
■ दामोदर पौडेल
विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले भगवान् र अमेरिकी जनताको नाममा बाइबल छोएर गत साता (२० जनवरी, २०१७) शपथ लिए । राजनीतिमा कम दखल भएका देखिएका थिए ट्रम्प, तर दक्ष राजनीतिज्ञ हिलारी क्लिन्टनलाई अनपेक्षित रूपमा हराए । उग्रवादी मुसलमान सङ्गठनको विरोध गरेकाले उनलाई अमेरिकी जनताले जिताएजस्तो देखिएको छ । यो उनको जितभन्दा बढी अमेरिकी जनताको मुसलमान उग्रवादीविरुद्धको भावना पोख्ने माध्यम थियो भन्ने देखिएको छ । अन्यथा ट्रम्पलाई कम क्षमतावान्, राजनीतिक ज्ञान कम भएका, जातिवादी, आप्रवासीविरोधी भन्दाभन्दै पनि अमेरिकी जनताले किन जिताए ? अमेरिकी जनतालाई आफ्नो शान्त र समुन्नत देशमा दिनहुँजस्तो काटमारका घटना घट्न थाल्नु, आतङ्कवादी घटनाबाट त्रसित हुनुपर्ने अवस्थाको सिर्जना हुनु कारकतत्व देखिएका छन् । अमेरिकीहरू अरूलाई सहयोग गर्ने नाममा आफैँ असुरक्षित हुन चाहँदैनन् भने त्यो अन्यथा मान्न पनि सकिँदैन ।
ट्रम्पले पपुलिस्ट राजनीति गरेर मत पाए भन्ने आरोप पनि लागेको छ । यसको अर्को पाटो पनि छ कि उनले पाएको मतले अमेरिकी जनताको आतङ्कवादप्रति कस्तो धारणा गरेछ भन्ने पनि जानकारी प्राप्त भयो । यस परिणामले अमेरिकी जनतालाई उचित रूपमा सम्झन सजिलो पनि भयो र अमेरिकी जनताको चाहना के रहेछ भन्ने बुझियो । सायद नेपालमा पनि हिन्दूधर्मबारे जनमत गर्ने हो भने त्यस्तै नसोचेको परिणाम आउँछ कि ? पपुलिस्टहरूले डर र जातीयतालाई पनि आधार बनाएर राजनीति गर्दछन् । यो कुनै काम नगरी जनतालाई मूर्ख बनाएर भावनामा बगाएर तथा डर देखाएर चुनाव जित्ने माध्यम पनि बन्दछ । भाजपा समर्थक मुसलमान नेताले भारतीय काङ्ग्रेसप्रति कटाक्ष गर्दै भनेका थिए कि काङ्ग्रेस मुसलमानलाई हाम्रो दल नभए अप्ठ्यारो हुन्छ भन्ने डर देखाएर चुनावमा आफ्नो पक्षमा लिने गर्दछ । जातीयता नै भन्न नमिले पनि भारतीय जनता पार्टीले हिन्दूधर्मको नाममा नै चुनाव जितेको हो । जनताको जनजीविकासँग सरोकार नै भएको राममन्दिर बाबरी मस्जिद घटनाको कारण भाजपालाई सत्तामा पुग्न सजिलो भएकै हो । तर, अमेरिका बढी यथार्थ धरातलको राजनीति गरिने देश हो । जहाँका जनता शिक्षित हुन्छन् त्यहाँ पपुलिस्ट राजनीति मात्र सफल हुन सक्दैन । जनताको भावनालाई मुखरित गरेर एकीकृत गर्नेसम्म हो ।
