एनओसीको नाम, जीवनरामको किर्ते काम

एनओसीको नाम, जीवनरामको किर्ते काम


jivanram

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल ओलम्पिक कमिटीको नाममा किर्ते र जालसाँझी गरेको जानकारीमा आएको छ । श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसीए) बाट आउने आर्थिक सहयोग नेपाल ओलम्पिक कमिटीको नाममा खाता खोलेर किर्ते गरेको खुलासा भएको छ । श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा नेपाल ओलम्पिक कमिटीको नाममा ०४००१०१०२५००४७ नम्बरको खाता खोेलेका छन् । त्यस्तै, श्रेष्ठले २४२२५२४४४०३२००१७ नम्बरको अर्को संयुक्त तथा व्यक्तिगत खाता माछापुच्छ«्रे बैंकमा खोलेका छन् । प्राप्त जानकारीअनुसार आईओसी र ओसीएले आर्थिक सहयोग र अन्य शीर्षकमा नेपाल ओलम्पिक कमिटीको खातामा रकम पठाएपछि उक्त रकमलाई व्यक्तिगत खातामा लगेर व्यक्तिगत रूपमा खर्च गर्दै आएका छन् ।

उक्त संयुक्त व्यक्तिगत खाता अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव टेन्डी लामा शेर्पा र कोषाध्यक्ष रतन टण्डनको नाममा खोलिएको छ । दुईजनाको हस्ताक्षरबाट रकम निकाल्न सकिने व्यवस्था गरिएको उक्त खाताबाट रकम निकाल्न प्रायजसो अध्यक्ष श्रेष्ठ र महासचिव शेर्पाले हस्ताक्षर गरेका छन् । कुनै–कुनै चेकमा कोषाध्यक्ष टण्डनको पनि हस्ताक्षर रहेको छ । आईओसी र ओसीएले भूकम्पपीडित अन्तर्राष्ट्रिय खेलाडीलाई राहतस्वरूप आर्थिक सहयोग गर्दै इन्भेष्टमेन्टमा रहेको नेपाल ओलम्पिक कमिटीको खातामा रकम पठाएको थियो । तर, पछि उक्त रकम नेपाल ओलम्पिक कमिटीको खाताबाट निकालेर संयुक्त खातामा राखेर व्यक्तिगत रूपमा खर्च गरिएको थियो । अब प्रश्न उठ्छ– नेपाल ओलम्पिक कमिटीको खाता हुँदाहुँदै आईओसी र ओसीएले पठाएको रकम व्यक्तिगत खाताबाट कसरी खर्च गर्न मिल्छ ? यहाँ श्रेष्ठ एन्ड कम्पनीले नेपाल ओलम्पिक कमिटीको नाम दुरुपयोग गर्दै व्यक्तिगत फाइदा लिई नेपाल ओलम्पिक कमिटीको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बदनाम गरिरहेको प्रस्ट हुन्छ । यो कुराको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा राखिएको राष्ट्रिय ओलम्पिक कमिटीको साइनबोर्ड, नेपाल ओलम्पिक कमिटीको झन्डा हेर्दा पनि सोझै अनुमान लगाउन सकिन्छ । श्रेष्ठको ओलम्पिक कमिटी अवैधानिक हो र उक्त संस्था अवैधानिक रूपमा चलेको छ भनेर ।

सङ्घसंस्था ऐन २०३४ अन्तर्गत ऐनको अन्तिम अनुसूचीमा कुनै पनि सङ्घसंस्थाको लोगो छाप दर्ता गर्नुपर्ने व्यवस्था छ । सोअनुरूप डोटी जिल्लामा दर्ता भएको राष्ट्रिय ओलम्पिक कमिटीको पनि लोगो र छाप दर्ता भएको थियो । तर, डोटी जिल्लामा २०६८ सालमा आईएनजीओको रूपमा दर्ता भएको राष्ट्रिय ओलम्पिक कमिटीले अहिले नेपाल ओलम्पिक कमिटीको नाम, लोगो र छापको दुरुपयोग गर्दै आएको प्रस्ट रूपमा देखिन्छ । उक्त कुरा यसै समाचारमा प्रकाशित तस्बिरले प्रमाणित गर्दछ । जसमा राष्ट्रिय ओलम्पिक कमिटीको बेग्लै संस्था भएको प्रस्ट पार्छ । यसर्थमा कि उक्त संस्थाको लेटरहेड, लोगो र नाम भिन्दै छ । तर, पछि त्यो संस्थाले नेपाल ओलम्पिक कमिटीको लेटरहेट, लोगो र छाप प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा भ्रमको खेती गरिरहेको प्रस्ट रूपमा देख्न सकिन्छ । जुन कानुन विपरीत छ । एउटाको दर्ता र अर्कोको प्रयोग भएको प्रस्ट रूपमा देखिएको छ । यदि यसो गरिएको ठहर भएमा प्रयोगकर्ताले किर्ते र जालसाँझी ऐनअन्तर्गत कानुनी सजायको भागीदार बन्नुपर्छ ।

यसरी आईओसी र ओसीएले नेपाल ओलम्पिक कमिटीलाई आर्थिक सहयोगस्वरूप पठाएको रकम अध्यक्ष श्रेष्ठ र महासचिव शेर्पाले आफूखुसी खर्च गर्दै आएका छन् । त्यो पनि संयुक्त व्यक्तिगत खाता खोलेर । अब उनीहरूलाई किर्ते जालसाँझी गरेर नेपाल ओलम्पिक कमिटीको रकम दुरुपयोग गरेकोमा मुद्दा चलाइने राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका सदस्यले बताएका छन् । ‘यो त ट्रेलर मात्रै हो, हामी अन्य कुराको पनि खोजतलासमा लागेका छौँ । उनीहरूले गरेका हरेक कर्तुतको पर्दाफास गर्दै जानेछौँ । सबैको सही समय हुन्छ हामी सही समयको प्रतीक्षामा छौँ,’ उनले भने ।