यस्तो रहेछ लोहनी पछि हट्नुको रहस्य

यस्तो रहेछ लोहनी पछि हट्नुको रहस्य


Prakash chandra Lohani

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सम्पन्न भएको छ र कमल थापा भारी मतका साथ पार्टी अध्यक्ष चुनिएका छन् । तर, राप्रपाको अधिवेशनअघि सर्वसम्मत रूपमा थापालाई अध्यक्षको जिम्मेवारी दिइएको भनी झ्याली पिटाइएको र भोलिपल्टै सहमति तोडेर डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदमा थापालाई चुनौती दिने उद्घोष गरे पनि उम्मेदवारी दिनुबाट पछि हटेको सन्दर्भलाई अझै पनि आश्चर्ययुक्त जिज्ञासाको रूपमा लिइएको छ । वास्तवमा पार्टीभित्र देशव्यापी रूपमा थापाको दबदबा बढेको महसुस भएरै राप्रपाका चार वरिष्ठ नेताबीच बिनानिर्वाचन थापालाई नै अध्यक्षको जिम्मेवारी दिने सहमति भएको थियो । एकाएक उक्त सहमतिको आधिकारिकतामाथि नै प्रश्नचिह्न खडा गर्दै डा. लोहनीले अध्यक्ष पदमा आफ्नो दाबी कायम रहेको भन्दै उम्मेदवारी दिने दाबी गरेका थिए । तर, अन्ततः औपचारिक रूपले जानकारी वा प्रस्टीकरणसमेत नदिई किन उनी उम्मेदवारी नदिई पछि हटे त ? यसबारे रोचक जानकारी मिलेको छ ।

स्रोतका अनुसार कमल थापासँग जुधेरै देखाउने दृढ मानसिकता बनाइसकेका लोहनीलाई गलाउन भारतीय कङ्ग्रेस आईले विशेष भूमिका निर्वाह गरेको थियो । डा. लोहनी राप्रपाभित्रका बौद्धिक, सक्षम, अडानमा रहने र हिन्दूराष्ट्र तथा सेरेमोनियल राजसंस्थाका पक्षपाती भएकाले कङ्ग्रेस आईसम्बद्ध ‘शक्ति’ले पशुपतिशमशेर राणा, कमल थापा र लोकेन्द्रबहादुर चन्दबीच रातारात लोहनीलाई एक्ल्याउने एजेण्डामा सहमति गराएको थियो । यसअघि लोहनीले उम्मेदवारी नदिई नछोड्ने मानसिकता बनाएको बुझेर राणा र थापाहरू एकप्रकारले अत्तालिन पुगेका थिए । यस्तो उहापोहकै क्रममा लोहनीको सम्भावित उम्मेदवारी रोक्न राणा–थापाले खास जुक्ति लगाए । त्यो के थियो भने लोहनीलाई पार्टीको निर्देशन समितिको सभापति बनाएर पूर्ण आन्तरिक पावर दिएको घोषणा गरिदिने र उम्मेदवार बन्नबाट रोक्ने । यो सर्तमा डा. लोहनीले पनि मञ्जुरी दर्शाएका थिए । फलतः थापालाई सर्वसम्मत अध्यक्ष बन्ने बाटो पनि खुल्यो र सो कुरा प्रचारमा ल्याइयो । तर, जिल्ला–जिल्लाबाट महाधिवेशनका निम्ति राजधानीमा भेला भएका लोहनीसमर्थक कार्यकर्ताले थापामाथि विश्वास गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि पुनः लोहनी जुर्मुराउँदै पत्रकार सम्मेलन नै गरी आफ्नो उम्मेदवारी घोषणा गर्न पुगे भने थापालाई सर्वसम्मत अध्यक्ष बनाइने आन्तरिक सहमति यसरी फोस्रो साबित हुन पुगेको थियो ।

यसलगत्तै राणानिवासमा लोहनीलाई बोलाइयो र कमल थापाको पक्षमा सम्पूर्ण पदाधिकारीको समर्थन भएको हस्ताक्षरित ड्राफ्ट देखाई उम्मेदवारी नदिन दबाब दिइयो । यति मात्र नभई थापाको विपक्षमा रहेका मन्त्रीद्वय दीपक बोहोरा र विक्रम पाण्डेलाई समेत तत्काल कमल थापाको समर्थनमा सार्वजनिक अभिव्यक्ति नदिए मन्त्रीबाटै हट्न ठाडो आदेश दिइएको पनि डा. लोहनीले जानकारी पाए । यसरी पार्टीको आन्तरिक षड्यन्त्रमा फसिने र कालान्तरमा आफ्नो लागि त्यो प्रत्युत्पादक हुने ठहर गर्दै लोहनीले मानसिकता परिवर्तन गरे । बरु अधिवेशनपछि उपयुक्त अवसर हेरेर पार्टीमा आफ्नो शक्ति प्रयोग गर्दै प्रभाव बढाउँदै अघि बढ्ने रणनीतिसमेत ‘हलो’पक्षको गोप्य भेलाले तय गरेको बताइन्छ ।

लोहनीनिकट स्रोतले दाबी गरेअनुसार राजसंस्थाको एजेण्डामा पनि लोहनी एकदम सकारात्मक छन् । आवश्यक परे २०४७ को संविधानको कुरा उठाउनसमेत उनी तत्पर हुनेछन् । पार्टीले कदाचित संविधान संशोधनको पक्षमा उभिने निर्णय लिएमा आफ्नो खेमालाई घोषित रूपमै अलग्याउने लोहनी पक्षको सोच रहेको सुइँको पाएर कमल थापा तनावमा रहेको पनि बताइन्छ । यसप्रकार, अत्यधिक बहुमतले सभापति चुनिएका भए पनि एकल निर्णय लाद्न सक्ने अवस्थामा कमल थापा छैनन्, निर्देशन समितिको निर्णय पालना गर्दै चल्नुपर्ने बाध्यता उनलाई छ । राप्रपाकै थापा पक्ष नेताहरूचाहिँ अध्यक्ष कमल थापा यस्ता कुनै बाधा–अड्चनबाट मुक्त रहेका र उचित निर्णय लिन स्वतन्त्र रहेका दाबी गर्छन् । लोहनीको उम्मेदवारी रोक्न कुनै बाह्य शक्तिले भूमिका निर्वाह गरेको कुरा पनि कपोलकल्पित रहेको उनीहरूको भनाइ छ ।