राजदूत नियुक्तिमा यसरी गरियो विभेद

राजदूत नियुक्तिमा यसरी गरियो विभेद


सरकारले हालै गरेको राजदूत नियुक्ति प्रसङ्ग विवादित बन्न पुग्यो । विवादको मुख्य कारण के देखियो भने म्यानपावर व्यवसायीलाई किन राजदूतका लागि प्रस्तावित गरियो ? राजदूत चयन विवाद चरम उत्कर्षमा पुगेपछि सरकारले विवादास्पद भनिएका नाम फिर्ता गर्ने निर्णय ग¥यो, तर राजदूतबाट नाम फिर्ता लिँदा काङ्ग्रेसबाट प्रस्तावित आशा लामाको नाम मात्र फिर्ता गरियो । यदि विवादको जरो राजदूत हुने व्यक्ति म्यानपावर व्यवसायी हुनुहुँदैन भन्ने थियो भने आशा लामालाई मात्रै किन बलिको बोको बनाइयो ?

उल्लेखित प्रसङ्ग एक उदाहरण मात्रै हो । नेपालमा कानुनी राज्यको शासन स्थापित गर्ने कुरा त गरिन्छ, तर अन्तमा गएर कानुनको लठ्ठी कमजोरमाथि नै बज्रिन्छ । त्यसको उदाहरण हो राजदूतबाट आशा लामाको नाम फिर्ता हुनु । हो, आशा लामा यदि अछुत हुन् भने रमेश कोइराला र शर्मिला ढकाल कुन आधारमा पवित्र भए ? स्मरण रहोस्, झलनाथ खनालले ल्यारकाल लामालाई मन्त्री बनाउँदा नेपालको मिडियादेखि नेतासमेत ल्यारकालको विपक्षमा उभिएका थिए । फलस्वरूप ल्यारकाललाई मन्त्री पदबाट अपमानित गरेर बर्खास्त गरियो । यही कुरा आशा लामाको प्रकरणमा देखिएको छ । आशा लामाको नाम फिर्ता लिनुका साथै यो प्रसङ्ग सेलाएजस्तो प्रतीत हुन्छ । किनभने नेपालमा कानुनको लठ्ठीमा वर्ग, जाति, अनुहार छर्लङ्ग रूपमा तोकिएको देखिन्छ । माधव नेपालको प्रधानमन्त्रित्व कालमा हङकङको राजदूत नियुक्ति प्रसङ्गमा पनि ठूलो विवाद उठेको थियो । विवादको कारण थियो हङकङमा आदिवासी मूलका नेपाली समुदायको धेरै सङ्ख्यामा बसोबास भएको हुनाले हङकङको राजदूत नियुक्त गर्दा आदिवासी राजदूतको नियुक्ति गर्दा राम्रो हुने भन्ने । त्यहाँका नेपाली समुदायको माग त्यस्तो थियो, तर माधव नेपालले कानुनको धज्जी उडाउँदै राजदूत हुने मापदण्ड नपुगेका आफ्नो भाइलाई हङकङको राजदूत बनाएरै छाडे ।

रमेश कोइराला, शर्मिला ढकाल र आशा लामा तीनैजना म्यानपावर व्यवसायी हुन् । रमेश कोइराला कुन आधारले पवित्र घोषित भए ? शर्मिला ढकाललाई पवित्र बनाउन विजय गच्छदार जोडतोडले लागेको समाचार छ । दुर्भाग्य के छ भने दुर्गन्धित गच्छदाररूपी गंगाजलको छिड्कावले शर्मिला ढकाल पवित्र घोषित भएकी छिन् । के यही हो कानुनी शासन, कानुनी शासनको अवधारणा ? कानुनी शासनको स्वरूप यस्तै हुन्छ ? नेपालमा नियमको निर्माण त भयो, तर त्यो कार्यान्वयन गर्ने स्थानमा भने खोटी नियतका व्यक्तिहरूको हालीमुहाली चल्यो । नेपालका नीति निर्माताहरू कुवाको भ्यागुता मात्र भएर बस्नु भएन, नेपाललाई समृद्ध राष्ट्र बनाउनु छ भने फराकिलो सोचको विकास गर्नु अत्यन्त जरुरी छ ।

समावेशी गणतन्त्र नेपाल भनिन्छ, तर खोइ समावेशी ? सबैलाई समान अधिकारको कुरा गरिन्छ, तर खोइ अधिकार ? पूर्वाग्रहरहित राज्य सञ्चालनको कुरा गरिन्छ, तर खोइ पूर्वाग्रहरहित भई राज्य सञ्चालन गरेको उदाहरण ?

प्रसङ्ग पुनः राजदूत नियुक्ति सन्दर्भको । आशा लामा राजदूतको मापदण्डका लागि अनुपयुक्त हुन् भने राजदूतबाट नाम फिर्ता गरिएको कुरा जायज छ र त्यो हुनु पनि पर्छ । तर, समान पृष्ठभूमिका रमेश कोइराला र शर्मिला ढकाल कुन आधारमा राजदूत हुने मापदण्डका लागि उपयुक्त सावित भए ? सरकारले जनतासमक्ष खुलाउनुपर्छ । नेपालका नेताहरूले समयको परिवर्तनका कुरा गरे, तर समयले कुन प्रकारको परिवर्तन खोजेको छ त्यसको धज्जी उडाउने कार्य उनीहरू गरिरहेका छन् जो राष्ट्रका लागि अनिष्टकारी सङ्केत हो । नेपालमा जाति र अनुहारको आधारमा भेदभावको रूपमा रहेको सामन्ती संस्कारको अन्त हुनु जरुरी छ र यस्ता तुच्छ सोच–व्यवहारलाई निस्तेज तथा अथवा समूल समाप्त गर्न सकिएन भने भविष्यमा नेपाल र नेपालीले नसोचेको दुर्घटना व्यहोर्नुपर्ने हुन्छ, हेक्का रहोस् ।
amardeep-moktan

– अमरदीप मोक्तान