आतङ्कवादको डर र अमेरिकी जाति एक हुनुपर्छ भन्ने भावनाले उनले चुनाव जिते कि ? भन्ने आधारलाई हेर्दा उनीले जनताको भावना क्यास गर्न पुगेका हुन् जनतामा त्यो भावना दिएका होइनन् भन्ने तथ्य सजग अमेरिकी जनताका लागि उपयुक्त मूल्याङ्कन होला । शपथग्रहणको भाषणमा उनले हामी अमेरिकीहरू काला, गहुँगोरा र सेता जे भए पनि हामी सबैको रगत रातो छ र हामी मिलेर बस्नुपर्छ, यो देशलाई प्रगतिमा अगाडि बढाउन अथक प्रयत्न गर्नुपर्छ भन्दा उनीप्रतिका पूर्वाग्रह र धारणा गलत थिए भन्ने अर्थ पनि लाग्छ । ट्रम्पले भनेजस्तै अमेरिकीलाई आफू सुरक्षित हुन, छिमेकीको विश्वासमा बाँच्न, उनीहरूमा अझ सम्पन्न हुनुपर्ने चाहना हुनु नराम्रो होइन । व्यापारमा राम्रो दखल भएका ट्रम्पले अमेरिकी उद्योगको उत्थान गरेर रोजगारी बढाउने बताउँदा ठूलो व्यापार साझेदार चीनसँगको सम्बन्धमा चिसो आउँछ कि भन्ने पनि छ ।
उनको विरोधमा अमेरिकी मुसलमान, म्याक्सिकन र डेमोक्रेटहरू बढी देखिए । सबैको भनाइ अमेरिका उदार हुनुपर्छ भन्ने थियो । तर, उनीहरूमध्ये मुसलमानहरूको पुर्खाहरूका देश अरब आदिमा अर्को धर्म मान्नेहरू सुरक्षित छैनन् भन्ने देखिएको छ । के आफ्नो संस्कृति, धर्म र परम्पराको कारणले त्यससँग विमति राख्नेहरू असुरक्षित मुसलमान देशहरूमा नै बढी भएका छैनन् ? यी भएका नराम्रा परिणाममा कसैले विमति राख्छ भने त्यो तथ्यमा सत्यता छ कि छैन भन्ने हेर्ने कि नहेर्ने ?
निष्पक्ष अर्थात् भयरहित वातावरण हुने हो भने जनताले जात, धर्म र जातीय प्रान्तभन्दा आर्थिक जीवनमा परिवर्तन ल्याउनेको पक्षमा आफ्नो राय व्यक्त गर्नेछन् । किनभने जनतामा भ्रम धेरै हटेको छ, तर नेतामा भने बाँकी हुन सक्छ । जनतालाई भ्रम दिएकै भरमा सत्तामा जान सकिन्छ भन्ने भ्रम नेताहरूले दिएका र केही समय जनता भ्रमित भएको परिणाम पनि हो नेपालको अहिलेको अवस्था ।
यो चुनाव परिणामले अमेरिकीहरूमध्ये आप्रवासीको कारणले आफूहरू असुरक्षित रहेको महसुस गर्नेहरू धेरै रहेछन् भन्ने देखियो । अर्कोतर्फ दुस्मनको रूपमा देखिएका रुस र अमेरिका आतङ्कवादविरुद्ध एक हुने सम्भावना बढेर गयो । ट्रम्पले आतङ्ककारीलाई विश्वबाट सधैँका लागि नष्ट गर्ने घोषणा चुनावको परिणामपछि पनि गरे । ट्रम्पले अमेरिकी परिचयको सवाल उठाए भने हामी नेपालीले जातीय परिचयसमेतको राज्य चाहेकोसँग तुलना गर्न मिल्दैन र ?
