अनेसास र नेपाली साहित्य

अनेसास र नेपाली साहित्य


भू.पू गुर्खा सैनिक गणेश राईले आफ्नो पहिलो पुस्तक ‘राइफको नालबाट जीवन नियाल्दा’मा ‘पोकाएर’ भन्ने एक शब्द राखेका थिए । पोको बोकाएर भन्ने शब्दहरुलाई जोडेर पोकाएर भनिएको मलाई भने अत्यन्तै मीठो लागेको थियो । ‘म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु…’ भन्ने गतिबाट नेपाली साँगीतिक क्षेत्रमा तुरुन्तै चर्चामा आएका मुरलीधरले उक्त गीतलाई गजल नभनी गीतल भन्नु पर्ने सुझाव राखेका थिए । हिन्दी भाषामा गजल भनिएकोलाई नेपालीमा गीतल भनिनु पर्ने उनको तर्क मलाई त्यति बेला अन्यन्तै मन परेको थियो । त्यस्तै हङकङमा हरेक छ महिनामा कंगन कवि गोष्टीमा आफ्नो पालामा कविता सुनाउने क्रममा देबेन्द्र खेरेशले ‘रुङ्ग्री’ भन्ने आफ्नो जातीय भाषाको शब्दलाई उक्त कवितामा प्रयोग गरेर सुनाएका थिए । सातो भन्ने भावार्थ राख्ने त्यो शब्द मलाई सातो भन्दा निक्कै राम्रो र मीठो लागेको थियो । त्यस्तै मैले आफ्नो एक लेखमा ‘मनभरि रहरहरु पेन्डिङ परेर रहने भएकोले रहरहरु सबै ‘स्क्राम्बल’ होला भन्ने पीर छ मलाई’ भनेर लेखेको थिएँ । मेरा केही असाहित्यिक जमातमा त्यो शब्द वाक्यसहित निकै प्रयोग गरिन थालिएको थियो । शब्दहरुको विभिन्न शैली र अवस्थाहरुमा गरिन थालिएको हजारौं प्रयोगहरु मध्येका केही उदाहरणहरु माथि राखिएको किन पनि हो भने शब्दहरुलाई स्वभाविक रुपमा साहित्यकारहरु वा लेखकहरुले कुनै न कुनै अवस्थामा प्रयोगमा ल्याउने न हो । यसलाई पछि जोड्ने छु । अब मुख्य प्रसङ्गतिर लाग्छु –

वासिङ्गटनबाट सन् १९९१ म स्थापना भएको नेपाली साहित्य समाज जसलाई विस्तारै अन्तर्राष्ट्रिय नेपाली समाज भनेर अमेरिकाकै केही राज्यहरुमा कार्यसमितिका सानो आकारसहित बढाउँदै लगियो भने अहिले तीस राष्ट्रहरुमा र तीसजति अमेरिकी राज्यहरुमा च्याप्टरका नाममा यस संस्थाका शाखाहरुलाई मिडियामा ल्याउन लागियो । नेपाली भाषा, साहित्य, संस्कृति अनि संगीतहरुलाई विश्वव्यापी बनाउने भन्दै मुख्य ध्येय यो संस्थाले राखेको भनिएको छ । त्यसभित्र विभिन्न नेपाली कृतिहरुलाई अन्य भाषामा रुपान्तर गरेर त्यो परिवेशमा नेपाली साहित्यिक मनावेशहरु पस्कने भनिएको छ । अनेसासाले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्दै आएकोमा योपालि बेलायत च्याप्टरले त्यसको आयोजना गर्ने अभिभारा पाएको छ र त्यसैको लागि आगामी अगस्ट महिनाको २६, २७ र २८ तारिखका दिन, लण्डनमा हुने भएको छ, जसको तयारी भइरहेको छ । मुख्य रुपमा, विभिन्न देशहरुलाई प्रतिनिधित्व गर्ने मानिएर वेबमा समाचार बनेका प्रतिनिधिहरुलगायत केही सहभागीहरुले कविताहरु पाठ गर्ने र पछि संयुक्त रुपमा फोटो शेसन गर्ने अनि भोजभतेर खाने कार्य नै मुख्य रुपमा देखिने पक्का छ । यो किन पनि भनिएको हो भने, बितेका वर्षहरुमा अनेसास केन्द्र र उक्त संस्थाका च्याप्टरहरुबाट भएका, गरिएका कार्यक्रमहरुका केही समाचारहरुको अध्ययनबाट वास्तवमा चियाभन्दा केतली तातो भएको भान भएको छ । अनि खासगरी, अनेसासासँग केन्द्रीय तथा विभिन्न च्याप्टरहरुमा संलग्नता राख्ने व्यक्तिहरुका साहित्यिक रचनाहरु त्यत्तिको नदेखिनु अनि जो र जति देखिएका छन्, तिनका रचनामा साहित्यिक सिर्जनशीलताको धेरै नै अभाव लाग्ने खालका हुनु तथा संस्थामा लाग्ने वहुमतका सदस्यहरुलाई काम होइन, देन होइन, मात्र आफ्नो नाम पत्रपत्रिका आदि मिडियाहरुमा देख्नु रहेको लाग्नुले गर्दा अनेसास परिणामात्मक लाग्ला भन्ने सोंच्न त्यत्ति पाच्य लाग्दैन । साहित्यिक मनहरुले आलोचनालाई शक्तिको रुपमा लिने विश्वास गर्दै उक्त समाजसँग सम्वन्धित भएको नाताले पनि यो लेख्दैछु ।

