
– सुशील देवकोटा
कुनै पनि कुरा बनाउन जति गाह्रो हुन्छ त्यति नै सजिलो हुन्छ बिगार्न र भत्काउन । चाहे त्यो कुनै भौतिक कुरा होस् वा भावनात्मक । बाटो, पुल–पुलेसादेखि भवन वा अन्य कुनै भौतिक संरचना निर्माण गर्न धेरै समय लाग्छ । धेरै मानसिक र शारीरिक शक्ति लाग्छ, तर त्यसलाई बिगार्न वा भत्काउनुप¥यो भने हथौडाको केही चोट नै पर्याप्त हुन्छ । त्यस्तै भावनात्मक सम्बन्ध जोड्न पनि विश्वास र समझदारीको बलियो जग निर्माण गर्न सक्नुपर्छ नत्रभने त्यो सम्बन्ध स्थायी हँुदैन । त्यसैले त बुढापाकाले भन्ने गर्छन् नि, ‘सपार्न गाह्रो हुन्छ नानी !’ यही भनाइ देशको कुरामा पनि लागू हुन्छ । देश बनाउन जति गाह्रो हुन्छ बिगार्न उति नै सजिलो । अङ्ग्रेजीमा एउटा भनाइ निकै प्रसिद्ध छ, ‘रोम वाज नट बिल्ट इन ए डे’, अर्थात् रोम एक दिनमा बनेको थिएन । धेरै मिहिनेतपछि रोम, आजको रोम बनेको हो ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको महत्वाकाङ्क्षा, साहस र पराक्रमको परिणामको रूपमा हामीले एउटा गर्व गर्न लायकको देश नेपाल पायौँ । युद्धको दौरानमा उनले साम, दाम, दण्ड, भेद सबै अपनाए (त्यसो गर्न हुन्थ्यो कि हुँदैनथ्यो त्यो बेग्लै बहसको विषय होला) र एउटा सिङ्गो नेपाल हामीलाई दिए । इतिहास साक्षी छ, सहज थिएन त्यो एकीकरण अभियान । यदि सहज हुँदो हो त अन्य कसैले पनि यस्तो सुनौलो इतिहास कोर्ने प्रयास अवश्य गथ्र्यो होला र आजको दिनमा हामी उसैको पराक्रमको महिमा गाइरहेका हुन्थ्यौँ होला । खेलमा धेरैजना दौडिन्छन्, तर विजयमाला उसैले लगाउँछ जसले जित्छ । पृथ्वीनारायणले त्यो अभियानमा सफलता प्राप्त गरे र सम्पूर्ण नेपालीको मनमा राष्ट्रनिर्माताको रूपमा रहन सफल भए । यो सफलता पाउन उनले धेरै लड्नुप¥यो, पटक–पटक असफलसमेत हुनुप¥यो । यति धेरै मिहिनेत लाग्नु स्वाभाविक पनि थियो किनकि उनी निर्माण अभियानमा थिए । उनी बनाउनपट्टि लागेका थिए । बनाउन त गाह्रो हुने नै भयो ।
तर, पछिल्ला केही वर्षमा त्यो क्रम रोकिएको छ । निर्माणको क्रम रोकिएको छ, देश सपार्ने क्रम रोकिएको छ र त्यसको स्थान लिएको छ देश बिगार्ने क्रमले । घरमूली नभएपछि जसरी एउटा घर अस्तव्यस्त हुन्छ लगभग त्यस्तै हालत भएको छ हाम्रो देशको । कुनै एकजनाको त डर हुनुपर्छ बाबै नत्र मान्छे अनुशासनविहीन हुन्छ भनेर उहिलेका मानिसले भन्ने गरेको असत्य होइन रहेछ भनेर हेर्न हाम्रो देशको वर्तमान हालत हेरे पुग्छ । नेपालको विशेषता भनेर जुन–जुन कुरामा नेपाल र नेपालीले गर्व