
नेपालीमा एउटा चर्चित उखान छ– बाँदरको पुच्छर लौरो न हतियार । अहिले यो उक्ति युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीमा हुबहु लागू भएको छ । आफ्नो जिम्मेवारी निभाउन नसक्ने, आफूले पाएको हकअधिकार प्रयोग गर्न नसक्ने र पाएको जिम्मेवारी पनि अरूलाई सुम्पने कार्यले गर्दा श्रीपाली यो उक्तिका हकदार बनेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि गृह मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिए पनि पछिल्लो समय श्रीपाली आफूले पाएको जिम्मेवारीबाट पछि हटेका थिए । त्यसपछि उनले नेपाल ओलम्पिक कमिटीको विवाद सुल्झाउने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको काँधमा थुपारी आफू पन्छिएका थिए । राखेपको अध्यक्षजस्तो व्यक्तिले सर्वोच्चको आदेश कार्यान्वयनका लागि किन खुट्टा कमाए त्यसको पर्दाफास हुन बाँकी छ ।
तर, आफैँ प्रेस विज्ञप्ति निकालेर विष्टलाई जिम्मेवारी दिने मन्त्री श्रीपाली बुधबार घटना र विचारमा समाचार प्रकाशित भएपछि निकै क्रूद्ध बनेका थिए । अहिलेसम्म खेलकुदको विकासमा सिन्कोसमेत भाँच्न नसकेका श्रीपालीले ‘पत्रकार श्रीविक्रम भण्डारीको गाला चड्काउनुपर्ने’ भन्दै आक्रोश पोख्न भने भ्याएका थिए । उनले यो मान्छेले मलाई धेरै लखेट्यो, अब यसको गाला चड्काउनुपर्छ भन्दै पत्रिकालाई टेबलमा पछारेको राखेपका एक कर्मचारीले खेलकुदमा बताउँदै हिँडेका छन् । यो घटनाको प्रत्यक्षदर्शी रहेका ती कर्मचारीले मन्त्रीको सामुन्ने केही नबोले पनि मन्त्रालयबाट बाहिर निस्किएपछि मन्त्री श्रीपालीको रौद्ररूपको वर्णन गर्दै हिँडेका स्रोतले दाबी गरेको छ । ती कर्मचारीले सुदूरपश्चिमेलीले कसैलाई नछोड्ने भए, खेलकुद पनि खाए भनेर भन्दै हिँडेको पनि सुनिनमा आएको छ । पत्रकार तर्साउन गाला चड्काउने कुरा गरेर केटाकेटीपन देखाएका मन्त्रीको चाकडी गर्ने ती कर्मचारी शक्तिको पुजारीको रूपमा खेलकुदमा चिनिन्छन् । दरबारदेखि काङ्ग्रेस, एमाले, माओवादी सबैको नाडी छामेर झारफुक गरिसकेका उनी अहिले एमालेको हनुमानको रूपमा चिनिन्छन् । तर, विडम्बना, आस्थाका हिसाबले भने उनी काङ्गे्रससमर्थक मानिन्छन् ।
किन रिसाए त खेलकुदमन्त्री श्रीपाली ? अहिले यो प्रश्न चासोको विषय बनेको छ । गत साता घटना र विचारले श्रीपालीले सर्वोच्चको आदेश कार्यान्वयन गर्नु र गराउनुभन्दा उक्त जिम्मेवारीबाट पन्छिएर हास्यास्पद निर्णय गरेका छन् । राखेपको अध्यक्षको नाताले पनि श्रीपालीले नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्नुपथ्र्यो । तर, उनले त्यसो गरेनन्, आफूले पाएको जिम्मेवारी राखेपका सदस्यसचिव विष्टमाथि थोपारेर आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरेका छन् । मन्त्रीको यो कार्यले उनी निकम्मा र छेरुवा मन्त्री भएको प्रमाणित हुन्छ भनेर लेखेको थियो । यति कुराबाट रिसाउनुपर्ने त कुनै कारण थिएन, किनकि सो कार्य श्रीपालीले गरेकै हुन् । उनले जारी गरेको प्रेस विज्ञप्तिले पनि यही कुरो बताउँछ । तर, तिललाई पहाड बनाएर श्रीपाली किन पत्रकारको गाला चड्काउनेतर्फ अग्रसर भए त्यो कुरा बुझ्न सकिएको छैन । अब भण्डारीले कहिले गाला थाप्छन् र मन्त्रीले चड्काउँछन् त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया