‘सहिद’ शब्दकै मानमर्दन

‘सहिद’ शब्दकै मानमर्दन


Binod Nepal 3

■ विनोद नेपाल

सहिद घोषित भएका कतिपयको योगदान खोज्दा केही नपाइने स्थिति छ । निरङ्कुशता र एकतन्त्रीय शासनविरुद्ध लडेका तथा शासकहरूका सामु आत्मसमर्पण नगरी जानाजान मृत्युवरण गर्ने नै सहिद हुनेमा जथाभावी यस्तो सम्मान दिने गलत प्रवृत्तिले वास्तविक सहिदको योगदान उपेक्षित भएको छ । यस्तो परिवेशमा औपचारिकता पूरा गर्न श्रद्धाका बनावटी शब्द खर्चेर मात्र वास्तविक सहिदको सम्मान गर्न सकिँदैन ।

आफ्नो जीवनको कुनै परवाह नगरी राष्ट्र र जनताका पक्षमा बलिदान गर्नेहरू वास्तवमै महान् हुन्छन् । तिनको स्मरण र सम्मान गर्नु समस्त देशवासीको कर्तव्य हुन्छ । यस्तै महान् सहिदहरू जसले निरङ्कुश जहानिया“ शासकको पञ्जाबाट नेपालीलाई मुक्त गर्न ज्यानको बाजी लगाए, तिनको स्मरणका साथै मुलुकमा हालसम्म राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा बलिदान हुनेहरूसमेतको स्मरणमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने परम्परा रहेको छ भने माघ १६ गतेको दिनलाई ‘सहिद दिवस’को रूपमा मनाइन्छ ।

वि.सं. १९९७ माघ १० गतेदेखि १५ गतेसम्म शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तात्कालीन शासकले मृत्युदण्ड दिएका हु“दा यिनै अमर व्यक्तित्वको सम्झनामा ‘सहिद सप्ताह’ मनाउने गरिएको हो । यस अवसरमा राष्ट्र र जनताको भलाइका लागि बोल्दा वा काम गर्दा शहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदहरूको सम्झना गर्ने गरिएको छ । स्मरणीय छ, राणा शासकहरूले यी महान् सहिदहरूमध्ये शुक्रराजलाई माघ १० गते टेकु पचली, धर्मभक्तलाई माघ १३ गते सिफल तथा गंगालाल र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा झुन्ड्याएर गोली हानी मृत्युदण्ड दिएका थिए ।

नेपालको इतिहासमा पटक–पटक भएका आन्दोलनमा थुप्रै सपुतले मृत्युवरण गरेका छन् । जनतामाथिको शोषण, दमन, अन्याय एवम् अत्याचार सहन नसकी शासकहरू र शासनप्रणालीका विरुद्ध आवाज उठाउ“दा मारिएका ती महान् सहिद समस्त नेपालीका आस्थापुञ्ज हुन् । तर, आज सहिदको योगदान ओझेलमा पर्दै छ । सहिदको परिभाषा, मापण्दड र गरिमाबारे राज्य स्पष्ट हुनुपर्नेमा त्यसको अभावमा सहिदको अपमान भइरहेको छ । यस्ता महान् आत्माहरूको योगदानको सम्मान र शहादतको गरिमा बचाउने दायित्व वर्तमान पुस्ताको र त्यसमा पनि राजनीतिक नेतृत्व र मुलुक हा“क्नेहरूको हो । यस्तो संस्कृतिको विकास हुन भने सकेको छैन, जुन विडम्बनाको विषय हो ।

अझ दुर्भाग्य त पछिल्ला दिनमा जथाभावी सहिद घोषणा गर्ने प्रचलनले सहिदको अपमान र अवमूल्यन भइरहेको छ । सबैभन्दा लज्जास्पद त सहिद घोषित भएका कतिपयको योगदान खोज्दा केही नपाइने स्थिति छ । निरङ्कुशता र एकतन्त्रीय शासनविरुद्ध लडेका तथा शासकहरूका सामु आत्मसमर्पण नगरी जानाजान मृत्युवरण गर्ने नै सहिद हुनेमा जथाभावी यस्तो सम्मान दिने गलत प्रवृत्तिले वास्तविक सहिदको योगदान उपेक्षित भएको छ । यस्तो परिवेशमा औपचारिकता पूरा गर्न श्रद्धाका बनावटी शब्द खर्चेर मात्र वास्तविक सहिदको सम्मान गर्न सकिँदैन भन्ने सम्बन्धित सबैले र खासगरी सत्तासञ्चालकहरूले बुझ्नुपर्ने विषय हो । तर, विडम्बना, त्यस्ता सपुतको सही लगत नै राज्यस“ग छैन ।

