जनचाहनामाथि नहोस् कुठाराघात

जनचाहनामाथि नहोस् कुठाराघात


Indra Baral 2

– इन्द्रबहादुर बराल

पार्टीका आन्तरिक मामिलालाई प्रचारबाजी गरेर आसन्न स्थानीय चुनावलाई नकारात्मक प्रभावतर्फ धकेलिँदै छ । यदि कहीँ–कतै त्रुटि भएको हो भने शीघ्र सच्याउनु पार्टीको हितमा हुनेछ । अबका बहस र टिप्पणीहरू आगामी वैशाख ३१ गतेको निर्वाचनतर्फ केन्द्रित गर्दै सम्पूर्ण कार्यकर्ता र आमनेपाली जनतालाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्रको विकास र समृद्धिका लागि सहयोग जुट्ने खालका क्रिया–प्रतिक्रियाहरू मात्र सार्वजनिक गर्दा नेता, पार्टी अनि जनताको हितमा जनमत तयार हुने निश्चित छ । अन्यथा नेपाली काङ्गे्रस इतिहासको पानामा सीमित राख्ने षड्यन्त्रकारीको योजनाबाट फुत्कन कठिन छ ।

पट्यारलाग्दो प्रतीक्षाको अन्त्य गर्दै वर्तमान सरकारले आगामी ०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । चुनावको तिथि घोषणा मात्रै किन नहोस्, यो आफैँमा सकारात्मक कदम हो । यद्यपि, स्थानीय तहको निर्वाचन हुन्छ–हुँदैन यस्तै बहसहरू माथिल्लो तहमा चर्चा चलिरहे पनि स्थानीय तहमा छ भने चुनावी रन्को आइसकेको छ । नगर प्रमुखदेखि गाउँपालिका प्रमुखसम्म कुन पार्टी को–को उम्मेदवार बनाउँदै छन् वा को–कसले उम्मेदवारीको इच्छा राखेका छन् भन्ने आमजिज्ञाशाले चुनावी वातावरण बन्दै गएको सन्दर्भमा अब कहीँकतैबाट कुनै पनि बहानामा चुनाव रोक्न खोज्नु तल्लो तहका जनतामाथि घोर बेइमानी मात्रै होइन कुठाराघात नै हुनेछ । यसर्थ, सबै राजनीतिकदेखि सचेत नागरिकहरू अत्यन्त गम्भीर र जिम्मेवार हुन जरुरी छ । कताकता देखिन थालेको अन्योलको तुवाँलो चिर्दै स्थानीय तहको निर्वाचन गर्ने–गराउने कामको अब विकल्प छैन । करिब दुई दशक बितिसक्यो, गाउँ–नगरका जनता आमाबाबुविहीन टुहुरा बनेको देख्दादेख्दै पनि निहित राजनीतिक स्वाथसिद्धिका लागि अनुत्तरदायी बन्दै गयौँ भने अवश्य पनि पश्चगामी तप्काहरूले मुन्टो उठाउनेछन् भन्ने तथ्य कदापि बिर्सन हुँदैन । होइन भने अग्रगामी राजनीतिका सबै उपलब्धिहरू पानीका फोकाजस्तै हुन बेर छैन । त्यसैले राष्ट्रका प्रमुख शक्तिहरू विशेष गरेर नेपाली काङ्गे्रस, एमाले र माओवादी केन्द्र जवाफदेही बन्नैपर्छ ।

यो बेला पार्टीका आन्तरिक विवाद र असन्तुष्टि सडकमा छताछुल्ल पार्ने नभई एकताबद्ध हुँदै आमनेपालीको चाहना र नेपालको संविधान ०७२ को भावनाअनुसार निर्धारित समयमा नै चुनाव सम्पन्न गराउनु हो । यदि यस कार्यभार सम्पन्न गर्न भने लोकतन्त्रको आत्मा मर्न सक्छ । विचारको विविधतामा गरिने आवधिक निर्वाचन नै लोकतन्त्रको अमर आत्मा हो जसको अभावमा लोकतन्त्रको कुनै अर्थ रहँदैन । यो शाश्वत सत्यलाई दलीय स्वार्थका कारण भताभुङ्ग पार्न खोज्नु राजनीतिक बेइमानी हो । त्यसकारण घोषित स्थानीय तहको निर्वाचन हुन्छ भन्ने विश्वासका साथ गाउँगाउँमा जागरण अभियान तीव्रता साथ चलाउनुपर्छ । त्यसमा पनि वास्तविक लोकतान्त्रिक पार्टी हुनुको नाताले नेपाली काङ्गे्रसले अझै अग्रता देखाउनुपर्ने हुन्छ ।
काङ्गे्रसले आन्तरिक विवाद, असन्तुष्टि र किचलो घरभित्रको समस्या हो, त्यसैले विवाद, असन्तुष्टि र किचलोलाई घरभित्रै मिलाउनुपर्छ । यदि काङ्गे्रस आन्तरिक कलहमा फस्यो भने रणनीतिक रूपमा प्रजातन्त्रवादी बनेकाहरूले खेल्ने अवसर पाउनेछन् । त्यसबेला प्रजातन्त्रको भविष्य के हुनेछ भन्न सकिँदैन । यद्यपि वर्तमान राजनीतिको परिदृश्य त्यस्तो नदेखिए पनि अझै केही शक्तिहरू लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध छैनन् भन्ने आभास भइरहेको छ । यस सन्दर्भमा पनि नेपाली काङ्गे्रसले गम्भीरतापूर्वक चिन्तनमनन गर्न आवश्यक छ ।

