
बेलायतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका गुल्मेलीले एम्बुलेन्स सञ्चालनका लागि गुल्मी जिल्ला यूके समाजलाई नौ लाख र आशा अपाङ्ग केन्द्रलाई तीन लाख गरी १२ लाख रकम सहयोग गरेका छन् । सन् २००७ मा गठन भएको समाजले हालसम्म जिल्लाका थुप्रै अपाङ्ग, असहाय र प्राकृतिक प्रकोपबाट विपत्मा परेका गुल्मीवासीको उद्धार गर्दै आएको छ ।
संस्थापक अध्यक्ष ओमप्रसाद थापा रहेको उक्त समाजले सन २०११ देखि बेलायतमा विश्व अपाङ्ग दिवसका अवसरमा च्यारिटी सो गरेर आशा अपाङ्ग केन्द्र तम्घास गुल्मीमार्फत यहाँका अपाङ्गको उपचार र उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको हो । त्यस्तै, भूकम्पपीडित, अग्निपीडित, खर्च अभावका कारण उपचार पाउन नसकेका र घरबास नभएकालाई घरबाससमेत समाजले बनाइदिने गरेको छ ।
जिल्लाका चार स्थानमा एम्बुलेन्स सेवा सञ्चालन गरेको समाजले गुल्मीमा स्थापना भएको रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को भवन निर्माणका लागि नौ लाख रुपैयाँसमेत नेपाल रेडक्रस सोसाइटी तम्घासलाई हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष राम गलामी, उपाध्यक्ष राजन खरेल, अर्का उपाध्यक्ष फणीन्द्र भट्टराई, महासचिव शिव भण्डारी, सल्लाहकार तथा पूर्वउपाध्यक्ष विनोद ज्ञवाली र सदस्य राजु मल्लसहितको टोली बेलायतबाट आई गत आइतबार एक भव्य समारोहबीच रकम हस्तान्तरण गरेको हो । टोलीले यहाँका अपाङ्गको सेवामा आशा अपाङ्ग केन्द्रलाई थप तीन लाख रुपैयाँ पनि हस्तान्तरण गरेको छ । कार्यक्रमका सहभागी वक्ताहरूले यहाँका अपाङ्ग, असहाय र विपद्मा परेकाका लागि गुल्मी जिल्ला समाज यूके असली सरकारका रूपमा प्रकट भएको अभिव्यक्ति दिए ।
वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन (कान्छीदिदी) को प्रमुख आतिथ्यता र सांसद कृष्णप्रसाद छन्त्यालको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो । राज्यमन्त्री ज्वारचनले गुल्मी जिल्ला समाज यूकेको जति प्रशंसा गरे पनि कम हुने बताइन् भने सांसद छन्त्यालले चाहिँ गुल्मी जिल्ला यूके समाजझैँ आफूहरू पनि प्रशंसाको पात्र बन्नुपर्नेमा त्यस्तो हुन नसकेको स्वीकार गर्दै अब आफू पनि रेडक्रसलाई सहयोग उपलब्ध गराएर प्रशंसाको हकदार बन्ने कोसिसमा रहेको जानकारी दिए । सहयोगी संस्था गुल्मी जिल्ला यूके समाज र त्यहाँबाट आएको टोलीलाई दोसल्ला तथा कदरपत्रसहित सम्मान गरिएको थियो ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया