पूर्वराजाको मौन कूटनीति र यसको प्रभाव

पूर्वराजाको मौन कूटनीति र यसको प्रभाव


Arpanraj Kharel

– अर्पण खरेल

मौनतालाई प्रायः हामी निष्क्रियता, अज्ञानता, शक्तिहीनता, क्षीण–जीर्ण या टुटेको रूपमा चित्रण गर्दछौँ । तर, आध्यात्मिक दृष्टिमा भने यसलाई मानसिक तप र ऊर्जाको रूपमा लिइन्छ । इतिहासका विभिन्न कालखण्डमा महापुरुष, वैज्ञानिक, डाक्टर, योगी, राजनीतिज्ञहरूले भरपूर रूपमा यसको प्रयोग गरेर शक्ति प्राप्त गरेका उदाहरण भेटिन्छन् । राजनीतिमा मौन हुनुलाई कहिलेकाहीँ मौन कूटनीति भनेर पनि बुझ्न सकिन्छ । शक्तिमा रहेकाहरू शक्तिमा नहुँदा निष्क्रियजस्तो अलिक लामो समय मौन बस्नुलाई त झन् शङ्काको दृष्टिले नै हेरिन्छ ।

नेपालको राजनीतिमा ०६२÷६३ पछि विकसित घटनाक्रमले राजा ज्ञानेन्द्रलाई पनि मौन पात्रको रूपमा नै हेर्ने गरिएको छ । राजसंस्थाको बहिर्गमनपछि साधारण नागरिक भए पनि राजनीतिक दलका नेताहरूले बेलाबेलामा शङ्काको दृष्टिले हेर्ने गर्दछन् । ०६२÷६३ को परिवर्तनपछि केही सय व्यक्ति र कमल थापाबाहेक राजाको समर्थनमा सडकमा देखिने गरी बोलिदिने कोही थिएनन् । एउटा सिङ्गो परम्परा इतिहास जनतालाई सहज रूपमा हस्तान्तरण गरी निर्भीकतापूर्वक आफँै मोटर हाँकी नागार्जुनतर्फ मोडिएको उनको यात्राले त्यसपछि राजा साधारण नागरिक भएको घामझैँ छर्लङ्ग पारिदिएको थियो । त्यसपछि उनी प्रायः मौन, चुपचाप रहेका थिए । कहिलेकाहीँ धार्मिक या पारिवारिक भ्रमणमा कतै जाँदा स–साना छोटा प्रतिक्रिया दिने, समर्थकहरूलाई हात हल्लाउने, सन्चो–बिसन्चो सोध्नेबाहेक देखिनेगरी राजनीतिमा उनको कुनै स्थान छैन । साधारण नागरिकको रूपमा कहिलेकाहीँ कूटनीतिक भाषामा केही बोलिदिँदा राजनीतिक वृत्तमा त्यसले ठूलै तरङ्ग ल्याउँछ र त्यसलाई चासो र उत्सुकताको रूपमा हेर्ने गरिन्छ ।

नेपालमा गणतन्त्र स्थापना भएको १० वर्ष भइसक्दा पनि पूर्ण रूपमा यो संस्थागत हुन सकेको छैन । लामो प्रसव–वेदनापछि जसोतसो संविधान त आयो, तर यसलाई आमहृदयले स्वीकार्न नसकेको तीतो यथार्थ छ । सङ्घीयता, सीमाङ्कन, प्रदेश, धर्मनिरपेक्षताजस्ता मुद्दाहरूमा प्रायः राजनीतिक दलहरू स्पष्ट छैनन् । विभाजित देखिन्छन् । मधेसको समस्या संविधान संशोधनबिना हल नहुने तर्क सरकार घटक दलको छ भने प्रमुख प्रतिपक्षलगायत केही साना दल यसको विपक्षमा छन् । राष्ट्रियतालाई हेर्ने र बुझ्ने दृष्टिकोण सबै राजनीतिक दल, नेता र समूहका फरक–फरक छन् । यो विषयलाई आ–आफ्नो स्वार्थसँग जोडेर हलुका रूपमा व्याख्या गर्ने गरिन्छ । कहिलेकाहीँ ‘राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन, राष्ट्रियताको पक्षमा यो जात ऊ जात हुँदैन, यो धर्म ऊ धर्म पनि हुँदैन, राष्ट्रियताको पक्षमा बोल्दा पहाडिया र मधेसिया पनि हुँदैन, राष्ट्रियताको पक्षमा बोल्दाखेरि यो वर्ण र ऊ वर्ण पनि हुँदैन’ भनी स्पष्ट धारणा राख्ने व्यक्ति पनि राजनीतिमा नदेखिएका त होइनन्, तर यिनीहरूलाई खराब राजनीतिले ओझेल पारिदिएको छ । एक वर्ष पूरा नटिक्ने सरकार आइरहने–गइरहने रोग यथावत् छ ।