अब गरिन लागेको स्थानीय चुनाव मिनी जनमतसङ्ग्रह हो । यस्तो महत्वपूर्ण र प्रत्यक्ष तवरले तल्लो तहका जनतालाई प्रभाव पार्ने चुनावमा एक ढिक्का हुन नसके के हुन्छ भनिराख्नुपर्ने विषय होइन । ‘दूधको साक्षी बिरालो’ कदापि हुन सक्दैन । त्यसैले प्रजातन्त्र भन्नुहोस् वा लोकतन्त्र जे भने पनि त्यसको पहरेदार पार्टी नेपाली काङ्गे्रस चनाखो हुनैपर्छ । वामपन्थी पार्टी अहिले बहुमतमा छन्, उनीहरूबीच कुनै पनि बेला एकता हुन सक्ने सम्भावना नकार्न सकिँदैन । यो पाटोबाट पनि नेपाली काङ्गे्रस अत्यन्तै गम्भीर एवम् संवेदनशील हुन अपरिहार्य छ । वामपन्थीहरू पनि प्रजातान्त्रिक अभ्यासमा लागेका छन्, तर प्रजातान्त्रिक पद्धतिप्रति कति विश्वस्त छन् त्यो भने थाहा छैन । त्यसैले नेपाली काङ्गे्रस प्रजातन्त्रकै लागि जन्मिएको पार्टी भएकाले पद्धति जोगाउने काममा पनि उसकै अहम् भूमिका रहन्छ । अर्को, भरपर्दो र विश्वासिलो प्रजातान्त्रिक पार्टी दरो रूपमा नदेखिएसम्म प्रजातान्त्रिक मर्म र भावनालाई बुझेका तमाम नेपालीले नेपाली काङ्गे्रसलाई मलजल गर्दै आएका हुन् । प्रजातन्त्रको मियोको रूपमा रहेको प्राध्यापक सङ्घ होस् वा कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनसम्मको फिडब्याक पाएको छ नेपाली काङ्गे्रसले ।

त्यस्तै, नेपालका इन्जिनियरहरूको छाता सङ्गठन इन्जिनियर एसोसिएसनदेखि चिकित्सकहरूको छाता सङ्गठन चिकित्सक सङ्घले समेत निरन्तर प्रजातन्त्रको पुनस्र्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा उनीहरूले गरेको योगदानलाई बिर्सन सकिँदैन । देशका प्रबुद्ध वर्ग प्राध्यापकदेखि वकिलसम्म र इन्जिनियरदेखि चिकित्सकसम्मले ढपक्कै ढाकेको नेपाली काङ्गे्रस कुनै दृष्टिबाट पनि कमजोर देखिनुहुँदैन । तर, नेतृत्व वर्ग कहीँ–कतै धर्मराएको हो कि जस्तो यदाकदा छनक पाइन्छ । त्यसमा पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको क्रममा भएको प्रतिस्पर्धाबाट हारजितको नकारात्मक असर अझै देखिनु दुःखद् हो । चुनावमा जित्नेले हार्ने पक्षको पनि स्वाभाविक भावनालाई समेट्दै पार्टीलाई गतिशील बनाउनु हो भने हार्नेले पनि सकारात्मक सहयोग गर्दै जानुपर्नेमा प्रतिपक्षको जस्तो भूमिका देखिनु पार्टीका लागि हानिकारक हो ।

पार्टीका आन्तरिक मामिलालाई प्रचारबाजी गरेर आसन्न स्थानीय चुनावलाई नकारात्मक प्रभावतर्फ धकेलिँदै छ । यदि कहीँ–कतै त्रुटि भएको हो भने शीघ्र सच्याउनु पार्टीको हितमा हुनेछ । अबका बहस र टिप्पणीहरू आगामी वैशाख ३१ गतेको निर्वाचनतर्फ केन्द्रित गर्दै सम्पूर्ण कार्यकर्ता र आमनेपाली जनतालाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्रको विकास र समृद्धिका लागि सहयोग जुट्ने खालका क्रिया–प्रतिक्रियाहरू मात्र सार्वजनिक गर्दा नेता, पार्टी अनि जनताको हितमा जनमत तयार हुने निश्चित छ । अन्यथा नेपाली काङ्गे्रस इतिहासको पानामा सीमित राख्ने षड्यन्त्रकारीको योजनाबाट फुत्कन कठिन छ ।