हुलाकी सडकका लागि पहिलो किस्ता हस्तान्तरण

हुलाकी सडकका लागि पहिलो किस्ता हस्तान्तरण


india

छिमेकी मित्रराष्ट्र भारतले नेपालको तराई क्षेत्रमा हुलाकी सडक निर्माणार्थ प्रदान गर्न लागेको सहयोग रकमको पहिलो किस्ताबापत करिब २५ करोड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । पूर्व–पश्चिम हुलाकी राजमार्गका १७ सडकखण्डमध्ये १० वटा भारत सरकारको आर्थिक सहयोगमा र सातवटामा नेपाल सरकारको लगानी रहनेछ । पूर्व–पश्चिम राजमार्गको समानान्तर हुने गरी तराई–मधेसको बीचबाट बनिरहेको हुलाकी सडक तराई–मधेसको विकासका लागि महत्वपूर्ण मानिएको छ । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले ८ अर्ब आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यसअघि नेपालका लागि भारतका राजदूत रञ्जित रेले सिन्धुपाल्चोकको चौतारामा एक नयाँ क्याम्पस भवनको उद्घाटन गरेका छन् । साना विकास परियोजनाअन्तर्गत मित्रराष्ट्र भारतको दुई करोड ७० लाख सहयोगमा निर्माण भएको चौतारा बहुमुखी क्याम्पसको गत शुक्रबार उद्घाटन गर्दै राजदूत रेले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति उचित भौतिक संरचना आवश्यक पर्ने धारणा अघि सारे । उनले नयाँ क्याम्पस भवनको भरपूर उपयोग गर्न क्याम्पसका छात्रछात्रालाई उत्प्रेरित गरे ।

नवनिर्मित तीनतले क्याम्पस भवनमा बाह्र कक्षाकोठाका अलावा प्रिन्सिपल, शिक्षकहरू, लेखा, स्टोर, मिटिङ हल, कम्प्युटर कोठा, साइन्स ल्याबका निम्ति अलग–अलग कोठा रहनुका साथै पुरुष र महिलाको निम्ति सुविधासम्पन्न अलग शौचालयको व्यवस्था गरिएको छ । शिक्षा, व्यवस्थापन र विज्ञान सङ्कायका स्नातक तहका विविध विशिष्टीकरणका विषय प्राध्यापन हुँदै आएको क्याम्पसमा निकट समयमै शिक्षामा स्नातकोत्तर तह सञ्चालनको प्रयास भइरहेको बताइएको छ ।

सिन्धुपाल्चोकमा भारतीय सहयोगमा पन्ध्र करोडभन्दा बढी लगानीका आठ परियोजना निर्माणाधीन छन् भने भारतको गणतन्त्र दिवसको अवसरमा जिल्लाको निम्ति सातवटा एम्बुलेन्स र एउटा स्कुलबस पनि उपहार प्रदान गरिएको छ ।
19 PR Pho

यस्तै, राजदूत रेले असल छिमेकी राष्ट्रका नाताले भारतले नेपाललाई गरेका सहयोगलाई हस्तक्षेप भन्न नहुने धारणा सार्वजनिक गरेका छन् । मित्रराष्ट्र भारतको ६८औँ गणतन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा उनले मित्रताको पवित्र उद्देश्यले भारतले नेपालका हरेक आन्दोलन र आर्थिक गतिविधिमा सहयोग गर्दै आएको बताए । नेपाल र भारतबीच राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक रूपमा जनस्तरसम्म प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत रेले द्विपक्षीय सम्बन्धलाई आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने तर्क गरे ।

राजदूत रेले आन्तरिक समस्या कसरी समाधान गर्ने भन्ने नेपालको आफ्नै मामिला हो भन्दै दुई देशबीच विविध सम्बन्ध भएकाले यदाकदा कुनै विषयमा उतारचढाव आउनु सामान्य भएको र वार्ता तथा छलफलका माध्यमबाट असमझदारी निराकरण गर्नुपर्ने सुझाव दिए । उनले नेपालमा अशान्ति, अस्थिरता र द्वन्द्व भए खुला सिमानाका कारण त्यसको सीधा असर भारतमा पनि पर्ने भएकाले भारतले सदैव नेपालमा स्थिरता, शान्ति र समृद्धि भएको हेर्न चाहने विश्वास दिलाए ।

नेपालको जलस्रोत विकासमा पञ्चेश्वर बहुउद्देश्यीय, माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजनाको काम द्रुतगतिमा अघि बढेको जानकारी दिँदै राजदूत रेले यी परियोजना सम्पन्न भएपछि नेपालमा विकासको लहर आउने बताए ।