श्रेष्ठ निर्विरोध अध्यक्ष

श्रेष्ठ निर्विरोध अध्यक्ष


sport 2

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको अध्यक्षमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । खेलाडी सङ्घको गत साता भएको चौथो साधारणसभा एवम् निर्वाचनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यसमितिमा महासचिव पदमा कार्यरत रहेका थिए । २० सदस्यीय निर्वाचित कार्यसमितिको पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, कान्छीमाया कोजू र दीपक थापा रहेका छन् । यस्तै, महासचिवमा शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा कमलबहादुर अधिकारी रहेका छन् । कोषाध्यक्षमा आङबाबु लामाले निरन्तरता पाएका छन् । सङ्घका सदस्यहरूमा टीकाराम श्रेष्ठ, रमेशकुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल, निशा रावल, नविता श्रेष्ठ, फुपुल्हामु खत्री, शिरीष गुरुङ र फूलमाया क्याप्छाकी रहेका छन् । अध्यक्षलगायत सबै निर्विरोध निर्वाचित भएका हुन् ।

यसैबीच नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको अध्यक्षको रूपमा दुई कार्यकाल सफलतापूर्वक सम्हालेका निवर्तमान अध्यक्ष दीपक विष्टलाई उनको कार्यकालमा गरिएको कामको उच्च मूल्याङ्कन गर्दै सङ्घको मानार्थ अध्यक्षमा चयन गरिएको छ । २७ सदस्यीय कार्यसमितिमा अब दुई उपाध्यक्ष र पाँच सदस्य नयाँ कार्यसमितिको बैठकले मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए । निर्वाचनपश्चात् अध्यक्ष श्रेष्ठले खेलाडी सङ्घ सदा खेलाडीको हकहितका लागि डटेर लागिपरेको भन्दै आगामी दिनमा खेलाडीका लागि अझ सशक्त रूपमा आवाज उठाउने बताए । यसअघि साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।