चिनियाँ सुझावको अन्तर्य

चिनियाँ सुझावको अन्तर्य


Ghatana Ra Bichar logo 2

मधेसी मोर्चासँगको कचमच, आसन्न निर्वाचनमाथि उठे–उठाइएका आशङ्का, आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको फैसलालगायत मामलाले मुलुक तरङ्गित बनिरेहकै अवस्थामा ‘बिनाएजेण्डा’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र चीनको यात्रामा निस्केको सन्दर्भ खास चासो र चर्चामा रह्यो । चासो यस मानेमा कि प्रचण्डलाई स्वागत गर्न चीन त्यति उत्साहित नरहेको विश्लेषण भइरहँदा बोआओ सम्मेलनमा सहभागी हुने बहानामा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भेटघाटको तीव्र लालसा दर्शाएकाले यसबारे चिनियाँ प्रतिक्रिया कस्तो रहला भन्ने जिज्ञासा सचेत तप्कामा पैदा भएको थियो । यस्तै, ‘सद्भाव भ्रमण’ भनिएको चीनयात्राको चर्चा यसकारण चुलिएको थियो कि परराष्ट्र मन्त्रालयका तर्फबाट चीनसँग सल्लाह, सहमति वा सम्झौताका निम्ति यसपटक कुनै एजेण्डा तय नगरिएको प्रस्टोक्ति सार्वजनिक गरिए पनि प्रधानमन्त्री स्वयम् भने चीन यात्रा एजेण्डाविहीन नरहेको, भ्रमण फलदायी हुनेजस्ता अभिव्यक्ति दिइरहेका थिए । परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीका अभिव्यक्ति आफैँमा विरोधाभासपूर्ण रहेकाले पनि यस भ्रमणले फरक कोणबाट चर्चा बटुल्यो ।

लगभग सातदिवसीय चीन यात्रा पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज बुधबार स्वदेश फर्किंदै छन् । जाने बेला चिनियाँ राष्ट्रपतिसँगको भेटघाटप्रति नै संशय र चिन्तित मानसिकतामा देखिएका प्रधानमन्त्री प्रचण्ड फर्कने बेलामा अत्यन्त उत्साहित बन्न पुगेका समाचार प्राप्त भयो । जम्मा पन्ध्र मिनेटको समय निर्धारण भएकोमा भेटघाटमा चिनियाँ राष्ट्रपतिले झन्डै दोब्बर समय दिएकै कारण मात्र प्रधानमन्त्री प्रचण्डमा खुसी र उत्साहको लहर पैदा भएको पक्कै नहोला । आसन्न निर्वाचनका निम्ति खर्चको रूपमा तेह्र–चौध करोड सहयोग प्रदान गरिनेबाहेक नेपालका निम्ति चीन सरकारका तर्फबाट यसपटक औपचारिक तवरमा खास कुनै सहयोग तय भएको छैन र यस भ्रमणको उद्देश्य पनि त्यस्तो थिएन भने देशका प्रधानमन्त्री अत्यन्त खुसी, असाध्यै उत्साहित हुनुपर्ने अवस्था केले पैदा ग¥यो त ? सचेत नागरिक तप्कामा जिज्ञासा पैदा हुनु स्वाभाविक छ ।

धेरैले बुझेकै कुरा हो कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ अत्यन्त ढुलमुले तथा टालटुले स्वभावका व्यक्ति हुन् । उनी स्थान, समय र पात्रविशेषका आधारमा अभिव्यक्ति दिन्छन्, कसैलाई खुसी तुल्याउनुपरे जस्तोसुकै आश्वासन दिन पछि पर्दैनन् र अप्ठ्यारो परेपछि बोलेको कुरा पनि नबोलेको भनी ढिपी कस्न हिच्किचाउँदैनन् । कसैलाई पगाल्नुपर्दा उनी धुरुधुरु रोइदिन पनि सक्छन् र मन परेका व्यक्तिको खुसीमा रमझम गर्दै रमाउन पनि पछि पर्दैनन् । फरक विचारका व्यक्तिलाई वशमा राख्ने या विरोधीलाई तह लगाउने उनसँग आफ्नै खुवी छ । मानिस जुधाउने र जुटाउने विशेष कलाकै कारण नेपाली राजनीतिको केन्द्रमा आफूलाई टिकाउने सफलता प्रचण्डलाई हासिल भइरहेको छ । व्यक्तिका हकमा मात्र नभई छिमेकी मुलुकसँगको सम्बन्धका सवालमा पनि प्रचण्ड आफ्नो यही विशेष कौशल प्रयोग गर्छन् । ढुलमुले वा अस्थिर हुन् भन्ने ज्ञान होला–नहोला, तथापि छिमेकी देशका नेताहरू प्रचण्डलाई एक हदसम्म पत्याउँछन्, मित्रवत् ‘प्रयोग’ गर्न रुचाउँछन् ।

यसैको उपज हुनुपर्छ, चीनका राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डलाई यसपटक पनि निकै सम्मान दिएर स्वागत गरे । शान्त कूटनीतिका लागि कहलिएको चीन अतिथि सत्कारमा यसै पनि उदार मुलुकको रूपमा चिनिएकै हो । त्यसमाथि सामरिक महत्व बोकेको पुरानो छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको आतिथ्यतामा कन्जुस्याइँ गर्ने सवालै रहँदैन । प्रचण्डमाथि अविश्वास र आशङ्का छ नै भने पनि चीन सोझै प्रकट हुन चाहँदैन भन्ने जगजाहेर नै छ । प्रचण्डको अप्ठ्यारो बुझेर नै होला सी जिनपिङले सुझाव दिएछन्, ‘भारतसँग पनि राम्रो सम्बन्ध बनाउनुहोस् ।’ वास्तवमा खुला सीमायुक्त एवम् समाज, संस्कार–संस्कृतिलगायतमा समेत व्यापक समानता रहेको दक्षिण छिमेकी भारत र नेपालबीच मित्रताको अपरिहार्यता उत्तर छिमेकी चीनले राम्रैसँग बुझेको छ । अहिले मात्र होइन, बीपीलाई समेत माओले यस्तै सुझाव दिएको तथ्य सन्दर्भवश चर्चामा रहँदै आएको छ ।

नेपालको राजनीतिक अवस्था अझै पनि सङ्क्रमणकालीन धङधङीबाट मुक्त हुन सकेको छैन । उल्टै फरक प्रवृत्तिका जटिलता उत्पन्न भएबाट राजनीतिक अन्योल कायमै रहेको महसुस गरिन्छ । यस्तो बेला विशेष जिम्मेवारी लिएर प्रधानमन्त्रीको आसन सम्हालेका पुष्पकमल दाहालमाथि वाञ्छित–अवाञ्छित अनेकौँ दबाब रहनु आश्चर्यको विषय हुँदैन । एउटा छिमेकीलाई घुक्र्याउनुपरे अर्कोसँग बढ्ता टाँसिएजस्तो व्यवहार तुलनात्मक रूपमा बढ्तै खुलेर प्रदर्शन गर्ने पात्रका रूपमा चिनिएका ‘नेता’ हुनुको नाताले पनि चिनियाँ राष्ट्रपतिको सुझाव प्रचण्डका लागि वरदानसरह हुन सक्छ । चीन यात्राबाट हौसिएका प्रधानमन्त्रीले मधेसी मोर्चालाई मनाएर स्थानीय निर्वाचन सम्पन्न गराउन अब कस्तो कदम चाल्ने हुन्, तीव्र प्रतीक्षाको विषय बनेको छ ।