प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गर्नुपर्ने मिति (२०७३ चैत मसान्त) नजिकिँदै गएपछि नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अर्कै प्रकरणले दबाब बढ्न थालेको छ । काङ्गे्रस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको चारबुँदे सम्झौताअनुसार प्रचण्डले आगामी वैशाख १ गते देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने हुन्छ । वैशाख ३१ गते स्थानीय निर्वाचन गराउने घोषणा भएपछि कम्तीमा थप एक महिना प्रचण्ड पद त्याग गर्न तयार नहुने सम्भावना बढेको छ । यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि ‘एक व्यक्ति एक पद’को सिद्धान्त कार्यान्वयन गराउन दबाब बढ्न थालेको छ । प्राप्त जानकारीअनुसार नेपाली काङ्गे्रसका केही केन्द्रीय सदस्य तथा सांसदहरूले त्यसरी दबाब दिएका हुन् । पौडेलको निवासस्थान पुगेर दबाब दिने काङ्गे्रस नेताहरूले ‘पार्टीमा देउवाको मनपरी बढेको र कुनै पनि महत्वपूर्ण निर्णय संस्थागत पद्धतिअनुरूप नभएको’ भन्दै पार्टीलाई संस्थागत ढङ्गले चलाउन ‘एक व्यक्ति एक पद’को अवधारणा कार्यान्वयनमा ल्याउनका लागि विशेष तत्परता लिन पौडेलमाथि दबाब दिएका हुन् । उनीहरूले संसदीय दलको नेता पद आफैँले लिन या अन्य कुनै नेतालाई उक्त जिम्मेवारी दिलाउन पौडेलको सक्रियता आवश्यक भएको बताएका छन् ।
दबाब दिनेहरूको भनाइ पार्टी सभापतिको जिम्मेवारीमा देउवा रहनुभएपछि संसदीय दलको नेता पदचाहिँ उहाँले परित्याग गर्नुपर्छ भन्ने रहेको छ । त्यसो गर्दा सभापति देउवा पार्टी काममा केन्द्रित रहनुहुने र त्यसले पार्टीलाई लाभ पु¥याउने तर्क दबाबकर्ताहरूको छ । ‘तपाईं यस निम्ति अघि बढ्न नसक्ने हो भने हामी तपाईंको साथमा रहने छैनौँ’ भनी उनीहरूले पौडेललाई चेतावनी दिएको बताइन्छ । यस सम्बन्धमा रामचन्द्र पौडेलसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘साथीहरूले पार्टी र लोकतन्त्रको भविष्यलाई लिएर मसँग चिन्ता प्रकट गरेका हुन् । एक व्यक्ति एक पदको अवधारणा पहिले देउवाजीले नै ल्याउनुभएको हो, यस्तो अवधारणा कार्यान्वयन हुन सक्दा पार्टी, लोकतन्त्र र मुलुकलाई राम्रो हुने मेरो पनि विश्वास छ । देउवाजी पनि यसमा सहमत हुनुहुने विश्वास मैले गरेको छु ।’
पौडेलको यो भनाइले पनि उहाँमाथि दबाब परेको स्पष्ट सङ्केत गर्दछ । काङ्गे्रसमा एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन गर्न अभियान सुरु भएमा त्यसको सीधा असर प्रचण्डपछिका प्रधानमन्त्री चयनमा पर्ने देखिएको छ । देउवा संसदीय दलको नेता पद त्याग गर्न तयार हुनुहुने सम्भावना कमै मात्र रहेको छ । देउवाले दलको नेता पद सजिलै परित्याग नगरेमा संसदीय दलमा देउवाका विरुद्ध अविश्वासको प्रस्ताव ल्याइने सम्भावना छ । पदाधिकारी चयन र केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिएको विषयलाई लिएर सभापति देउवाप्रति असन्तुष्टि बढेको छ । गत महाधिवेशनमा देउवाका सहयोगी भूमिकामा रहेका नेताहरू पनि अहिले उहाँप्रति असन्तुष्ट बनेका छन् । त्यसैले विगतमा देउवाका सहयोगी रहेका नेताहरूको साथसमेत पौडेलले पाउन सक्ने सम्भावना छ । कदाचित देउवाका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरियो भने दलको नेता पद जोगाउन उहाँलाई निकै मुस्किल पर्ने देखिन्छ । काङ्गे्रसभित्र यस प्रकारको विवाद उत्पन्न भएमा त्यसको सीधा लाभ भने प्रधानमन्त्री प्रचण्डलाई प्राप्त हुनेमा शङ्का गर्नुपर्दैन ।
प्रतिक्रिया