रवीन्द्र मिश्र र समृद्ध नेपाल

रवीन्द्र मिश्र र समृद्ध नेपाल


Suman-Baral

– सुमन बराल

पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नभएसम्म नेपालको रूपान्तरण सम्भव छैन भन्ने तर्क गर्दै आएका रवीद्र मिश्र बीबीसी नेपाली सेवाको प्रमुख पदको आकर्षक जागिरबाट राजीनामा दिएर साभmा पार्टी नामको नयाँ दलको सङ्गठन विस्तारमा होमिएका छन् । स्रोतसाधन सम्पन्न भएर पनि राजनीतिक दलहरूको अक्षमताले अविकसित रहिरहेको देशलाई समृद्ध बनाएरै छाड्ने अठोट गरेका मिश्रलगायतको टिम सफल हुने वा नहुने भन्ने कुरा भविष्यमा उनीहरूले चयन गर्ने बाटोले निर्धारण गर्नेछ । नेपालमा ठेकापट्टा र कमिसनको अंश पाउने अनि आफ्ना नेताको मलमूत्रलाई पनि प्रसाद ठान्ने विवेकहीन स्थायी कार्यकर्ता र मतदाता नभएका होइनन्, तर गैरजिम्मेवार र भ्रष्ट नेता, कर्मचारी अनि माफियाहरूले मिलेर देश बर्बाद पारिरहेको कुरा बुझ्ने लाखौँ सचेत नागरिक पनि छन् र उनीहरूको मत नै निर्णायक हुनेछ । ‘परोपकारी समाज, परोपकारी राज्य, परिवर्तन हाम्रै जीवनकालमा’लगायतका नारा अनि लोककल्याणकारी राज्य प्रणालीलाई भाषण र दस्तावेजमा मात्र सीमित नबनाउने हो भने नेपाली जनताको मन र मत दुवै जित्न सकिन्छ ।

नेपालमा २००७ सालपछि अनेकन वादमा आस्था राख्ने दलहरूको धेरै सरकार बने अनि भिन्नभिन्न शासकीय स्वरूपको पनि प्रयोग भयो, तर परिवर्तन सीमित नेता र कार्यकर्ताको घरआँगनमा मात्र आयो, जनताको चुलोसम्म पुग्न सकेन । राजनीति सफा नभएसम्म केहीले गरेको परोपकारी कामले मात्र देश समृद्ध बन्नै सक्दैन । अर्थात् केही स्कुल, पुस्तकालय वा अस्पताल बनाउँदैमा दलहरूको संरक्षणमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भएको व्यापारीकरण र माफियाकरण रोक्न सकिँदैन । तसर्थ अब देशविदेशका नेपालीले सचेत भएर मताधिकारको प्रयोग गर्नुपर्छ । हाम्रा नभई राम्रालाई जिताउनुपर्छ । इमानदार मानिस सबै नेता बन्न सक्छन् वा बन्नैपर्छ भन्ने होइन, तर कुनै वादको पट्टी खोलेर सही र गलत छुट्याउनु भने सबैको कर्तव्य हो । तसर्थ इमानदार र निष्पक्ष भएर समाजलाई सचेत बनाउन कलम चलाउनेहरूले कुनै दलविशेषको दास बनेका कथित बुद्धिजीवीलाई नङ्ग्याएर राम्रो काम गर्ने दललाई सहयोग र निरीक्षण अनि नराम्रो गर्नेलाई निरन्तर खबरदारी गरिराख्नुपर्छ ।

नयाँ दलको नभई इमानदार नेतृत्वको खाँचो भएकाले कुनै पुरानो दलमा आबद्ध भएर छिटो परिणाम ल्याउन कतिपयले मिश्रलाई सुझाव दिएका छन्, जुन स्वाभाविक पनि हो । यद्यपि प्रत्येक दलमा केही इमानदार नेताहरू भए पनि उनीहरू वा नयाँ कोही गएर नेतृत्व तहमा पुग्न लगभग असम्भव हुने गरी असक्षम शीर्ष नेताहरूले संरचना बनाएका छन् । केही आशालाग्दा नेताहरू विविध कारणले भ्रष्टाचार, लुट, बेथिति सहेर बसेका छन् । केही शीर्ष नेताहरूको फेर समाएर नै राजनीतिक भविष्य सुरक्षित हुने ठान्न बाध्य छन् । आफ्नो दलसमेत पारदर्शी ढङ्गले चलाउन नसक्ने, आर्थिक लेनदेनका आधारमा राजदूत, सांसद र संवैधानिक पद बेच्ने, भ्रष्ट, तस्कर, माफिया र गुण्डाहरूको संरक्षण गर्ने, जनताप्रति नभई शक्तिकेन्द्रहरूप्रति बफादार हुने अनि भ्रष्ट र अपराधीहरूलाई फूलमालासहित सहर परिक्रमा गराउने गैरजिम्मेवार दलहरूले देश बनाउलान् भनेर विश्वास गर्नु भनेको कागतीको बोटमा कुनै न कुनै दिन सुन्तला फल्छ भनेर आस गर्नुजस्तै हो । साझा पार्टी वा अहिले स्थापित दलमार्फत इमानदार व्यक्तिलाई सत्तामा पु¥याउन सकियो भने केही वर्षमा आभास हुने गरी परिवर्तन सम्भव छ । तसर्थ इमानदार नेतृत्वलाई सत्तामा पु¥याउन विभिन्न दलभित्र र बाहिरका इमानदार नेता, कार्यकर्ता र मतदाता दलगत र व्यक्तिगत स्वार्थ त्यागी देशको निम्ति एक ठाउँमा उभिनुपर्छ ।

देश र जनताको हितमा इमानदार कर्म गर्नेलाई अधिकांश जनताले नायक मान्छन् भन्ने प्रमाण डा. गोविन्द केसी, कुलमान घिसिङ, रमेश खरेल, लीलामणि पौड्याललगायतका व्यक्तिको पक्षमा उर्लेको समर्थनले पनि देखाउँछ । राम्रा मानिस धेरै छन्, अब एकजुट हुन आवश्यक छ किनकि हामी धेरै पछि परिसकेकाले अब ढिला गर्ने छुट छैन । व्यक्तिगत वा संस्थागत रूपमा योगदान गर्दै आएका मह जोडी, राजेश हमाल, धुर्मुस–सुन्तली, महावीर पुन, रमेश खरेल, लीलामणि पौड्याल अनि कलम र नैतिकता नबेचेका बौद्धिक व्यक्तिहरू पनि अब चुप लागेर बस्नुको अर्थ छैन ।

Rabindra Mishra

वैचारिक आधार कस्तो हुने, कस्तो आर्थिक प्रणाली अवलम्बन गर्ने भन्ने विषय गौण हो किनकि विश्वमा धेरै खालका सफल मोडल छन् । नेपालमा प्रयोग भइसकेका विभिन्न प्रणाली अक्षम शासकहरूले गर्दा असफल भएको हो किनकि देश र जनताप्रति इमानदार र नैतिक बल भएको नेतृत्वले कुनै पनि मोडल सफल बनाउन सक्छन्, बनाएका छन् । अमेरिका, चीन, भारत, जापान, जर्मनी, स्वीडेन, सिङ्गापुर, अरब राष्ट्रहरूलगायतका देशहरू कुन प्रणाली अपनाएर समृद्ध भए भन्ने कुरा कसैबाट लुकेको विषय होइन । साथै उनीहरूकै मोडल हुबहु लागू गर्दा रातारात देश सम्पन्न हुने भए सबैले सिको गर्ने थिए । देश विकास कुनै तन्त्र, वाद, संरचना, स्वरूप अथवा वैचारिक आधारले निर्धारण गर्ने नभई सक्षम र इमानदार नेतृत्वले गर्ने हो । तसर्थ नेपालमा राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आधारभूत आवश्यकताको ग्यारेन्टी गर्ने गरी आफ्नै मौलिक परोपकारी राज्य प्रणाली बनाउनुपर्छ । समाजवाद, साम्यवाद, पुँजीवाद, माओवाद, लेलिनवाद, माक्र्सवाद नभई सबै मोडलका राम्रा पक्ष समेटेर ‘नेपालवाद’ बनाउनुपर्छ ।

इमानदार र सक्षम नेतृत्व भए विकास र स्थिरताका लागि सयौँ वर्षको सङ्घर्ष आवश्यक छैन भन्ने कुरा सिङ्गापुर, मलेसिया, कोरियालगायतका देशको केही दशककै ठूलो फड्कोले देखाइसकेको छ । तसर्थ सर्वप्रथम पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको जग डगमगाउन दिनुहँुदैन । दल चलाउन चन्दा वा कमिसन नभई आफ्नै आम्दानीको स्रोत खोज्नुपर्छ । दोस्रो, मतदाता जस्तो पनि हुन सक्छन्, तर नेता भने इमानदार हुनैपर्छ । अर्थात् चर्चित अनुहार भित्र्याउने नाममा भ्रष्ट, अक्षम र दलालको गरी खाने पेसा बन्न दिनुहुँदैन । साथै मतदाता वा शुभेच्छुक जुनसुकै पेसा–व्यवसाय गर्ने मानिस पनि हुन सक्छन्, तर काङ्ग्रेस, एमाले, एमाओवादीलगायतका ठूला दलहरूले जस्तो निजामती कर्मचारी, विद्यार्थीलगायतका हरेक क्षेत्रमा राजनीति घुसाउनुहँुदैन । मातृ दलका लागि नभई श्रमिक र विद्यार्थीको हकहितमा काम गर्ने गैरराजनीतिक युनियन बनाउन पहल गर्नुपर्छ । कतिपयले हेल्प नेपाल नेटवर्कभित्रै भ्रष्टाचार भएकोलगायतका विभिन्न आरोप लगाइरहेका बेला मिश्रले शङ्का नगरिदिन आग्रह गरेका छन् । उनका गतिविधिलाई कसैले प्रश्न वा शङ्का गर्नै नहुने भए अन्य दलभन्दा कसरी भिन्न हुन सक्छन् ? तसर्थ आमाको खुन पिएबराबर पाप लागोस् भन्नुको सट्टा उनले राम्रो कर्मबाट र प्रमाणसहित लागेका आरोपहरूको खण्डन गर्न सक्नुपर्छ ।