गर्थे वा गर्छन् छानी–छानी तिनीहरूमाथि धावा बोलिँदै छ र तिनलाई हटाउने, मेटाउने र ध्वस्त पार्ने हरसम्भव प्रयास गरिँदै छ । हाम्रा देशका प्रधानमन्त्री देशको सबैभन्दा ठूलो चाड दशैँको अवमूल्यन गर्छन्, तर अन्य धर्मको चाडमा यसरी रमाउँछन् मानौँ जन्मजात उनी त्यही धर्ममा थिए । नेपालीपन बोकेको नेपाली पोसाकको तिरस्कार गर्दा उनी गौरव महसुस गर्छन् । बिगार्ने हदलाई हाम्रा नेताहरूले कहाँसम्म पु¥याउन लागेका थिए भने यदि उनीहरूले कल्पना नगरेको हदसम्मको विरोध नचर्किंदो हो त हाम्रो शान र विश्वमै एक नमुनाको रूपमा रहेको राष्ट्रिय झण्डासमेत बिगार्ने थिए ।
देशका प्रधानमन्त्री देशको सबैभन्दा ठूलो चाड दशैँको अवमूल्यन गर्छन्, तर अन्य धर्मको चाडमा यसरी रमाउँछन् मानौँ जन्मजात उनी त्यही धर्ममा थिए । नेपालीपन बोकेको नेपाली पोसाकको तिरस्कार गर्दा उनी गौरव महसुस गर्छन् । बिगार्ने हदलाई हाम्रा नेताहरूले कहाँसम्म पु¥याउन लागेका थिए भने यदि उनीहरूले कल्पना नगरेको हदसम्मको विरोध नचर्किंदो हो त हाम्रो शान र विश्वमै एक नमुनाको रूपमा रहेको राष्ट्रिय झण्डासमेत बिगार्ने थिए ।
जनयुद्धको नाममा प्रचण्ड बाबुराम एन्ड कम्पनीले जातीयता र साम्प्रदायिकताको जुन बिउ रोपेका थिए आज त्यो विषवृक्ष बनेर सिङ्गो देशलाई निल्ने तरखरमा छ । भूगोलको नाममा आपसी प्रेम खल्बलिएको छ । विकसित भनिने देशमा छालाको रङअनुसार विभेद गरिन्छ भन्ने सुन्दा पत्याउनै मुस्किल हुन्थ्यो हामीलाई, तर अहिले मधिसे मूल र पहाडी मूलको भनेर हाम्रो आपसी सद्भाव बिगार्ने काम गरिँदै छ । धर्मको नाममा, भूगोलको नाममा, जातीयताको नाममा अनेक नाममा हामीलाई बाँड्न खोजिएको छ र देखाउनका लागि सङ्घीयताको ललिपप देखाइएको छ । लाग्छ– ब्रिटिसहरूको उतिबेलाको नीति फुटाऊ र राज्य गरलाई हाल नेपालमा प्रयोग गरिँदै छ । अनि हामी पनि उनीहरूको लहलहैमा लागेका छौँ, यो बिर्सिएर लागेका छौँ कि हामीलाई फुटाएर हामीमाथि नै राज्य गर्ने नाममा आफ्नो स्वार्थ पूरा गर्दै छन् उनीहरू । हाम्रो भविष्य बिगारेर आफ्नो र आफ्ना आउने पुस्ताहरूसमेतको भविष्य सुनिश्चित गर्दै छन् उनीहरू । यो सत्यलाई प्रमाणित गर्न यति बुझ्दा नै पर्याप्त होला कि हिजो जनयुद्धको नाममा आतङ्क मच्चाउँदा जनताका त्यत्रा छोराछोरी मारिए, कैयौँ बेपत्ता भए, तर प्रचण्ड, बाबुरामलगायतका छोराछोरीले त्यसबेलामा पनि सुरक्षित र सहज जीवन बिताए ।
