लमजुङमा बढ्यो स्थानीय तह निर्वाचनको सरगर्मी

लमजुङमा बढ्यो स्थानीय तह निर्वाचनको सरगर्मी


यस्ता छन् नगरपालिका र गाउँपालिकाका सम्भावित मेयरका उम्मेदवार

स्थानीय तहको निर्वाचन

सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेलगत्तै देशभरि चुनावी माहोल एकाएक तातेको छ । सहरबजारका होटेल तथा रेस्टुरेन्टदेखि गाउँघरका चियापसल, स्कुल, कलेज, सरकारी तथा गैरसरकारी निकायका कार्यालयमा हुने जमघट, सार्वजनिक स्थानमा यसको व्यापक चर्चा र बहस सुरु भएको छ । सबै राजनीतिक दल र तिनका भ्रातृ एवम् शुभेच्छुक सङ्गठन पूरै मोर्चाबन्दी शैलीमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् ।
यद्यपि, संविधान संशोधनको माग राखी विरोधमा उत्रेको मधेसवादी दल र अन्य असन्तुष्ट पक्षसँगको वार्ता र सहमति नभएसम्म घोषित निर्वाचन वैशाख ३१ मै हुने या नहुनेबारे जनमानसमा अन्योल पनि कायम छ । तर, सबै दलमा टिकट कसले लिने, को अगाडि बढ्ने र कसको जित सुनिश्चित छ भन्ने अड्कलबाजी मात्र चलेको छैन अहिलेदेखि नै बधाई र शुभकामना आदान–प्रदानसमेत चलिरहेको छ । यसले सिङ्गो देश नै स्थानीय तहको निर्वाचनमा उत्साहित तवरले अघि बढेको प्रस्टिन्छ ।

यो उत्साह लमजुङमा पनि उत्तिकै रोचक र गरमागरम छ । मुलुकमा १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले गाउँदेखि केन्द्रसम्म तरङ्गित छ । चुनावी प्रतिस्पर्धामा को उम्मेदवार बन्ने भन्ने रस्साकस्सीले सबै राजनीतिक दल यतिबेला निकै चलायमान छ । लमजुङमा ४ नगरपालिका र ४ गाउँपालिका छन् । नगर र गाउँपालिका गरी ८ स्थानीय तहका लागि प्रमुख र उपप्रमुखको उम्मेदवार बन्ने विषयले सबै तह र सबै दलमा तँछाडमछाड चुलिएको छ ।

लामो समयदेखि राजनीतिक जीवन बिताएका र पार्टीमा योगदान पु¥याएका पुराना राजनीतिकर्मीदेखि जनताको प्रत्यक्ष सेवामा सक्रिय कार्यकर्ता, समाजसेवी, शिक्षासेवी, उद्योगी, व्यापारी, सञ्चारकर्मी, पेसाकर्मी, युवा, विद्यार्थी र नवप्रवेशीहरूसमेतको उम्मेदवारी आकाङ्क्षा बढेपछि राजनीतिक माहोल कसिलो बन्दै गएको छ । यसले उम्मेदवार व्यवस्थापनमा सबै राजनीतिक दलमा नेतृत्वलाई चौतर्फी दबाब र तनाब बढ्दै गएको जिल्लाका नेताहरूले स्वीकार गरेका छन् । पत्रकारितामार्फत जनसमुदायमा भिजेर राजनीतिक सक्रियता बढाएका जिल्लाका सञ्चारकर्मी पनि उम्मेदवारको टिकट दौडमा अग्रपङ्क्तिमा देखिएका छन् ।

११ वडा रहेको बेसीसहर नगरपालिकामा लगभग २३ हजार मतदाता रहेका छन् । पछिल्ला निर्वाचन परिणामलाई हेर्ने हो भने यहाँ काङ्ग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुनेछ भने माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति नेपाल निर्णायक हुन सक्छन् । तर, यी तीन दलमध्ये मुख्य निर्णायक भने माओवादी केन्द्र नै मान्न सकिन्छ ।

