नटराजको नगद फिर्ता होला ?

नटराजको नगद फिर्ता होला ?


Bimalendra-Nidhi
गृह मन्त्रालय सम्हाल्नुहुने उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौं विश्वविद्यालयको उपकुलपति बनाइदिने भनी एक मेडिकल कलेज सञ्चालकबाट लिएको रकम सम्बन्धित पक्षलाई फिर्ता गर्ने हुन् कि होइनन्– व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ । प्राप्त जानकारीअनुसार काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूको कार्यकाल पूरा भएपछि उक्त पदमा त्यहीँका रजिष्ट्रार भोला थापालाई नियुक्त गरिदिने सर्तमा चितवन मेडिकल कलेजका सञ्चालक भारतीय नागरिक नटराजबाट विमलेन्द्र निधिले दुई करोड रुपैयाँ बुझेको चर्चा चितवनदेखि धुलिखेलसम्म चलेको थियो । प्रधानमन्त्री प्रचण्डदेखि ठूला पार्टीका अन्य कतिपय नेताहरूसमेत भोला थापाका पक्षमा उभिएका थिए । तर, विश्वविद्यालयको उपकुलपति रहँदा डा. रामकण्ठबाट भएका कामको उच्च मूल्याङ्कन गर्दै जनस्तरबाट समेत व्यापक दबाब पैदा भएपछि सरकार रामकण्ठलाई नै उपकुलपति नियुक्त गर्न बाध्य भएको थियो ।
पद रिक्त भएको दुई महिनासम्म अनेकौँ प्रयत्न गर्दा पनि प्रचण्ड र विमलेन्द्र निधि थापालाई उपकुलपति नियुक्ति गर्न असफल हुनुभएको थियो ।

स्मरणीय छ, काठमाडौं विश्वविद्यालयअन्तर्गत सम्बन्धन पाएका दशवटा मेडिकल कलेज छन् र तीमध्ये एक चितवन मेडिकल कलेज पनि हो । त्यसरी उपकुलपति आफ्नो मान्छे बनाउन मेडिकल कलेजका सञ्चालकले ‘लगानी’ गर्नुको एक मात्र कारण विद्यार्थी भर्नाको कोटा बढाउन हो । उपकुलपतिको कृपाले दश या बीसजना मात्र विद्यार्थी भर्नाको कोटा बढ्न सक्यो भने पनि कलेजको आम्दानीमा वर्षेनी करोडौँ रुपैयाँ वृद्धि हुन सक्छ । नटराजले विमलेन्द्र निधिबाहेक प्रचण्डलाई पनि प्रभावमा पारेको बताइन्छ ।