यस्तै निरङ्कुशताविरुद्ध र नेपाली मात्रको स्वतन्त्रता र समुन्नतिका पक्षमा सहिदहरूले गरेको त्याग, तपस्या र बलिदानको सम्मान गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । देश र जनताका लागि होइन, कुनै दलविशेषको स्वार्थमा प्रयोग भएकालाई पनि ‘सहिद’को उपाधि दिइएको छ, । कुनै दलस“ग आबद्ध भएको व्यक्ति चाहे जुनसुकै घटनामा मरेको होस् ‘सहिद’ घोषणाको माग राख्ने र घोषणा गर्नेले पनि नानाथरी विशेषणका सहिद घोषणा गर्ने तथा निश्चित रकम दिने प्रचलन पछिल्ला दिनमा बढेको छ, जसले सच्चा सहिदको अपमान मात्र भएको छैन ‘सहिद’ शब्दकै अपमान र दुरुपयोग भएको छ ।
देश र जनताका लागि प्राणको आहुति दिने सहिदहरूको ऋण चुकाउनु ज्युँदा सबैको र खासगरी मुलुक हा“क्ने जिम्मेवारी लिएकाहरूको नैतिक दायित्व हो । पैसा बा“डेर र सालिक बनाएर सहिदको आत्माले शान्ति पाउन सक्दैन । सहिदका सपना पूरा गर्न प्रतिबद्ध हुनुपर्छ । तर, सहिदको सपना साकार पार्ने कसम खाएर सत्तामा पुगे पनि निहित स्वार्थ पूरा गर्न तल्लीन रहने र सत्तामा पुगेपछि यस्तो दायित्वलाई भुल्ने गरिएको कारण आमजनता उपेक्षित भइरहने अवस्था अझै विद्यमान छ । यति मात्र होइन वास्तविक सहिदका परिवारको बेवास्ता भइरहेको अवस्था पनि छ जसले पनि सहिदको अपमान नै भएको छ ।

सहिदको स्मरणका लागि आयोजना गरिने कार्यक्रममा सहिदको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिइ“दै आएको छ । देश र जनताका लागि लडेका सहिदको राज्यबाट उचित र उच्च मूल्याङ्कन हुन सकेमा मात्र सा“चो अर्थमा सहिद दिवस मनाउनुको सान्दर्भिकता रहने धारणा पनि व्यक्त गरिने गरेको छ । पछिल्लो समयमा वास्तविक सहिदको अवमूल्यन भइरहेकोमा सबैबाट चिन्ता व्यक्त हु“दै आएको छ । जथाभावी सहिद घोषणा गर्ने प्रवृत्तिले वास्तविक सहिदको अपमान र अवमूल्यन भएको टिप्पणी पनि हुने गरेको छ । सामाजिक न्याय, मुलुकको समुन्नति र जनताको अधिकारका लागि प्राणको आहुति गर्नेहरू नै वास्तविक सहिद हुन् र तिनको सदैव स्मरण र सम्मान गर्नुपर्छ भन्नेमा पनि सबैको मतैक्यता पाइन्छ । तर, यस विषयलाई गम्भीर रूपमा लिई वास्तविक सहिदको पहिचान र सम्मानमा सम्बन्धित पक्षको चासो पुगिरहेको छैन ।

पछिल्लो समय सहिद सप्ताह र सहिद दिवस केवल औपचारिकतामा सीमित हुन थालेको छ । तर, यस्तो दिवसलाई केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राख्नु बिडम्वना हो । यस्ता अवसरलाई सहिदले देखाएको बाटो र दिशातर्फ इमानदारीका साथ अग्रसर हुने प्रतिबद्धता जनाउने अवसरको रूपमा लिन सक्नुपर्छ । ती महान् आत्माहरूको सपना साकार पार्न इमानदार हुने अठोट गर्न सक्नुपर्छ । यसो हुन सकेमा मात्र सहिद दिवस मनाउनुको सार्थकता र औचित्य रहन्छ ।