बेसीसहर नगरपालिका
गत संविधानसभा निर्वाचनको परिणाम हेर्दा बेसीसहर नगरपालिका भएको क्षेत्रमा नेपाली काङ्ग्रेसले जितेको थियो । बेसीसहरको मेयरमा जनस्तरमा भिजेको र काम गर्न सक्ने ख्यातिप्राप्त नेतालाई उम्मेदवार बनाउनुपर्ने बहस दलहरूभित्र सुरु भएको छ । त्यसैले काङ्ग्रेसबाट श्रीकान्त घिमिरे, हरि बराल, वृषराज गुरुङ, कृष्णबहादुर अधिकारी, जीवनकुमार श्रेष्ठ, इन्दिरा तिवारी, हरिबाबु थापा र पत्रकार मिलन शर्मा दनाईलाई सम्भावित मेयरको उम्मेदवारका रूपमा चर्चामा ल्याइएको छ । उता एमालेबाट गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, सुभाष पौडेल, लक्ष्मी अधिकारी, गोविन्द बस्नेत, भोजबहादुर रिमाल र पत्रकार कृष्ण केसीको नाम चर्चामा छ । यस्तै, माओवादी केन्द्रमा पनि शोभा थापा, भूपाल दनाई, हरिजंग तामाङ, वीरबहादुर बोहरा, देवबहादुर गहतराज, शर्मिला थापा, सरिता विष्ट, दुर्गा बोहरालगायतको नाम चर्चामा छ ।

सुन्दरबजार नगरपालिका
उता जिल्लाभित्र रहेको सुन्दरबजार नगरपालिकामा पनि तीनवटै राजनीतिक दलहरूको रस्साकस्सी चलेको छ । सुन्दरबजार नगरपालिकामा मेयरका लागि नेपाली काङ्ग्रेसबाट द्वारिका मिश्र, ध्रुवबहादुर कुँवर, बद्रीमान श्रेष्ठ, दामोदर अधिकारी, लक्ष्मीकान्त पौडेल, भीमबहादुर दुरा, शुभनाथ मिश्र, गणेश न्यौपाने, उत्तम गुरुङ र पत्रकार परमेश्वर अधिकारीलगायतको नाम चर्चामा रहेको छ । यस्तै, एमालेका तर्फबाट भीम गुरुङ, रामबाबु श्रेष्ठ, जनकराज मिश्र, लीलाधर सापकोटा, लोकराज पाण्डे, प्रेमबहादुर दुरालगायतको नाम चर्चामा छ । यस्तै, माओवादी केन्द्रबाट माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका कृष्ण सुनार, मुरारी भुजेल, शान्ता भुजेल, सुनिल सुनारलगायतको नाम चर्चामा छ ।

मध्यनेपाल नगरपालिका
मध्यनेपाल नगरपालिकामा काङ्ग्रेसका तर्फबाट आनन्द घिमिरे, रमेश पाण्डे, पूर्णचन्द्र पोखरेल, बद्री कोइराला, चन्द्रमणि पौडेल, रामचन्द्र पराजुली, मदन न्यौपाने, नवराज न्यौपाने, विजयराज पौडेल र नवीनचन्द्र घिमिरेलगायतको नाम चर्चामा छ । यस्तै, एमालेबाट राजकुमार श्रेष्ठ, प्रेमलाल श्रेष्ठ, योगेन्द्रनारायण शाह, कृष्णप्रसाद पौडेलको नाम चर्चामा छ । उता माओवादी केन्द्रबाट रामचन्द्र पौडेल, श्रीभद्र रेग्मी, जनार्दन गिरी, बलराम पौडेललगायतको नाम चर्चामा छ ।

राइनस नगरपालिका
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नगरपालिकामा पनि सबैजसो दलहरू आफ्नो पार्टी मेयरका लागि उपयुक्त भएको भन्दै चुनावी अभियानमा होमिएका छन् । यहाँ नेपाली काङ्ग्रेसबाट मेयर पदका लागि डिकेन्द्रराज कँडेल, खड्गबहादुर गुरुङ, गोविन्द धिताल, राजकुमार पाण्डे, रामकृष्ण कँडेल, प्रेमराज चिलुवाल, विष्णुमाया धिताल, स्वतन्त्र हमाल, जनकलाल श्रेष्ठ, कृष्णप्रसाद लामिछानेलगायतको नाम चर्चामा छ । यस्तै, एमालेबाट सिंहबहादुर थापा, मातृका खनाल र रामचन्द्र भट्ट रहेका छन् । उता, माओवादी केन्द्रबाट मेखबहादुर भण्डारी, देउबहादुर पौडेल, इन्दिरा पोखरेल, भोजराज चिलुवाल, माधव पराजुली, कृष्ण पोखरेललगायतको नाम चर्चामा छ ।

