरर्र कहिले झापा, कहिले विराटनगर, कहिले इटहरी, कहिले धरान, कहिले धनकुटा भ्रमणभत्तासमेत । योभन्दा के चाहियो, एमाले र माओवादीले मोज गरिरहेको ठाउ“मा उनीहरूले पनि मोजमस्ती गर्न पाए । सातौँलाई विवादरहित र भ्रष्टाचारमुक्त बनाउन सफल भए । यदि त्यसो होइन भने लामाको नाम थाहा पाएर पनि अहिलेसम्म मौन किन बसे त्यो जवाफ उनीहरूले दिनुपर्छ । भागेर कदापि हिँड्नुहुँदैन ।

कानुनी रूपमा लामा टेन्डी शेर्पा खलनायक भए पनि उनी आफ्नो रणनीति र उद्देश्यमा जसरी सफल भए त्यसले उनलाई ‘हिरो’ बनाएको छ । यसर्थमा कि उक्त उद्घाटन समारोहमा ‘जिरो’को हैसियत राख्ने जीवनराम श्रेष्ठलाई उनले महानायक बनाइदिए । अन्य अतिथि र स्वयम् आफूलाई समेत बाइपास गर्दै श्रेष्ठको नाम उच्चारण गराउनु कुनै पहाडभन्दा चुनौती थिएन । उनले साम, दाम, दण्ड, भेद चारै नीतिको अवलम्बन गर्दै श्रेष्ठको उपस्थितिलाई वैधानिक बनाइदिए । यो एमालेको एउटा गुटको सफलता हो भन्दा सायदै कसैले नकार्ला । तर, लामाले जुन कार्य गरे त्यो केवल शक्तिको आडमा गरे नियम–कानुनलाई धोती लगाइदिए । के कानुनी राज्यमा शक्तिको प्रदर्शन उचित हो त ? यसको जवाफ कसले दिने ? गैरकानुनी कार्य गर्नेलाई कानुनी कठघरामा कसले उभ्याउने ? त्यो कानुनी राज्यका लागि ठाडो चुनौती बनेको छ । यो घटनाप्रति सम्बन्धित निकायले मौनता सा“ध्नु, राज्यले यसको विरुद्धमा कुनै कदम नचाल्नुले खेलकुदको प्रमुख नारा ‘अनुशासन’माथि ठूलो आक्रमण हो । ‘जो अगुवा उही बाटो……’ अर्थात् खेलाडीलाई अनुशासनको पाठ सिकाउने पदाधिकारीले नै राष्ट्र प्रमुखको सामन्नेमा नै अनुशासनको खिल्ली उडाउ“छन् भने भोलि खेलाडीले यो घटनाबाट के पाठ सिक्लान्– त्यो आफैँमा गम्भीर विषय बनेको छ । तसर्थ विकास, अनुशासन र गतिशीलताको नारा बोकेको खेलकुदमा जसरी शक्तिको आडमा राज्यको कानुनलाई धोती लगाउँदै खेलकुदको मूल्य–मान्यता र मर्ममाथि प्रहार भएको छ, त्यो आफैँमा लज्जास्पद छ । यो कुरा आज पदमा रहेका र भोलि पदमा नरहने खेलकुदको पदाधिकारीले बुझ्नुपर्ने जरुरी छ । आज शक्तिको भरमा गरिएका गैरकानुनी हर्कत भोलि अन्यले दोहो¥याउने पक्का छ । त्यसबाट व्यक्तिविशेष र तिनका हनुमान्लाई आंशिक रूपमा फाइदा त होला, तर खेलकुद र खेलाडी भने बिचरा साबित हुनेमा दुईमत छैन । तसर्थ खेलकुदलाई खेलमय बनाऔँ, खेलकुदको गरिमा र उत्कृष्टताको साखलाई बचाऔँ । खेलकुदमा गैरकानुनी हर्कत गर्न बन्द गरौँ ।

कुलबहादुरले घटनाको दोषीको रूपमा लामा टेन्डी शेर्पाको नाम सार्वजनिक गर्दा यहा“ लामाले आपत्ति प्रकट गर्न पनि सक्छन् । लामाले आरोपको खण्डन गर्न पनि सक्छन् । उनी लामाको कोभाजनको सिकार बन्न पनि सक्छन् । तर, यो कुरो सा“चो हो, उद्घाटन समारोहमा मात्र नभई समापन समारोहमा समेत लामाले श्रेष्ठको नाम उच्चारण गर्नका लागि दबाब दिएको स्रोतले दाबी गरेको छ । श्रेष्ठको नाम लिँदा उद्घाटन समारोहमा उत्पन्न भएको विवादलाई ख्याल गर्दै त्यसो नगरिएको मात्रै हो । जसले उपराष्ट्रपतिको मानमर्दन हुनबाट बचेको थियो । अन्यथा समापन समारोहमा पनि श्रेष्ठको नाम गुन्जने पक्का थियो ।