साधारण नागरिक भई मौन बसेका पूर्वराजातर्फ फर्किएर हेर्न खोज्ने भीड र बढ्दो लर्कोलाई राजावादी अतिवादीको रूपमा मात्र हेरेर विभेद र अछुत व्यवहार गर्ने परम्परा गलत रहेछ भन्ने धारणा विकास हुँदै गएको छ । मुलुकको राजनीति सन्तुलित रूपमा अगाडि नबढेसम्म पूर्वराजातर्फ जनताको आकर्षण कम हुने छैन । राष्ट्र र आमनेपालीको ध्यान आफूतर्फ मोड्न पूर्वराजालाई धमिलो पानीमा माछा मार्नुपर्ने जरुरी देखिँदैन । राजनीतिक दलहरूको बेमेल राजनीतिले नै पूर्वराजाको प्रभाव र शक्तिलाई मलजल पुग्ने देखिन्छ ।

मुलुकको यस्तो जटिल राजनीतिक परिस्थितिमा नेताहरू दलगत स्वार्थमा रहेर आरोप–प्रत्यारोप गर्ने मात्र होइन चुपचाप बसेका पूर्वराजालाई समेत शब्द वाण र विषवमन गर्न अप्ठ्यारो मानिरहेका छैनन् । साधारण नागरिकको रूपमा आफँैले पगरी थमाइदिएको पात्रसँग बेलाबेलामा झस्किरहनुपर्ने, त्रसित रहनुपर्ने कारण के हुन सक्ला ? आफँैले ल्याएको परिवर्तनसँग विश्वस्त नहुनु या त फेरि मौन कूटनितिले जन्माउँदै गरेको शक्ति र आमनेपालीको पूर्वराजाप्रति फेरिएको दृष्टिकोण ? वास्तवमा राजनीतिक दलका नेताहरूलाई पूर्वराजाबाट यस्ता धेरै चुनौती थप हुँदै गएको अवस्था छ । साधारण नागरिकको रूपमा आफ्ना नाति–नातिना परिवारसँग छुट्टी मनाउन मौसमी भ्रमणमा कतै निस्कँदा पनि जनताले उनलाई छाड्दैनन् । मठ–मन्दिर पूजापाठमा सहभागी हँुदा पनि जनताले पुकारेका नै छन् । वास्तवमा राजनीतिक दल र नेताहरूको राजनीतिक असफलता, सदियौँदेखि एक–आपसमा मिलेर रहेका नेपालीको सद्भाव नै बिगार्ने खालका विभिन्न जातीयता र साम्प्रदायिकताका मुद्दाहरू, तराईका केही जिल्लामा विखण्डनकारी तत्वले चलखेल गर्ने र मौलाउने अवसर पाउनुले पनि आमजनताको मनोविज्ञान राजनीतिक दलका नेताहरूप्रति सकारात्मक र भरोसालायक देखिएको छैन । एउटा अभिभावकको रूपमा जनताले पूर्वराजाको भूमिका यस्तो अवस्थामा खोजेको हुन सक्ने तर्क केही राजनीतिक पण्डितहरूको गर्दै आएका छन् ।

कहिलेकाहीँ पृथ्वीजयन्ती, प्रजातन्त्र दिवस, दशैँ–तिहार, नयाँ वर्षजस्ता विशेष पर्वहरूमा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना, बधाई दिने, देश, भूगोल, राजनीति र आमजनताबारेमा चिन्ता–चासो जाहेर गर्दा मात्र पनि राजनीतिक वृत्तमा एउटा फरक खालको तरङ्ग र बहसको सिर्जना भइहाल्छ । केहीले धमिलो पानीमा माछा मार्न खोजेको भन्छन् । केहीले लामो समयसम्म पनि दलहरू जनता र राष्ट्रका लागि केही गर्न नसकेकाले उनको मनोकाङ्क्षा बढेको हुन सक्ने बताउँछन् । हिजोआज समय पहिलाको जस्तो छैन, फेरिएको छ, पूर्वराजालाई पनि सुनिन, खोजिन र महसुस गर्न थालिएको छ ।
किन तोडियो पूर्वराजाको मौनता ?

