तेत्तीस अर्ब छुट दिने फाइल रोकिएपछि मुख्यसचिवको पत्र पनि रोकियो

तेत्तीस अर्ब छुट दिने फाइल रोकिएपछि मुख्यसचिवको पत्र पनि रोकियो


सोमलाल सुवेदी

एनसेललाई तेत्तीस अर्ब रुपैयाँबराबरको कर छुट दिन उच्च सरकारी तहबाट भएको प्रयासमा अड्चन पैदा गरेपछि मुख्यसचिव सोमलाल सुवेदीलाई एडीबीको आकर्षक सुविधासहितको सेवामा जान पनि अवरोध पैदा गरिएको छ । प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको विशेष अग्रसरतामा एनसेललाई तेत्तीस अर्ब कर छुट दिने प्रक्रिया अघि बढाइएको थियो । टेलिया सोनेराले आफ्नो सेयर बिक्री गरेपछि सरकारलाई बुझाउनुपर्ने लाभकर नबुझाईकन उक्त कम्पनी बाहिरिएको अवस्थामा लाभकर तिर्न एनसेलमाथि दबाब पैदा भएको थियो । एनसेलले उक्त कर आफूले बुझाउनु नपर्ने अडान लिएपछि प्रधानमन्त्री र अर्थमन्त्रीले कर छुट दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

मन्त्रिमण्डलको बैठकबाट कर छुट दिने प्रक्रिया सुरु गर्न राजस्वसचिव राजन खनाल, अर्थसचिव शान्तराज सुवेदी र मुख्यसचिव सोमलाल सुवेदीको मुख्य भूमिका हुने भएकोले उल्लिखित तीनैजनालाई यस कार्यमा सहयोग पु¥याएबापत ‘पुरस्कार’ दिने आश्वासन पनि प्रधानमन्त्री र अर्थमन्त्रीले दिएका थिए । राजन खनाललाई अर्थसचिव र शान्तराज सुवेदीलाई मुख्यसचिव बनाइने प्रलोभन दिएपछि उनीहरूले दस्तखत गरी फाइल अघि बढाए र क्याबिनेटमा प्रस्तुत गर्न मुख्यसचिवकोमा उक्त फाइल पु¥याए । मुख्यसचिव सोमलाल सुवेदीलाई प्रतिमहिना अठार हजार अमेरिकी डलर पारिश्रमिक मिल्ने एडीबीको सेवामा जान अनुमति दिने आश्वासन प्रधानमन्त्री र अर्थमन्त्रीले दिएका थिए । र, यसैबीच सोमलाल सुवेदी मुख्यसचिवको जागिर छोडेर एडीबीको सेवामा जाने भन्ने समाचार पनि सार्वजनिक भएको थियो ।

तर, अर्थ मन्त्रालयबाट आफ्नो टेबुलमा कर छुटसम्बन्धी फाइल आइपुगेपछि त्यसलाई अघि बढाउनुको सट्टा सोमलालले अर्थसचिव शान्तराजलाई ‘किन यस्तो प्रक्रिया अघि बढाएको’ भन्दै झपारेको बुझिएको छ । अहिले कर छुटसम्बन्धी फाइल मुख्यसचिवको टेबुलमा पुगेर रोकिएको छ, उनले त्यसमा सही गर्न अस्वीकार गरेका छन् । त्यसरी सोमलालले कर छुटसम्बन्धी फाइल अड्काइदिएपछि उनलाई एडीबीको सेवामा जान अर्थ मन्त्रालयले दिनुपर्ने अनुमतिपत्र पनि रोकिएको छ । कर छुटको फाइल अघि नबढाएसम्म सोमलाल सुवेदीलाई दिनुपर्ने पत्र रोकिराख्न उच्च तहबाट निर्देशन दिइएको भए पनि कहिलेसम्म सो अनुमतिपत्र रोकिराख्ने भन्ने विषयलाई लिएर अर्थ मन्त्रालयका उच्चपदस्थ कर्मचारीमा अन्योल उत्पन्न भएको छ । प्राप्त जानकारीअनुसार मुख्यसचिव सोमलाल सुवेदी कर छुटको फाइल अघि नबढाउन कटिबद्ध छन् । यस्तो अवस्थामा सोमलाललाई दिनुपर्ने पत्रचाहिँ अर्थ मन्त्रालयले कहिलेसम्म रोकिराख्न सक्ला, प्रतीक्षाको विषय बनेको छ ।