सिके राउत गिरफ्तार

सिके राउत गिरफ्तार


CK

स्वतन्त्र मधेस अभियानमा सक्रिय सिके राउत भनेर चिनिने चन्द्रकान्त राउतलाई धनुषा प्रहरीले जनकपुरस्थित उनकै कोठाबाठ पक्राउ गरेको छ । सप्तरीका राउतले सार्वजनिक स्थलमै नेपाल टुक्र्याउने धम्की दिँदा पनि सरकारले कारवाही गर्न नसकेको भन्दै तीव्र आलोचना भइरहेको थियो । यही दबाब थेग्न नसकी राउतलाई पक्राउ गर्न प्रचण्ड सरकार बाध्य बनेको आँकलन गरिएको छ । यही माघ ५ गते राउतले सिराहाको लाहानमा आयोजना गरेको सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएका थिए । धनुषा प्रहरीले राउतलाई सिराहा पठाउने र उनमाथि राज्य विप्लवको मुद्धा लगाइने तयारी भएको बुझिएको छ । राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।

बताइएअनुसार राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुन्छ । उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुईवर्षसम्म कैद सजाय हुन्छ । राउतमाथि यसअघि पनि राज्य विप्लवको मुद्धा चलाइएको थियो, तर उनलाई पछि रिहा गरिएको थियो ।

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत कुनैवेला अमेरिकामा एक साइन्टिस्टका रुपमा काम गर्दथे । करिव पाँच वर्षअघि एकाएक काम छोडेर राउत नेपाल फर्केका हुन् । विद्यार्थीकालमा प्रतिभाशाली छात्रका रुपमा चिनिएका उनले युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड हासिल गरेका थिए । अमेरिकामा हुँदा नै उनले गैरआवासीय मधेशी संघ स्थापना गरेका थिए । मधेशी हकहितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत मधेसीहरुको उक्त संस्थाका उनी संस्थापक अध्यक्ष हुन् । यस्तै, पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी डिमोसन गरी सहायक विभागीय प्रमुख बनाएपछि सिके राजीनामा दिएर हिँडेका थिए भने त्यसपछि जापान सरकारको मोनबूशो स्कलरशीप पाएर उनी जापान पुगेका थिए । जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा भगवान खोज्ने भन्दै गेरू वस्त्र लिएर राउत घरबाट निस्केका उनलाई चिन्नेहरु बताउँछन् । सो क्रममा भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म उनी पुगेका थिए ।