आफू प्रधानमन्त्री भएपछि देशले अँध्यारोबाट मुक्ति पाएको भनेर घोक्रेनाक फुलाउने प्रधानमन्त्री प्रचण्डले यो बिर्सिनुहुँदैन कि यसभन्दा अघि पनि उनले त्यो कुर्सीलाई लज्जित बनाइसकेका हुन् । काम गर्ने कालु मकै खाने भालु भनेजस्तै नेपालीलाई अँध्यारोबाट मुक्ति दिलाउने नेपालका छोरा कुलमान हुन् र यो उनको एक्लो प्रयासबाट भएको हो भन्ने तथ्य सबैले बुझेका छन् । प्रचण्ड देशको प्रधानमन्त्री भएपछि देशले पाएको होइन, बरु गुमाएकोचाहिँ अवश्य छ । देश सप्रेको होइन, बिगे्रको अवश्य छ । इमानदार भएर भन्दा देश बिगार्ने कामको सुरुवात गर्ने र देशलाई आजको स्थितिमा ल्याइपु¥याउने मुख्य कर्ताको रूपमा गिरिजाप्रसादको नाम लिन छुटाइयो भने त्यो गलत हुन्छ । ५१ सालको मध्यावधि चुनावपछि नेपालमा स्पष्ट रूपमा राजनीतिक विकृतिको सुरुवात भएको हो भन्ने तथ्यलाई सबैले बुझेका छन् । त्यही विकृतिको परिणाम ५२ सालदेखि जनयुद्धको नाममा देशमा आतङ्ककारी गतिविधि सञ्चालन भयो र त्यसले गर्दा नेपाल विकासशील राष्ट्रबाट तल झरेर अल्पविकसित, अविकसित हुँदै हाल असफल राष्ट्र बन्ने सङ्घारमा छ । नेपाल बिगार्ने यो कार्य योजनाबद्ध रूपमा हुँदै छ अरूको इशारामा । तिनैको इशारामा जसले १२बुँदे जस्तो नेपाललाई रसातलमा पु¥याउने सम्झौता गर्न आफ्नो भूमि उपलब्ध गराए । स्वार्थी नेताहरू छन् र तिनको अगाडि हड्डी फ्याँक्ने हो भने तिनीहरूले आफूले चाहेजसरी पुच्छर र मुन्टो हल्लाउँछन् भन्ने बुझेका छिमेकीले विभिन्न बहानामा हाम्रो देशमा अस्थिरता उत्पन्न गरिदिएका छन्, यो विश्वासमा कि नेपाल चाँडै अर्को सिक्किम हुन्छ । बरु सिक्किम खान मिहिनेत गर्नुपरेको थियो होला किनकि त्यहाँ एउटा मात्रै लेण्डुप थियो, तर यहाँ त को पहिला र सक्कली लेण्डुप बन्ने त्यसको पो होडबाजी चलेजस्तो देखिन्छ ।
सानो कचौरा जत्रो देशलाई धर्म, संस्कृति, जात र भाषाको नाममा बाँड्ने हो भने नेपालभित्र नेपाल कतै रहँदैन । नेपालमा अस्थिरता उत्पन्न गरेर हाम्रो देशलाई सुडान, सिरिया र नाइजेरिया बनाउनमा लागेका तत्वहरूलाई हाम्रो देश सप्रिँदा तुलनात्मक रूपमा बरु घाटा नै हुन्छ । अहिलेका हाम्रा नेताहरू यति चलाख छन् कि तिनीहरू आफूलाई घाटा हुने काम गर्दै गर्दैनन् । उनीहरूले बुझिसकेका छन् कुन देशप्रति भक्तिभाव देखाउँदा आफू फाइदामा परिन्छ, । यसैले त लागेका छन् तँछाडमछाड गरेर लम्पसारवाद प्रदर्शन गर्न । यदि जनताले बेलैमा यो कुरा नबुझ्ने हो र नेपाल बिगार्न प्रतिबद्ध भएर लागेका नेताविरुद्ध नउठ्ने–नजाग्ने हो भने भगवान् श्री पशुपतिनाथले पनि हाम्रो देशलाई बचाउन सक्ने छैनन् ।
प्रतिक्रिया