रिसायो मोर्चा !

रिसायो मोर्चा !



सेना–प्रहरीले केही गर्न सक्दैनन् : महन्थ

Mahantha

प्रधानमन्त्री प्रचण्डबाट पटकपटक झुक्किएको महसुस गरेपछि मधेसी मोर्चाका नेताहरू क्रूद्ध बनेका छन् । एमालेका नेताहरूसँगको संवादका क्रममा ‘हरहालतमा निर्वाचन गराइने’ प्रतिबद्धता प्रकट गर्ने प्रचण्डले आफूहरूसँग चाहिँ ‘तपाईंहरूको सहमतिबिना निर्वाचन घोषणा नगरिने’ बताउने गरेका कारण मोर्चाका नेताहरू रुष्ट भएका हुन् । सहमति खोज्न गत सोमबार आफ्नो निवासस्थान बालुवाटारमा मधेसी मोर्चाका नेताहरूसँगको बैठक आयोजना गर्नुभएका प्रचण्डसमक्ष मोर्चाका नेताहरूले कडा आक्रोश प्रकट गरे । उनीहरूको भनाइ थियो, ‘स्थानीय निकायको निर्वाचन प्रदेशले उपयुक्त समयमा गराउँछ, यो प्रदेशको अधिकार–क्षेत्रको कुरा हो, सबभन्दा पहिले संविधान संशोधन गरेर प्रदेश तहको निर्वाचन गरिनुपर्छ ।’ राप्रपा र गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई साथ लिएर संसद्बाट संशोधन प्रस्ताव पारित गराइनुपर्छ भन्दै मोर्चाका नेता महन्थ ठाकुरले भन्नुभएको थियो, ‘यदि संविधान संशोधन नगरीकन चुनाव घोषणा गरिन्छ भने हामी सशक्त सङ्घर्षमा जान्छौँ, त्यसबेला तपाईंहरूको प्रहरी र सेनाले पनि केही गर्न सक्नेछैन, मधेसमा अब तपाईंहरूको केही चल्नेछैन, हामी चल्न दिँदैनौँ ।’

संवादका क्रममा उनीहरूले ‘सरकारले दिएको समर्थन किन कायम राख्ने भन्ने प्रश्न पनि प्रचण्डसँग गरेका थिए । मोर्चाका नेताहरूको आक्रोश देखेर प्रधानमन्त्री प्रचण्ड र काङ्गे्रस सभापति शेरबहादुर देउवा स्तब्ध हुनुभएको थियो । उनीहरूको कुरा सुनिसकेपछि सभापति देउवाले ‘तपाईंहरूले स्थानीय निकायको निर्वाचन गर्न नचाहेको हो’ भनी प्रश्न गर्नुभएको थियो भने प्रचण्डले चाहिँ चुनाव त गराउनैपर्छ, तर तपाईंहरूसँग पछि बसेर फेरि छलफल गरौँला भनी स्थिति साम्य पार्ने प्रयास गर्नुभएको थियो । छलफलका क्रममा नेता ठाकुरले ‘एमालेलाई सहमतिमा नल्याईकन संशोधनको अर्थ नहुने हुनाले एमालेलाई पनि सहमतिमा ल्याउनुपर्छ’ भनी भन्नुभएको कुरालाई काङ्गे्रस र माओवादीका नेताहरूले अर्थपूर्ण मानेका छन् । एमालेलाई सहमतिमा ल्याउने, संविधान संशोधन गराउने, निर्वाचन गराउने र मधेसी मोर्चालाई मनाउने, यी चार विषय नै वर्तमान सत्तापक्षको मुख्य चुनौती हुन् । एमाले र मधेसी मोर्चा आ–आफ्ना अडानमा कायम रहेसम्म नेपाली राजनीतिमा देखापरेको गाँठो फुक्न र निकास निस्कन असम्भव देखिएको छ ।