संसारमा सबैभन्दा बढी बोलिने भाषा मन्डारिन हो तर अहिले अन्तर्राष्ट्रिय भाषाको रुपमा मान्यता पाएको र विभिन्न देशहरुमा दोस्रो भाषाको रुपमा रहँदै गएको अग्रेजी भाषा कुनै पनि स्तर र शैली अनि राष्ट्रियताका भाषाहरुलाई विश्वपटमा छाउनका लागि आधार बन्न थालेको छ । हाम्रा सिर्जनशीलताका पृष्ठभूमिहरुमा रहेका नेपाली रहनसहनहरु, शैली तथा पक्षहरु, भाव तथा विचारहरु, गाउँ तथा पखेराहरु, रहर तथा वाध्यताहरु तबसम्मन् विश्वव्यापी हुँदैनन् जबसम्म तिनले अन्तर्राष्ट्रिय दर्शक, श्रोता तथा पाठकहरु पाउँदैनन् । हाम्रालागि सामान्य लाग्ने पटकथाहरु अन्यका लागि रोचक लाग्दछन्, त्यसका लागि हामीलाई अन्तर्राष्ट्रिय प्रस्तुति चाहिन्छ, सोको लागि अन्तर्राष्ट्रिय भाषा चाहिन्छ । हाम्रो पनलाई अर्कोले ‘आहा !’ नभनेसम्म हामी सामान्य नै हुन्छौं । साहित्य शब्दहरु मात्र व्यत्त्याउँदैन, संस्कृति तथा कलाहरु पनि साथसाथमा व्यक्तिएको हुन्छ । विविध जातजाति तथा संस्कृतिहरुले धनी हामी नेपालीहरु खासगरी साहित्यिकतालाई त्यसैगरी जीवन्त पार्न असक्षम लागेका छौं, कारण, नेपाली साहित्यिकतामा समय विश्वव्यापी रुपमा सापेक्ष हुन सकेका छै्नन् एकातिर भने अर्कोतिर, सानो प्रशंसामा नै रम्ने बानीले नेपाली सर्जकहरु साँघुरो हुँदै गएका छन्, त्यसको घातक रुप भने नाममा मात्रै रमाउने प्रवृति देखिने कतिपय अनेसाससँग सम्वन्धितहरु रहेका छन् ।

वास्तवमा मनमा खेल्ने कुराहरुलाई अक्षरमा लेखिनु नै साहित्य हो । त्यसलाई खार्दै त्यही मनमा खेल्ने अनि खेलाइने कुराहरुलाई विभिन्न तरिका तथा शैलीबाट प्रस्तुत गरिन्छ भने त्यो सिर्जनशीलता हो । विभिन्न देशहरुमा बस्ने साहित्यकारहरु सो परिवेशजनक बन्दै लेख्न थाले नेपाली साहित्यिकताले व्याप्ति पाउने छ भने अवस्था र सन्दर्भ मिलाएर आगन्तुक शब्दहरुका साथै अप्रभ्रम्स गरी वा एकीकृत गरी बनाइएका शब्दहरुलाई कृतिहरुमा पाठकहरुलाई यातना लाग्ने नगरी घुसाउने प्रवृतिले नेपाली शब्द भण्डारलाई प्रशस्ती दिन्छ नै, त्यस्ता प्रयासहरु वास्तवमा अनेसाससँग आवद्धता राख्नेहरुले प्रयोग गर्दै जाने हो भने त्यसले उक्त परिवेशमा विस्तारता पाउने छ । अन्तर्राष्ट्रिय साहित्य मेलामा कविता पाठहरु हुनु भनेको थपथाप मात्र हुनुपर्दछ, समय सापेक्ष बनाएर प्रयोगात्मक वा सटिक विविध प्रकारका नेपाली संस्कृतिजन्य रचनाहरुलाई प्रतियोगितात्मक बनाई पुरस्कृत गर्ने गरिनु अर्को आभा हुनेथियो सम्मेलनको । यसबीच गीत-संगीतलगायत नेपाली विविध सांस्कृतिकताको प्रदर्शनी त छँदैछ । त्यसमा कार्यक्रमका संयोजकलगायत सम्वद्धहरुले विचार दिनेछन् भन्ने खासगरी मैले विश्वास भने गरेको छु । अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सफल होस् भन्ने कामना अन्त्यमा थप्दछु ।