तेस्रो, गरिब नेपालीलाई ठग्ने खराब म्यानपावरहरू, दसौँ वर्ष अन्धकारमा राख्ने प्राधिकरणका कर्मचारी र तिनलाई संरक्षण गर्ने नेतालाई दण्डित गर्न सक्ने नैतिक बल नभएका दलको विकल्पमा ४०औँ लाख बिदेसिएका नेपालीलाई फर्काउन सक्ने गरी कृषि, पर्यटनलगायतका उद्योगमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । विदेश र नेपालमा बस्ने विविध विषयका विज्ञ र वैज्ञानिकहरूलाई सक्दो योगदान गरेर मातृभूमिको सेवा गर्न आह्वान गर्नुपर्छ । नेपालमा कृषिजन्य वस्तु आयात गर्नुपर्ने लाजमर्दो अवस्थालाई तोडेर अग्र्यानिक कृषिजन्य वस्तु उत्पादन गरेर संसारभर बेच्नुपर्छ । चौथो, कुनै पनि देशको चाकडी गर्नुहुँदैन, तर सबैसँग असल छिमेकी राष्ट्रको सम्बन्ध भने बनाइराख्नुपर्छ । विशेष छिमेकी राष्ट्र चीन र भारतलाई विपन्न नेपाल उनीहरूको सुरक्षाका लागि समेत खतरा रहेको स्पष्ट कुरा बुझाएर आवश्यक सहयोग आदनप्रदान गर्नुपर्छ । सीमा अतिक्रमण अनि आन्तरिक मामलामा हुने चरम हस्तक्षेपविरुद्ध पनि स्वतन्त्र मुलुकको हैसियतमा स्पष्ट कुरा राख्नुपर्छ ।

पाचौँ, नेपाली जनता असाध्यै निराश भएका छन् । राजनीति नभई नेपालमा राजनीतिज्ञ फोहोर भएको कुरा बुझाउनुपर्छ किनकि नेपालका सबै समस्या समाधान इमानदार राजनीतिले मात्र गर्न सक्छ । प्रविधिको सहयोग लिएर भ्रष्टाचार र कर छली नियन्त्रण गर्नुपर्छ । अन्य नेता र दलहरू कति भ्रष्ट भए भन्नेमा नभई आफू कसरी बढी सक्षम, इमानदार र पारदर्शी बन्ने भन्ने कुरामा समय र बल खर्च गर्नुपर्छ । छैटौँ, सत्तामा पुगेको पाँच वर्षभित्र आवश्यक परे कल्याणकारी राज्य व्यवस्था भएका नोर्डिक देशहरूमा जस्तै ५० प्रतिशतसम्म कर लिएर भए पनि सबै नागरिकको आधारभूत आवश्यकताको ग्यारेन्टी राज्यले गर्ने प्रतिबद्धता जनाउनुपर्छ । जस्तै– प्रत्येक वृद्ध नागरिकले जीवनयापन हुने गरी पेन्सन पाउने अनि शिक्षा, स्वास्थ्य निःशुल्क वा किफायती बनाउनेलगायतका राज्यका सबै कर्तव्य पूरा गर्नुपर्छ ।

दलगत र व्यक्तिगत स्वार्थ त्यागेर नेतृत्व क्षमता भएका इमानदार र सक्षम व्यक्तिहरूले जात, धर्म र क्षेत्रमा विभाजित हुँदै गरेका नेपालीलाई निकास र विकास दिन एक ठाउँमा आउने हो भने हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउन सकिन्छ । जनता विभिन्न दलका फोस्रा भाषण सुनेर निराश भएका छन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायतका जनजीविकाका मुद्दा समातेर अघि बढ्दा जनताले साथ दिनेछन् । भ्रष्टहरूबाट शासित भइराख्ने वा इमानदारहरूलाई अवसर दिने भन्ने निर्णय सचेत नेपाली जनताले लिनेछन् । आगामी केन्द्रीय निर्वाचनमा कम्तीमा सामान्य बहुमत ल्याउने कोसिस गर्नुपर्छ, तर जनताको मन जित्ने गरी काम गर्न थप केही समय लाग्न सक्ने भएकाले धैर्य गरेर जनताको हकअधिकारका लागि निरन्तर काम गर्नुपर्छ । हरेस खाने, तर्सिने वा अत्तालिने छुट मिश्र वा सम्पन्न देश चाहने कसैलाई पनि छैन । थोपाथोपा मिलेर समुद्र बनेजस्तै सबै नेपाली मिलेर इमानदार शासकलाई सत्तामा पु¥याए १० वर्षमा महसुस हुनेगरी परिवर्तन गर्न सम्भव छ । मिश्र, नेतृत्वक्षमता भएका अन्य कोही इमानदार नेता वा लोकतन्त्रलाई लुटतन्त्र बनाएका स्थापित दलहरूलाई सुध्रिएर अघि बढ्न हृदयदेखि शुभकामना ।