हाजिरबिना तलब खाने थपलिया कारबाहीमा

हाजिरबिना तलब खाने थपलिया कारबाहीमा


sport 3

अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्को कानुनी सल्लाहकारमा नियुक्ति भएका ओम थपलियाले विगत दुई वर्षदेखि हाजिर नगरी तलब खाँदै गरेको खुलासा भएको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थपलियाविरुद्ध उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयको टोलीले छानबिन गर्दा थपलियाको रहस्यको पर्दाफास भएको हो । मन्त्रालयका उपसचिव महेश्वर शर्माको छानबिन टोलीले यो विषयमा छानबिन गरेको थियो ।

गत साता उपसचिव शर्माको टोलीले थपलियाको बारेमा राखेपमा गएर छानबिन गरेको थियो । छानबिनका क्रममा दैनिक हाजिरकपी पल्टाउँदा थपलियाले हाजिर नगरेको भेटिएको थियो । त्यसपछि उक्त टोलीले थपलियाको हाजिरकपीमा गयल लेख्दै क्रस गरेको परिषद् स्रोतले बतायो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र सचिवालयका अधिकृत बाबुकाजी श्रेष्ठले थपलियालाई बारम्बार हाजिर गर्न भने पनि उनले अटेर गरेका थिए । थपलियाले किन राखेपमा हाजिर गरेनन् त्यसको रहस्य खुल्न बाँकी छ, तर अवैधानिक ओलम्पिक कमिटीको पनि कानुनी सल्लाहकार भएको हुँदा उनले राखेपमा हाजिरी नगरेको स्रोतको बुझाइ छ ।

यसरी वादी–प्रतिवादीको भूमिका निभाएर चर्चामा आएका ओम थपलिया अहिले बिनाहाजिर गरेर चर्चामा आएका छन् । राखेपमा बिनाहाजिर विशिष्ट श्रेणीको तलब खाइरहेका थपलियाले तलब, तेलखर्च र भ्रमण भत्ताबाट मासिक ५० हजार बुझ्दै आएका छन् । अब प्रश्न उठ्छ– थपलियाले बिनाहाजिरी कसरी तलब खाए त ? यसबारे पनि छानबिन हुन जरुरी छ । विगत दुई वर्षदेखि थपलियाले बिनाहाजिर तलब खाइरहेको छानबिन टोलीले उनको हाजिरकपी पल्टाउँदा प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा बिनाहाजिरी परिषद्का कर्मचारीले थपलियालाई कसरी तलब खुवाए त्यो अहम् विषय बनेको छ । तसर्थ यसरी नियमविपरीत, कानुनविपरीत थपलियालाई तलब खुवाउने सम्बन्धित कर्मचारीउपर पनि छानबिन हुनुपर्ने जरुरी भएको छ ।

कानुनका रक्षक नै कानुनको भक्षकको रूपमा थपलिया देखिएपछि अहिले राखेपका सदस्यसचिव विष्टमाथि ठूलो सङ्कट पाइपरेको छ । मन्त्रालयले थपलियालाई कारबाही गर्नुपर्ने र बिनाहाजिरी खाएको तलब–भत्ता फिर्ता गर्नुपर्ने कुरा उठाउँदा अर्को समस्या थपिएको छ । यसपछि विष्टले उहाँ थपलियाजीलाई पटक–पटक हाजिर गर्नहोस् भन्दा पनि हाजिर गर्न मान्नुभएन । अब म के गर्न सक्छु ? उहाँ कानुन जानेको मान्छे, अब यसको समाधान पनि उहाँले नै गर्नुपर्छ । यसमा मेरो भन्नु केही छैन । कानुनले जे भन्छ त्यही गर्नुपर्छ भनेर मन्त्रालयलाई जवाफ दिएको थाहा भएको छ ।

मन्त्रालयको छानबिनमा बिनाहाजिरी तलब खाएको देखिएपछि अहिले ओम थपलिया भिजेको मुसाजस्तै बनेका छन । अब समस्याको समाधानका लागि पावर पनि कसरी लगाउने अन्योलमा परेका छन् । मन्त्रालयको छानबिनसँगै रातो मुख पार्दै राखेप पुगेका थपलिया यतिबेला नुन खाएको कुखुराजस्तै बनेका छन् । आफ्नै गल्तीले गर्दा यो आपत् लागेपछि उनी अहिले अख्तियारमा उजुरी हाल्ने परिषद्का कर्मचारीलाई धारेहात लगाउँदै मन शान्ति गर्दै आएको परिषद् स्रोतले बताएको छ । अब बिनाहाजिर गरेर खाएको तलब र भत्ता थपलियाले पचाउँछन् कि ओकल्छन् ? त्यसको प्रतीक्षा गर्नु नै वेश होला ।