विकसित राजनीतिक घटनाक्रमहरू, नेताहरू राष्ट्र र जनताप्रति गम्भीर नहुनु, भ्रष्टाचार र महँगी मौलाउनु मात्र भन्दा पनि कतै नेपाल विखण्डनमा जाने पो हो कि ? हिमाल, पहाड, तराईको एकता डगमगाउने पो हो कि ? भन्नेतर्फ उनको चासो र चिन्ता देखिन्छ, यसलाई आमनेपालीले स्वाभाविक र सकारात्मक रूपमा लिएका छन् ।

हिजोआज ठूला दलहरूभित्रका केही उच्च नेताहरू पनि पूर्वराजाप्रति सकारात्मक भएर अभिव्यक्ति दिन थालेको देख्न पाइन्छ । राष्ट्रपति विद्या भण्डारीको छोरीको विवाहमा पूर्वराजालाई निम्तो जानु र पूर्वराजाले निम्तो स्वीकार गरेर विवाहमा उपस्थिति जनाउनुले पनि राजनीतिक वृत्तमा केही सकारात्मक सन्देशको प्रवाह भएको छ । पूर्वराजा सत्ता–शक्तिमा नरहे पनि समय–परिस्थिति आफ्नो अनुकूल नरहे पनि आफ्नो गरिमा र शालीनतामा उनले कुनै कमी आउन दिएका छैनन् । हिजोआज राजनीतिमा व्यक्तित्व र राजकीय स्वभावलाई पनि जनताले उच्च मूल्याङ्कन गर्न थालेका छन् । विश्व रङ्गमञ्चमा देखिएका प्रभावशाली राजनेताको आगमन र उनीहरूको भावभङ्गीसँग परिचित युवापुस्ता शालीन र देश हाँक्न सक्ने उच्च क्षमता भएको अभिभावकको मुलुकमा कमी देख्छन् । राजनीतिक दलका नेताहरूको एक–अर्कामा आरोप–प्रत्यारोप चर्को विषवमन मात्र हेरिरहने, सुन्ने नेपाली आममनेविज्ञान पूर्वराजाको शालीनताबाट पनि कहीँ कतै प्रभावित पक्कै छन् । कहिलेकाहीँ पूर्वराजाबाट आउने वक्तव्य कसैप्रति रिस–राग, उत्तेजनाको प्रस्फुटन नभई मुलुकको राजनीतिक अस्थिरता, देश भूगोल र माटोप्रतिको चिन्ता र समस्त नेपाली मनलाई जोड्ने राष्ट्रिय भावनाले ओतप्रोत हुने भएकाले स्वाभाविक रूपमा आमनेपाली मनले यसलाई स्वीकार गरिसकेको अवस्था छ ।

राजनीतिको एउटै कित्तामा आमने–सामने रहेर बाह्रबुँदेमा सहमति जनाएका दलहरू अहिले फÞरक–फरक दिसामा उभिएका छन् । गणतन्त्र स्थापना गर्ने बेलासम्म एउटै कित्तामा रहेका दलहरू फÞरक–फÞरक धारमा हुनु र संविधानको पूर्ण कार्यान्वयनजस्ता प्रक्रिया थप सङ्कटमा पर्दै जानुले जनतामा एक किसिमको चरम आक्रोश देखिएको छ । यस्तो बेलामा साधारण नागरिक भई मौन बसेका पूर्वराजातर्फ फर्किएर हेर्न खोज्ने भीड र बढ्दो लर्कोलाई राजावादी अतिवादीको रूपमा मात्र हेरेर विभेद र अछुत व्यवहार गर्ने परम्परा गलत रहेछ भन्ने धारणा विकास हँुदै गएको छ । मुलुकको राजनीति सन्तुलित रूपमा अगाडि नबढेसम्म पूर्वराजातर्फ जनताको आकर्षण कम हुने छैन । राष्ट्र र आमनेपालीको ध्यान आफूतर्फ मोड्न पूर्वराजालाई धमिलो पानीमा माछा मार्नुपर्ने जरुरी देखिँदैन । राजनीतिक दलहरूको बेमेल राजनीतिले नै पूर्वराजाको प्रभाव र शक्तिलाई झन् मलजल पुग्ने देखिन्छ । ०६२-६३ पछिको राजनीतिले भूमिकाविहीन बनाई साधारण नागरिकमा रूपान्तर भएका राजा क्रमशः पुनः चर्चामा आउँदै जानु गणतन्त्रवादी शक्तिहरूसँग पनि सौहार्दपूर्ण र हार्दिक सम्बन्ध बढाउन उत्सुक रहनुले आगामी दिनमा के–कस्तो सङ्केत गर्नेछ, हेर्ने बाँकी छ ।
(हाल जापान)