वैधानिक ओलम्पिक कमिटीको बोर्डबैठक

वैधानिक ओलम्पिक कमिटीको बोर्डबैठक


rukma

रुक्मशमशेर राणा अध्यक्ष रहेको वैधानिक नेपाल ओलम्पिक कमिटीको बोर्ड मिटिङ सम्पन्न भएको छ । सर्वोच्चको निर्णय कार्यान्वयनपछि उक्त राष्ट्रिय मान्यताप्राप्त वैधानिक एनओसीको बोर्डबैठक राणाको अध्यक्षतामा पहिलोपटक बसेको हो । उक्त बोर्डबैठकले ओलम्पिक विवादलाई पूर्ण रूपमा समाप्त पार्ने निर्णय गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पत्राचार गरेको छ । प्राप्त जानकारीअनुसार राणा एनओेसीले दशवटा मुख्य एजेन्डामा छलफल गरी निर्णयसमेत गरेको छ । जसमा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र सहसचिव चूडामणि पोखरेलको अवैधानिक ओलम्पिक कमिटीसँगको साँठगाँठ र रसिया भ्रमणबारे ध्यानाकर्षणसमेत रहेको छ ।

राणा एनओसीले आफ्नो पहिलो बोर्डबैठकमा गरेको निर्णयलाई कार्यान्वयन गर्दै सर्वप्रथम अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), ओलम्पिक कमिटी अफ एसिया (ओसीए) लाई अन्तर्राट्रिय मान्यताका लागि पत्राचार गरेको छ । त्यस्तै अवैधानिक ओलम्पिक कमिटीले प्रयोग गरेका बैंक खाता रोक्का गर्न खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राष्ट्र बैंकलाई पनि पत्राचार गरेको छ । यसैगरी राष्ट्रिय खेलकुद सङ्घहरूलाई आबद्धताका लागि राखेपमार्फत पत्राचार गरेको छ । साथै २०१८ मा नेपालमा आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि राणाको अध्यक्षतामा आयोजक समिति गठन गर्ने पहल निर्णयसमेत गरेको छ । प्राप्त जानकारीअनुसार यही माघ २७ गतेदेखि राणाले सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनबाट कार्य शुभारम्भ गर्ने थाहा भएको छ ।