सोभियत रुसलाई टुक्र्याउन अमेरिकाको ठूलो हात छ । तर, अब रुस र अमेरिका मिलेमा विश्वले नयाँ अवसर पाउनेछ । रुस र अमेरिकाबीचको तिक्तता कम हुँदै जानेछ । विरोधीको गलत व्याख्या र गलत प्रचारबाट ट्रम्प र उनका समर्थकलाई पीडा पुगेकै थियो । उनले अमेरिकी एक हुनुपर्छ भन्दा अरूलाई सिध्याउनुपर्छ भनेको अर्थ लगाउनु न्यायपूर्ण होइन । उनले हामी परनिर्भर हुनुहुँदैन भन्दा अरूको विरोध गरेको भन्ने मान्नु राम्रो मान्न सकिँदैन । यस्तो सोच्नु र त्यही आधारमा गलत अर्थ लगाउनु समाचारलाई गलत रूपमा बाहिर ल्याउनु र गलत रूपमा नै प्रचार गर्नु हुन जान्छ ।
ट्रम्पले अनप्रिसिडेन्टेड रूपमा अमेरिकाको प्रिसिडेन्ट बन्ने अवसर पाए कि अमेरिकी जनताको आवाजलाई उनले समात्न सके भन्ने पनि सोच्न आवश्यक भएको छ । यो तथ्यलाई अमेरिकी डेमोक्रेटहरू र ट्रम्पविरोधीहरूले बुझ्न नसके उनीहरू अझै पछि पर्नेछन् । राष्ट्रपति बनेपछिको पहिलो भाषणमा ट्रम्पले विद्वता देखाए र आफ्नो पुरानो एकोहोरोसमेत भनिने प्रचारलाई धरै नै दुरुस्त पारे ।
ट्रम्पले रुससँग मिलेर अगाडि बढ्न सार्थक प्रयास गरे भने लोकतन्त्रलाई बलियो बनाउन, मानवअधिकारको संरक्षण गर्न तथा आतङ्कवादलाई कमजोर पार्न ठूलो सहयोग हुनेछ । रुसलाई अमेरिकी चुनावको प्रचार अभियानले स्वाभाविकभन्दा बढी बलियोजस्तो देखायो । यो लोकतन्त्रको कमजोर पक्ष अमेरिकामा पनि रहेको देखियो ।
अर्कोतर्फ अमेरिकी जनताको आप्रवासी र मुसलमानहरूप्रति फरक सोच भएको मान्दा अमेरिकीहरू र आप्रवासीहरू तथा मुसलमानहरूले अमेरिकामा कसरी मेलमिलापपूर्ण वातावरणमा रहने भन्ने अवसरको आँखा खोेलिने ढोकाको रूपमा पनि यो चुनावलाई लिन सकिन्छ । ट्रम्प कम परिपक्व राजनीतिज्ञभन्दा पनि विगतको सरकारसँग विमति जनाउने मौका खोज्नेहरूका लािग अवसर भएका र उनलाई परिस्थितिले साथ दिएकोभन्दा हुन्छ । उनलाई चुनाव जिताउने कारण आतङ्कवादको विश्वव्यापी जालो पनि बन्यो । यसो नभएको भए आतङ्कवादलाई आधार मानेर न उनी चुनाव लड्थे न जनताले उनलाई चुनावमा जिताउँथे ।
जर्ज सरोसले फलिबिलिटी (भ्रमशीलता), रिफ्लेक्सिबिलिटी (कारणको परिणाम)का बारेमा आफ्नै प्रकारले व्याख्या गरेका छन् । परम्परागत अमेरिकी नेताहरू जनताको चाहनाबारे भ्रममा रहेछन् । हो, रिपप्लिकन पार्टी र डेमोक्रेटिक पार्टीबीचमा भम छर्ने प्रयास पनि भयो । आतङ्कवाद सम्बन्धमा सरकारमा रहेकाभन्दा बाहिरकाहरूले त्यसको कारणले राजनीतिमा देखाउने धारणा अर्थात् परिणाम कस्तो हुँदोरहेछ भन्ने पनि बुझ्न सजिलो भएको छ ।
नेपालमा पनि नेता जनताको इच्छाबारे भ्रममा बाँचेका हुन सक्छन् । निष्पक्ष अर्थात् भयरहित वातावरण हुने हो भने जनताले जात, धर्म र जातीय प्रान्तभन्दा आर्थिक जीवनमा परिवर्तन ल्याउनेको पक्षमा आफ्नो राय व्यक्त गर्नेछन् । किनभने जनतामा भ्रम धेरै हटेको छ, तर नेतामा भने बाँकी हुन सक्छ । जनतालाई भ्रम दिएकै भरमा सत्तामा जान सकिन्छ भन्ने भ्रम नेताहरूले दिएका र केही समय जनता भ्रमित भएको परिणाम पनि हो नेपालको अहिलेको अवस्था ।
अब अमेरिका आतङ्कवादको छायामा डराएर बाँच्नुपर्ने होइन, विश्वमा आतङ्कवादको विरुद्धमा शान्ति कायम गर्न चाहनेहरूको भरोसाको केन्द्र नहोस् । चीन, भारतजस्ता उदीयमान आर्थिक शक्तिलाई यथार्थ धरातलमा सम्बोधन गर्न नचुकोस् र नेपालजस्ता गरिब देशका गरिबहरूका लागि काम गर्न सकोस् । विश्व र अमेरिकी जनताको स्वाभाविक चाहना यही नै हो ।
प्रतिक्रिया