दोर्दी गाउँपालिका
पूर्वी क्षेत्रमै पर्ने दोर्दी गाउँपालिकामा पनि मुख्य दलहरू नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रबीच नै टक्कर हुने देखिएको छ । यस केन्द्र मस्र्याङ्दी गाउँपालिकापछिको सम्भावना बोकेको गाउँपालिका हो । त्यसै भएर होला मेयर पदका लागि तीनै दलका नेता तथा कार्यकर्ता चुनावी अभियानमा तल्लीन छन् । यस गाउँपालिकमा प्रमुख पदका लागि नेपाली काङ्ग्रेसका तर्फबाट बिच्छबहादुर घले, शंकरप्रसाद अधिकारी, बुधमान गुरुङ, लालबहादुर गुरुङ, पशुपति अधिकारी र हरिप्रसाद अधिकारी रहेका छन् । यस्तै, एमालेबाट युवराज अधिकारी, लोका अधिकारी र रामशाली घिमिरेलगायतको नाम चर्चामा छ । उता माओवादी केन्द्रबाट चीनबहादुर गुरुङ र लालबहादुर गुरुङ, रवीन्द्र अधिकारी, रामप्रसाद पौडेल, भरत गुरुङ, ओमबहादुर गुरुङलगायतको नाम चर्चामा छ ।

मस्र्याङ्दी गाउँपालिका
लमजुङमा बनाइएका ८ स्थानीय तहमध्ये सबैभन्दा सम्भावना बोकेको गाउँपालिकाको रूपमा स्थापित छ मस्र्याङ्दी गाउँपालिका । यस क्षेत्रको प्रमुख पदका लागि प्रमुख दुई राजनीतिक दलहरूको प्रतिस्पर्धा हुने देखिएको छ । यस गाउँपालिकामा नेपाली काङ्ग्रेसका तर्फबाट नरबहादुर गुरुङ र लोकनाथ घिमिरेको नाम चर्चामा छ । यस्तै एमालेका तर्फबाट प्रेम बस्नेत, जितबहादुर गुरुङ, अर्जुन गुरुङ, बमबहादुर थापा, महेन्द्र थापा, नन्दराम विकलगायतको नाम चर्चामा छ । उता माओवादी केन्द्रमा अजय तामाङ, होमबहादुर विक र कृष्ण विकको नाम चर्चामा छ ।

दूधपोखरी गाउँपालिका
दुर्गम गाविसहरूलाई मात्रै समेटेर बनाइएको क्षेत्र हो दूधपोखरी गाउँपालिका । यो क्षेत्रलाई जडीबुटीको सम्भावनाको रूपमा पनि लिने गरिन्छ । यस गाउँपालिकाको प्रमुख पदका लागि नेपाली काङ्ग्रेसबाट विष्णु धिताल, खुसीमाया गुरुङ, गर्जबहादुर गुरुङ र छुपीमाया गुरुङको नाम चर्चामा छ । यस्तै एमालेका तर्फबाट रामहरि दवाडी, खड्गबहादुर गुरुङ, ओमबहादुर न्यौपाने, तिलकबहादुर गुरुङ, धनबहादुर गुरुङ र डिल्लीराज गुरुङलगायतको नाम चर्चामा छ । उता माओवादी केन्द्रमा सतिमाया तामाङ, खेमबहादुर तामाङ (केबी) गगन गुरुङलगायतको नाम चर्चामा छ ।

कोल्होसोथार गाउँपालिका
प्रायः जिल्लाका पर्यटकीय गाउँलाई समावेश गरी निर्माण गरिएको गाउँपालिका कोल्होसोथार गाउँपालिका हो । यसमा घलेगाउँ, भुजुङ, पसगाउँ, मालिङ, गिलुङ, भोंजेजस्ता पर्यटकीय गाउँ पनि समावेश छन् । आन्तरिक पर्यटनको धरोहर भेट्न सकिने यस गाउँपालिकामा प्रमुख पदका लागि नेताहरू कम्मर कसेर चुनावी अभियानमा लागिपरेका छन् । यस गाउँपालिकामा पनि नेपाली काङ्ग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसका लागि नेपाली काङ्ग्रेसबाट गमप्रसाद गुरुङ, खजेन्द्र गुरुङ, रघुनाथ गुरुङ र मखनबहादुर गुरुङको नाम चर्चामा छ भने एमालेका तर्फबाट प्रेम घले, नारायणबहदुर गुरुङ, मनलाल गुरुङ, सूर्य गुरुङ, जितबहादुर गुरुङ, नन्दजंग गुरुङ, काशीजंग गुरुङको नाम चर्चामा छ । उता माओवादी केन्द्रबाट धर्म गुरुङ र डम्बर गुरुङको नाम चर्चामा छ । लमजुङमा एक लाख १० हजार ८ सय ५६ (अप्रशोधित) मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा महिला ५७ हजार १ सय ९७ र पुरुष मतदाताको सङ्ख्या ५३ हजार ६ सय ५९ छ ।